+

एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले महासचिव राईलाई सोधे स्पष्टीकरण

२०८२ असोज  २९ गते १८:५२ २०८२ असोज २९ गते १८:५२
एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले महासचिव राईलाई सोधे स्पष्टीकरण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्फा वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काले महासचिव किरण राईलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएका छन्।
  • खड्काले महासचिव राईलाई साधारण सभाबाट अनुमोदित कार्यक्रम एकलौटी रूपमा परिमार्जन गरी पत्रकार सम्मेलन गरेको आरोप लगाएका छन्।
  • एन्फाको वार्षिक साधारण सभाले १० करोड ४६ लाख २२ हजार २६५ रुपैयाँ ९८ पैसा बजेट स्वीकृत गरी \'ए\' डिभिजन लिग पौष १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा पछिल्लो समय देखिएको आन्तरिक राजनीतिमा नयाँ ट्विष्ट थपिएको छ ।

एन्फा वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काले महासचिव किरण राईलाई तीन दिनभित्र जवाफ पेश गर्न भन्दै स्पष्टीकरण सोधेका छन् ।

एन्फाको साधारण सभाबाट अनुमोदित भएको कार्यक्रम कार्यसमितिलाई नै जानकारी नगराई एकलौटी रुपमा पत्रकार सम्मेलन गरेर अर्को निर्णय गरेको भन्दै खड्काले महासचिव किरण लाई स्पष्टीकरण सोधेका हुन् ।

एन्फान अध्यक्ष पंकज विक्रम नेम्वाङ स्वदेशमा नभएकोले बेला विधानमा व्यवस्था भएअनुसार कार्यवाहक अध्यक्षको हैसियतमा वरिष्ठ उपाध्यक्ष खड्काले राईलाई स्पष्टीकरण सोधेका हुन् । ‘एन्फाको विधान अनुसार (४२ ख अनुसार) नै मलाई स्वत कार्यवाहक अध्यक्ष हुने उल्लेख छ । त्यही अनुसार स्पष्टिकरण सोधिएको हो ।’ वरिष्ठ उपाध्यक्ष खड्काले अनलाइनखबरसँग भने । उनले इमेल मार्फत स्पष्टीकरण महासचिवलाई पठाएको जानकारी दिए ।

खड्काले दुई दिनअघि पत्रकार सम्मेलनमा अध्यक्ष नेम्वाङले कार्यवाहक नदिई विदेश गएको बताएका थिए । तर अध्यक्षले जानकारी नदिएपनि कार्यवाहक बारे विधानमै व्यवस्था भएको आफूलाई स्पष्ट कार्यवाहक दिएको खड्काले बताए ।

‘मैले एन्फाको कार्यसमिति र साधारण सभालाई बचाको हो । एन्फाले पास गरेको कार्यक्रम बजेटमा महासचिवले आफूखुशी रोक्छ भने साधारण सभाको गरिमा खत्तम भयो । यसबारे अध्यक्षज्युलाई पनि म आएपछि जानकारी गराउँछु ।’ खड्काले भने ।

एन्फाको साधारण सभाबाट अनुमोदित कार्यक्रमहरु परिमार्जित गरी एन्फा कार्यसमितिलाई समेत जानकारी नगराई होम एण्ड अवे लिग नहुने भनी पत्रकार सम्मेलन गरेको भन्दै वरिष्ठ उपाध्यक्ष खड्काले महासचिव राईलाई आरोप लगाएका छन् ।

‘अखिल नेपाल फुटबल संघको सर्वोच्च निकाय, साधारण सभाबाट अनुमोदित कार्यक्रमहरू परिमार्जन गरी सिंगो नेपाली फुटबलको संरचनालाई ध्वस्त बनाउने कार्य कुन अधिकारको प्रयोग गरी गर्नुभएको हो? साथै, मिति २०८२/०६/२८ गते एन्फा कार्यसमितिलाई जानकारी समेत नगराई ‘होम एण्ड अवे’ लिग नहुने भनी गरिएको पत्रकार सम्मेलनले सिंगो नेपाली फुटबल समर्थक, खेलाडी, प्रशिक्षक, रेफ्री, सम्पूर्ण सरोकारवालाहरू र अन्तर्राष्ट्रिय स्तरमा समेत बदनाम हुने गरी सार्वजनिक भएको धारणाका कारण समय एन्फालाई बदनाम बनाएको छ ।’ खड्काले राईलाई लेखेको पत्रमा भनिएको छ ।

किरण राईले मंगलबार एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै पुष ९ गतेबाट गर्ने गरी प्रस्ताव गरिएको होम एण्ड अवे फर्म्याटको ए डिभिजन लिग तोकिएको समयमा नहुने जानकारी गराएका थिए । साथै राईले अब कुन मोडालिटीमा कस्तो लिग हुन्छ प्रश्नमा स्पष्ट जवाफ पनि दिएनन् ।

यस्तै संस्थाको मुल मर्म विपरित कार्य गरेको भन्दै तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न समेत खड्काले राईलाई निर्देशन दिएका छन् । ‘संस्थाको जिम्मेवार पदमा बसी संस्थाकै बदनाम गराउने, संस्थाको मूल मर्म विपरीत खेलाडीको भावनामाथि आघात पुर्‍याउने र एन्फाको सर्वोच्च निकायको निर्णयलाई समेत एकतर्फी रुपमा परिमार्जन गरी संस्थालाई दुर्घटनातर्फ लैजाने जस्तो गम्भीर अपराधजन्य कार्य गर्नुभएको हुँदा, तपाईलाई किन कारबाही नगर्ने भन्ने सम्बन्धमा आजका मितिले ३ (तीन) दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन गर्दछु ।’

तोकिएको समयभित्र स्पष्टीकरण प्राप्त नभएमा संस्थाको नियम अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने खड्काले उल्लेख गरेका छन् ।

स्पष्टीकरण सोधिएकोबारे थप बुझ्न एन्फा महासचिव राईलाई सम्पर्क गरेपनि उनको फोन उठेन ।

यस्तै बैशाख २६ गते धुलिखेलमा सम्पन्न नियमित वार्षिक साधारण सभाले वार्षिक कार्यक्रम र वार्षिक बजेट अनुमोदन गरेको र साधारण सभाको निर्णय अनुसार शहिद स्मारक ‘ए’ डिभिजन लिग २०८२ पौष १ गतेबाट सञ्चालन गर्ने र सो कार्यक्रमका लागि १० करोड ४६ लाख २२ हजार २६५ रुपैयाँ ९८ पैसा बजेट स्वीकृत गरेको समेत खड्काले जनाएका छन् ।

एन्फा राजनीति नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय