
पुजा महतो
नेपाल, अलराउण्डर

पूजा महतो यू–१९ महिला टिमको कप्तान हुन् । पूजाले अलराउन्डरको भूमिका निभाउने गरेकी छन् । उनी दायाँ हाते ब्याटर र मिडियम पेसर बलर हुन् ।
उनकै कप्तानीमा नेपाल ऐतिहासिक विश्वकपमा छनोट भएको हो । उनको कप्तानीमा नेपालले यू–१९ महिला एसिया कपमा पाकिस्तानलाई हराएको थियो ।
सफल कप्तान मात्र नभएर पूजा ब्याटिङ र बलिङमा पनि अब्बल छिन् । उनी सिनियर टिममा पहिले मौका पाएर यू–१९ मा परेकी खेलाडी हुन् ।
सानैदेखि क्रिकेटमा रुचि राख्ने पूजा भारतीय खेलाडी रोहित शर्माबाट प्रभावित छिन । भारतमा हुर्किएका कारण क्रिकेटको माहोलमा भिज्ने मौका पाएकी उनले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)को नजरमा परेदेखि पछाडि फर्कनु परेको छैन ।
विश्वकपमा बंगलादेशलाई हराएर एसिया कपको बदला लिने मौका रहेको बताउँदै उनले भनेकी छन्, ‘भिक्टोरी इज स्वीट बट रिभेन्ज इज द स्वीटेस्ट ।’
दिल्लीदेखि विश्वकपसम्मको यात्रा
पूजा महोत्तरीको गौशालामा जन्मिइन् । क्रिकेट कला भने उनले भारतको दिल्लीमा सिकिन् ।
दिल्लीबाट राष्ट्रिय टिम हुँदै यू–१९ विश्वकपसम्मको उनको यात्रा जति रमाइलो छ, त्योभन्दा बढी संघर्षपूर्ण छ परिवारको संघर्ष ।
‘यहाँसम्म आइपुग्न मेरो बुबाले धेरै मिहिनेत गर्नुभएको छ । मलाई सुरुदेखि नै परिवारको बलियो साथ रह्यो,’ बुवा र परिवारप्रति कृतज्ञ सुनिन्छिन् उनी ।
निम्नमध्यम आर्थिक अवस्था र परिवारको भविष्य सुधार्ने सपना बोकेर पूजाका बुबा रञ्जित महतो महोत्तरीबाट दिल्ली पुगेका थिए । तीन छोरी र एक छोराका पिताको एउटै लक्ष्य थियो, आइपर्ने सबै दुःख सहेर पनि पैसा कमाउने ।
उनीसँगै दिल्ली पुगेका थिए परिवारका सदस्य । माइली छोरी पूजाले संयोगवश भाइले क्रिकेट सिक्ने एकेडेमीमै पूजाले पनि क्रिकेट सिक्ने मौका पाइन् ।
‘भाइले क्रिकेट खेल्न थालेको थियो । हामी उसलाई एकेडेमीमा लैजान्थ्यौं । एक दिन एकेडेमीको कोचले मेरो बुबासँग कुरा गर्दै तिम्रो छोरीसँग पनि क्षमता छ क्रिकेट खेल्नुपर्छ भन्नुभयो,’ पूजाले क्रिकेट करिअरको सुरुवाती दिन सम्झँदै भनिन्, ‘अनि बुबाले तिमीले पनि खेल्नुपर्छ भन्नुभयो र म क्रिकेटसँग जोडिएँ ।’
तर, पूजाका बुवासँग दिदीबहिनी र भाइका लागि पैसा पुर्याउन कठिन थियो । पछि एकेडेमीमा निःशुल्क प्रशिक्षणको व्यवस्था भएपछि पूजाले सिक्न थालिन् ।
त्यसो त पूजाको नेपाल आगमनको प्रसंग पनि भाइसँग जोडिएको छ । दुई वर्षअघि बुबा र भाइ एक कार्यक्रमका लागि नेपाल आएका थिए । त्यही बेला उनको भाइ जिल्लाको यू–१५ क्याम्पमा परे ।
‘मेरो भाइले एक खेल खेलेर प्लेअर अफ दि म्याच अवार्ड पाएँ र उसलाई रोशन सर (तत्कालीन क्यान कोषाध्यक्ष) ले अवार्ड दिनुभयो’, पूजाले भनिन् ।
भाइले आफ्ना दिदीहरूले पनि क्रिकेट खेल्ने कुरा रोशन सिंहलाई बताए । दिल्ली फर्केपछि भाइले दिदीहरूलाई यसबारे जानकारी गराए । खेलको भिडियोहरू रोशन सिंहलाई पठाए ।
सिंहले यी विषयमा क्यानमा जानकारी गराए । त्यसपछि पूजा र आरती क्रिकेट खेल्न महोत्तरी आए । ‘रोशन सरले मलाई खेलाउनका लागि सबै पहल गर्नुभयो’, पूजाले भनिन् ।
प्रशिक्षणमा सहभागी हुन थालेसँगै पूजाको राष्ट्रिय टिममा इन्ट्री भयो । गत वर्ष मलेसियामा भएको आईसीसी वुमन्स टी–२० वर्ल्ड कप एसिया रिजन क्वालिफायरका लागि उनी पहिलोपटक राष्ट्रिय टोलीमा परिन् ।
वर्ल्डकप क्वालिफायरअघि चार देश सम्मिलित सिरिजमा हङकङविरुद्ध खेल्दै उनले सिनियर टिममा डेब्यु गरिन् ।
पहिलो खेलमा पूजाको अलराउन्ड प्रदर्शन थियो । ३ ओभर बलिङ गरेर १ मेडन राख्दै ५ रन मात्र खर्चेर १ विकेट लिएकी उनले ब्याटिङमा ओपनिङ गर्दै १८ बलमा १६ रन बनाइन् ।
राष्ट्रिय टिमबाट २० खेलमा १४ इनिङ्स ब्याटिङ गरेकी पूजाले १ अर्धशतकसहित १८५ रन बनाएकी छन् । यस्तै बलिङमा १९ इनिङ्समा १६ विकेट लिएकी छन् ।
सिनियर टिममा खेलेपछि यू–१९ को कप्तानी
पूजा महतो सिनियर टिममा पहिले खेलेर त्यसपछि यू–१९ टिममा छानिएकी हुन् । उनकै कप्तानीमा नेपालले ऐतिहासिक महिला विश्वकप खेल्दै छ ।
पूजाले आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा पनि नेपालका लागि शानदार प्रदर्शन गरिन् । उनले छनोट चरणमा नेपालका लागि सर्वाधिक रन बनाएकी थिइन् भने दोस्रो सर्वाधिक विकेट पनि लिइन् ।
पूजाले एसिया छनोटअन्तर्गत कुवेतसँगको खेलमा शतक प्रहार गर्दै सोही खेलमा ५ विकेट पनि लिएकी थिइन् । प्रतियोगिताभर उनले २७२ रन बनाएकी थिइन् भने १० विकेट पनि लिइन् ।
त्यसैगरी, पूजाकै कप्तानीमा नेपालले यू–१९ महिला एसिया कप खेलेको थियो, जहाँ पाकिस्तानलाई पराजित गर्दै अघिल्लो चरणसम्म पुग्न सफल भएको थियो ।
ब्याटिङ, बलिङ र कप्तानीमा अब्बल पूजाको नेतृत्वमा नेपाली महिला क्रिकेट टोलीले विश्वकपमा उच्चस्तरको प्रदर्शन गर्न आतुर छ ।
-गोविन्दराज नेपाल
Read Fullसमाचार

प्लेयर्स टु वाच



