+

ओपनिङ र विकेट किपिङमा निर्विकल्प
नेपाल, विकेट किपर

Full Name: आसिफ शेख
Nationality: नेपाल
Date of Bith: 2001-06-22 (22 yrs)
Team: Nepal
Position: विकेट किपर

आफिस शेखले दाइ आरिफ शेखसँग क्रिकेट खेल्न सुरु गरेका थिए । उनीहरूको घर थियो, वीरगञ्जको नारायणी रंगशाला नजिकै । सानोमा दाजुभाइ सँगै क्रिकेट खेल्थे । दाइको प्रगति देखेर भाइ पनि क्रिकेटमै होमिए । आफिस विद्या सदनमा पढ्थे । स्कुलबाट स्कलरसिप पाउन थालेपछि आसिफलाई क्रिकेट खेल्ने वातावरण अझ सहज बन्यो । सुरु सुरुमा दाइ आरिफका लागि उनी बलिङ गर्थे । घर बाहिर बल जाँदा टिप्ने काम पनि भाइ आसिफकै हुन्थ्यो ।

त्यस अर्थमा क्रिकेट उनले पारिवारिक विरासतमै पाए । जानिंदो नजानिंदो तरिकाले विकेट किपिङमा उनको हात बस्यो । बुबाको क्रिकेटमा असाध्यै रुचि थियो नै । त्यसैले परिवारको पनि राम्रो साथ पाए । आसिफले सन् २०१२ मा वीरगञ्जको जिल्ला छनोटमा राम्रो प्रदर्शन गरे । त्यही वर्ष एसीसी यू–१६ एलिट कपमा छनोट पनि भए । त्यसपछि २०१४ मा मलेसियामा भएको यू–१६ प्रिमियर लिग खेले । प्रनित थापा मगरको कप्तानीमा नेपाल च्याम्पियन बन्दा आसिफ उप–कप्तान थिए ।

यसरी कम उमेरमै उनले नेतृत्वको अनुभव पनि बटुले । त्यसैले यू–१६ टिमको पनि कप्तान भए । आसिफले सन् २०१७ मा बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा सिनियर टिमबाट पहिलो पटक खेले । जतिखेर उनी उमेर समूहमा खेल्दै थिए र १५ वर्षका मात्र थिए । त्यसअघि आसिफले सन् २०१८ मा भएको एभरेष्ट प्रिमियर लिगमा सानदार प्रदर्शन गरे । उनले फाइनलमा शतक प्रहार गर्दै पञ्चकन्या तेजलाई उपाधि दिलाए ।

यसले आसिफको चर्चा बढेको थियो, त्यस खेलमा उनले नटआउट १११ रन बनाए । सन् २०१६ मा एभरेष्ट प्रिमियर लिग खेलेपछि आसिफ पहिलो पटक यू–१९ टिममा परे । आसिफले चार पटक यू–१९ एसिया कप खेले । त्यसमध्ये दुई पटक नेपालको कप्तानी गरे । सन् २०१६ मा श्रीलंकामा भएको यू–१९ एसिया कपमा उनले घरेलु टोली विरुद्ध डेब्यु गरे । डेब्यु खेल आसिफ र नेपालको लागि मीठो रहेन्, जितको नजिक रहेर पनि पराजित रह्यो ।

नेपाल श्रीलंकासँग १ रनले पराजित भएको थियो । आसिफ पनि १ रनमा आउट भएका थिए । त्यसपछि आसिफले २०१७ मा मलेसियामा भएको यू–१९ एसिया कप पनि खेले । सन् २०१८ मा भारतको लखनऊमा भएको नेपाल भारत र अफगानिस्तानबीचको यू–१९ त्रिकोणात्मक सिरिजमा उनले नेपालको कप्तानी गरे । सन् २०१८ मा बंगलादेशमा भएको यू–१९ एसिया कपमा पनि आसिफले कप्तानी गरेका थिए । उनले रोहित पौडेलको कप्तानीमा सन् २०१९ मा श्रीलंकामै भएको यू–१९ एसिया कप पनि खेले ।

यू–१९ टिममा रहँदा नै उनले सन् २०१७ मार्चमा बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा बंगलादेश यू–२३ विरुद्ध डेब्यु गरे । विनोद भण्डारी राष्ट्रिय टिममा पर्न छाडेपछि पछिल्लो समय आसिफ विकेटकिपिङमा पनि निर्विकल्प जस्तै बनेका छन् । ओपनिङ त आसिफको पुरानै पोजिसन हो । कुनै बेला नेपालका लागि महेश क्षेत्री र सुवास खकुरेलले यस्तै भूमिका निभाएका थिए । अहिले आसिफ त्यही भूमिकामा छन् ।

 राष्ट्रिय टिममा डेब्यु

आसिफले सन् २०१७ मै सिनियर राष्ट्रिय टिमको जर्सी लगाएर खेलिसकेका थिए । उमेर समूहमा पनि उत्कृष्ट प्रदर्शन गर्दै कप्तानी गरिसकेका आसिफले औपचारिक रूपमा भने सन् २०२१ मा नेपालका लागि डेब्यु गरे । त्यही वर्ष उनले टी–२० आई र ओडीआई दुवैमा डेब्यु गरे । विश्वकप विजेता प्रशिक्षक डेभ वाटमोरले आसिफ शेख र कुशल भुर्तेललाई सँगै टी–२० मा डेब्यु गराएका थिए । सन् २०२१ अप्रिल १७ मा त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्यान्ड्स विरुद्धको पहिलो खेलमा आसिफले डेब्यु गरे ।

आसिफले डेब्यु खेलमै अर्धशतक प्रहार गरे । सँगै डेब्यु गरेका आसिफ र कुशलले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए । त्यसमा आसिफले नटआउट ५४ रन बनाए । उनले ३८ बल खेल्दै समान ४ चौका  र ४ छक्का प्रहार गरे । नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १४१ रन बनाउँदै पूरा गरेको थियो । पूर्व कप्तान पारस खड्का घाइते हुँदा दुवै खेलाडीले डेब्युको अवसर पाएका थिए ।

त्यसपछि आसिफले पछाडि फर्केर हेर्नुपरेको छैन । ओडीआईमा त्यही वर्ष सेप्टेम्बरमा ओमानमा पपुवा न्युगिनी विरुद्धको ओडीआई सिरिजमा आसिफले नेपालका लागि डेब्यु गरे । ओडीआईमा पनि आसिफ र कुशल भुर्तेलले सँगै डेब्यु गरे । ओडीआई डेब्युमा आसिफले ४६ बल खेल्दै ४ चौकाको मद्दतमा ३० रन बनाएका थिए । उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई १३४ रनमा अलआउट गरेको नेपालले खेल जित्न ८ विकेट खर्चेको थियो ।

 आईसीसी र एमसीसीको स्प्रिट अवार्ड

आसिफबारे कुरा गर्दा उनल पाएको स्प्रिट अवार्डको प्रसंग भने छुटाउनुहुन्न । उनी जति भलाद्मी देखिन्छन् मैदानमा पनि उनको प्रदर्शन उस्तै हुन्छ । तल–माथि हुन्न । त्यसैले त आसिफले सन् २०२२ मा दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय अवार्ड जिते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लबले प्रदान गर्ने अवार्ड प्राप्त गरेका हुन् । यो दुवै अवार्ड जित्ने आसिफ पहिलो नेपाली खेलाडी समेत बने ।

आयरल्यान्ड विरुद्धको खेलमा एन्डी म्याकबर्नी रन लिने क्रममा नेपाली बलर कमल सिंह ऐरीसँग अल्झिए र लड्न पुगे । त्यस स्थितिमा आसिफसामु उनलाई रनआउट गर्ने अवसर थियो । नियमले छेक्दैनथ्यो । तर उनले त्यस्तो केही गरेनन् । यही कामका लागि उनले चारैतर्फबाट ख्याति कमाए ।

Read Full