+

सन्दीप जोरा
नेपाल, ब्याट्समेन

Full Name: सन्दीप जोरा
Nationality: नेपाल
Date of Bith: 2001-10-20 (22 yrs)
Team: Nepal
Position: ब्याट्समेन

पछिल्लो समय सुदूरपश्चिमले नेपाली क्रिकेटलाई एकपछि अर्को उत्कृष्ट खेलाडी दिएको छ । त्यसैले त यसलाई उर्बर भूमि पनि भन्न थालिएको छ । त्यहींकै एक उम्दा खेलाडी हुन्, सन्दीप जोरा । कञ्चनपुरको भीमदत्त नगरको खुलामञ्चमा क्रिकेट खेलेर हुर्के–बढेका सन्दीप अहिले नेपाली क्रिकेटमा पक्का आक्रामक ब्याटरका रूपमा चिनिन्छन् । उनी मध्यक्रममा ब्याटिङका लागि ओर्लिन्छन् । उनले घरेलु र उमेर समूहको क्रिकेट हुँदै राष्ट्रिय टिमसम्मको बाटो तय गरेका छन् ।

सन्दीपको पहिलो परिचय स्थापित भएको थियो, वर्ष २०७० मा धनगढीमा भएको यू–१६ क्षेत्रीय प्रतियोगिताबाट । त्यहाँ उनी सर्वाधिक रन बनाउने खेलाडी थिए । सन् २०१६ मा उनले एभरेष्ट प्रिमियर लिगमा कान्तिपुर गोर्खाजका लागि खेल्ने अवसर पाए । त्यसक्रममा उनले चार खेलमा ६२ रन बनाएका थिए । उनले जगदम्बा राइनोज विरुद्ध २८ बलमा ४२ रन बनाए । त्यसमा दुई चौका र दुई छक्का सामेल थियो, त्यो पनि सोमपाल कामी र शक्ति गौचन सम्मिलित टिम विरुद्ध ।

यस प्रदर्शनका कारण कम उमेरमै उनी सबैको नजरमा परे । यसै प्रदर्शनका कारण उनका लागि नेपालको यू–१९ टिमको ढोका खुलेको थियो । सन् २०१७ मा उनी नेपालको यू–१९ टिममा त परे तर नियमित खेल्न पाएनन् । सन् २०१९ मा यू–१९ एशिया कपमा भने उनको प्रदर्शन फेरि एकपल्ट उच्च रह्यो । उनले यूएई विरुद्ध ७४ बलमा ६७ रनको इनिङ्स खेले । त्यसमा उनले ६ चौका र दुई छक्का प्रहार गरेका थिए । यसबीच घरेलु क्रिकेटमा पनि उनले राम्रो प्रभाव छाडे ।

नेपालका लागि डेब्यु

सन् २०१९ मा उनी पहिलो पल्ट यूएई विरुद्धको सिरिजमा परे । त्यसमा तीन–तीन वान डे र ट्वान्टी–ट्वान्टीका खेल समावेश थिए । त्यसै सिरिजको तेस्रो तथा अन्तिम वान डेमा उनले नेपालका लागि डेब्यु गर्ने अवसर पाए । दिन थियो, जनवरी २८ । त्यसमा नेपालले २५५ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको थियो । त्यही पहिलो खेलमा उनले २० बलमा १९ रन जोडे । उनको ब्याटबाट एक चौका र एक छक्का निस्केको थियो ।

त्यस प्रदर्शनसँगै उनले कप्तान पारस खड्काको मन जिते । लगत्तै जनवरी ३१ मा भएको पहिलो ट्वान्टी–ट्वान्टीमा पनि उनले खेल्ने अवसर पाए । त्यसमा पनि उनको प्रदर्शन राम्रो रह्यो । उनको त्यस डेब्यु खेलमा नेपालले १५३ रन पछ्याएको थियो । त्यसक्रममा पाँचौं क्रममा आउँदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलको सामना गरेर तीन चौका र एक छक्का प्रहार गरे । तर त्यस खेलमा नेपाल २१ रनले पराजित रहेको थियो ।

तर उनको खेलको धेरैले प्रशंसा गरे । त्यसपछि उनले सिंगापुर र ओमनको भ्रमणमा राम्रो गर्न सकेनन् । यस्तोमा नेपाली टिमबाट बाहिर रहे । सन्दीपले सन् २०२३ को फेब्रुअरीमा आईसीसी विश्वकप लिग–टुको नामिबिया र स्कटल्यान्ड विरुद्धको सिरिजमा पुनरागमन रचे । ट्वान्टी–ट्वान्टी क्रिकेटमा भने उनको पुनरागमनको अवसर चीनमा भएको १९औं एशियाली खेलकुद रह्यो ।

हाङचाउ एशियाली खेलकुदमा उनले मंगोलिया विरुद्ध ब्याटिङको अवसर पाएनन् । माल्दिभ्स विरद्ध पाँच रन मात्रै जोड्न सके । भारत विरुद्धको खेलमा भने उनले २९ रन बनाएका थिए । उनले अर्शदीप सिंह विरुद्ध दुई छक्का प्रहार गरे । यस्तै साइ किशोरको बलिङमा पनि एक छक्का प्रहार गर्न सफल रहे । यो प्रदर्शनले पनि उनी एकपल्ट चर्चामा आए । वर्ष २०२४ को प्रधानमन्त्री कपमा पनि एपीएफका लागि उनको प्रदर्शन शानदार रह्यो ।

बागमती विरुद्धको खेलमा एपीएफ एक समय पाँच विकेट गुमाएर ४१ रनको दयनीय स्थितिमा थियो । त्यही स्थितिमा उनले ११२ रनको शतकीय इनिङ्स खेले । यही प्रदर्शनले नेपाली टिममा उनको स्थान सुरक्षित बनायो । क्यानडा ‘ए’ विरुद्धको दोस्रो वान डेमा सन्दीपले नेपाल ‘ए’ को कप्तानी गर्ने अवसर पनि पाए । त्यसै खेलमा उनले ६६ रनको अर्धशतकीय इनिङ्स पनि खेले । सिनियर टिममा खासै राम्रो प्रदर्शन गर्न नसके पनि उनलाई अवसर भने मिलिरह्यो ।

मार्चमा पपुवा न्युगिनी विरुद्ध ५६ र अप्रिलमा यूएई विरुद्ध ५० रन बनाए । त्यसै कारण उनी ट्वान्टी–ट्वान्टी विश्वकप खेल्ने टिममा परे ।

Read Full