+

दीपेन्द्र सिंह ऐरी
नेपाल, ब्याट्समेन

Full Name: दीपेन्द्र सिंह ऐरी
Nationality: नेपाल
Date of Bith: 2000-01-24 (24 yrs)
Team: Nepal
Position: ब्याट्समेन

अन्तर्राष्ट्रिय मिडियाले बारम्बार दोहोर्‍याएर कोही नेपाली क्रिकेट खेलाडीको नाम आउँछ भने ती हुन्– दीपेन्द्रसिंह ऐरी । यसका स्पष्ट दुई कारण छन् । पहिलो, सन् २०२३ मा चीनको हाङचाउमा भएको एशियाली खेलकुदमा मंगोलिया विरुद्ध उनले बनाएको नौ बलको अर्धशतक । अनि कतार विरुद्ध एसीसी मेन्स प्रिमियर कपमा एकै ओभरमा लगातार ६ छक्काको प्रदर्शन । यी यस्ता दुई दुर्लभ कीर्तिमान हुन्, जुन न त भंग हुनेछ, न त कसैले तोड्न सक्नेछ ।

यी त विश्व क्रिकेटमा सधैं अमर रहने दुई कीर्तिमान हुन् । अनि नेपाली क्रिकेटले पाएका सबैभन्दा अब्बल दर्जाका अलराउन्डर पनि हुन्, उनी । उनको ब्याट बोल्छ । उनको बलिङले चमत्कार गर्छ । अनि फिल्डिङको उनको प्रदर्शन गज्जब हुने गर्छ । नेपाली क्रिकेट इतिहासमै पनि उनी दोहोरिएर आउने नाम हुन्, किनभने जतिबेला नेपालले नेदरल्यान्ड्स विरुद्ध सन् २०१८ मा पहिलो वान डे खेलेको थियो, त्यस बेलाका एक दीपेन्द्र पनि हुन् ।

सुरुआती दिन

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका दीपेन्द्र त्यहाँ खेततिर क्रिकेट खेलेर हुर्केका हुन् । नेपाली क्रिकेटमा सुदूरपश्चिमको योगदान ठूलै छ । यो क्षेत्रले नेपाली क्रिकेटमा एकसेएक खेलाडी दिएको छ । त्यसमै एक हुन्, उनी । घरेलु क्रिकेटमा आफ्नो छाप सुरुआती दिनमै छाड्न सफल रहे पनि उनलाई आफ्नो वास्तविक पहिचान बनाउन भने केही समय लाग्यो । उनले बाक्लो चर्चा पाएको भने सन् २०१६ मा हो, जतिबेला यू–१९ एशियाकपमा श्रीलंका विरुद्ध उनले राम्रो प्रदर्शन गरे ।

त्यस खेलमा नेपाल पराजित त रह्यो, तर दीपेन्द्रले ९९ बलमा ९० रन बनाए । त्यसमा नौ चौका र एक छक्का सामेल थियो । यो त्यही प्रदर्शन थियो, जसले उनलाई नेपाली राष्ट्रिय टिममा प्रवेशका लागि बाटो खोलेको थियो । सन् २०१७ मा आईसीसी विश्व क्रिकेट लिगमा केन्या विरुद्ध घरेलु मैदानमा तात्कालीन कप्तान पारस खड्का अनुपस्थित रहे । उनलाई एपेन्डेक्स भएको थियो । नेपाली टिमका लागि यो धक्का थियो, तर त्यसै कारण दीपेन्द्रको भने भाग्य खुल्यो ।

राष्ट्रिय टिमबाट डेब्यु गर्ने क्रममा उनले ५६ बल खेलेर १९ रन बनाए । केन्या विरुद्धको दोस्रो खेलमा भने उनले आकर्षक ६२ रन बनाए । त्यसपछि त के चाहियो र ? उनी लगातार टिममा परिरहेका छन् । सन् २०१७ मा नेपालले यू–१९ एसियाकपमा भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक र दुर्लभ जित निकालेको थियो । त्यस जितका एक नायक दीपेन्द्र पनि हुन् । उनले त्यसमा ८८ रन मात्र बनाएका थिएनन्, चार विकेट पनि लिएका थिए ।

नेपाली घरेलु क्रिकेटमा उनी नयाँ पुस्तका खेलाडीमध्ये उत्कृष्ट कप्तान पनि हुन् । उनकै कप्तानीमा नेपालले भारत विरुद्ध त्यो जित मात्र हात पारेको थिएन उनकै नेतृत्वमा सन् २०१९ मा सीआईबी अत्तरियाले धनगढी प्रिमियर लिग पनि जितेको थियो । यस्तै सन् २०२३ मा उनको नेतृत्वमा पुलिसले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पनि जितेको थियो । पुलिसले सन् २०२४ मा उनकै नेतृत्वमा प्रधानमन्त्री कप जित्यो । यस्तै नेपाली टी–२० लुम्बिनी स्टार्स जित्दा पनि उनी नै कप्तान थिए ।

नतोडिएको विश्वास

सन् २०१८ मा आईसीसी वान डे विश्वकप छनोटको प्ले–अफमा दीपेन्द्रले पपुवा न्युगिनी विरुद्ध ५० रन बनाउनुका साथै चार विकेट पनि लिए । त्यसै प्रदर्शनमा टिकेर नेपाल विजयी रह्यो र नेपालको ओडीआई मान्यता पक्का रह्यो । सन् २०१९–२०२१ सम्म उनको प्रदर्शन धेरै उल्लेखनीय रहेन । सन् २०१९ मै उनी उप–कप्तान पनि भए । त्यसलगत्तै खेलाडीको नेपाल क्रिकेट संघ (क्यान) सँगको विवादमा दीपेन्द्र फसे र उप–कप्तानको जिम्मेवारी गुमाए ।

त्यही बेला ज्ञानेन्द्र मल्ललाई पनि कप्तानीबाट हटाइएको थियो । उनको प्रतिभा र योग्यतामा कसैको शंका भने थिएन । उनीमाथि सबैको विश्वास थियो, त्यो कहिल्यै पनि तोडिएन । सन् २०२२ मा उनले फेरि नेपाली टिममा पुनरागमन गर्दै आईसीसी ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा सानदार प्रदर्शन गरे । तर नेपाल सेमिफाइनलमा यूएईसँग हार्दा विश्वकप खेल्ने सपना पूरा हुन सकेन । त्यही वर्ष उनले पपुवा न्युगिनी विरुद्ध १०५ रनको शतकीय इनिङ्स पनि खेले ।

यो उनको अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक रह्यो । मलेसिया विरुद्ध पछि उनले ट्वान्टी ट्वान्टी क्रिकेटमा पनि शतक बनाए । त्यति बेला उनले ११९ रन बनाएका थिए । त्यसपछि त उनले पछाडि फर्केर हेर्नु परेको छैन । सन् २०२३ मा नेपाली राष्ट्रिय टिमको प्रशिक्षकमा मोन्टी देसाई आएपछि उनको खेल जीवन अझ अगाडि बढ्यो । उनी वान डे क्रिकेटमा मध्यक्रमबाट फिनिसरमा पुगे । यसै क्रममा उनी आईसीसी वरीयताको शीर्ष १० मा पुगे र यस्तो उपलब्धि चुम्ने पहिलो खेलाडी बने ।

Read Full