+

गुल्सन झा
नेपाल, बलर

Full Name: गुल्सन झा
Nationality: नेपाल
Date of Bith: 2006-02-17 (18 yrs)
Team: Nepal
Position: बलर

केही समय अगाडिसम्म गुल्सन झा नेपाली क्रिकेटका लागि नयाँ नाम थियो । तर अब उनी सबैले सुनेको नाम भएको छ । यसले देखाउँछ, उनले तय गरेको छोटो यात्रा कति सफल रह्यो भनेर । सबैभन्दा ठूलो उनी युवा छन्, अझ किशोर उमेरकै । त्यस अर्थमा उनीबाट नेपाली क्रिकेटले धेरै आश गर्न सक्छ, लामो समयकै लागि । विश्व क्रिकेटमा नेपालले आफ्नो दरिलो उपस्थिति जनाउने हो भने एउटा पक्का अलराउन्डर चाहिन्छ ।

गुल्सन यसको उत्तर हुन सक्छ । एकै पल्ट उमेर समूह र राष्ट्रिय टिमबाट उनले नियमित खेले र दुवैतिर आफ्नो छाप पनि छाडे । उनको खेलको सबैभन्दा ठूलो र फरक विशेषता हो, बायाँ हाते ब्याटर हुन्, अनि दायाँ हाते फास्ट बलर हुनु । धेरै होइन, वर्ष २०७७ तिर मात्रै हो, उनको नाम सुनिएको । त्यो वर्षको मेयर्स कपमा उनले पुलिसका लागि फाइनल खेले र चार विकेट लिए । त्यो नै पहिलो खास अवसर थियो, जसले गर्दा उनी सबैको नजरमा परे ।

त्यतिबेला शरद भेषवाकरले उनका लागि दिएको मीठो उपनाम थियो, ‘सरप्राइज प्याकेज’ । त्यतिबेला सामाजिक सञ्जालमा पनि गुल्सन खुबै छाए, किनभने चारैतर्फ उनको पेस र बाउन्सरको चर्चा चुलिएको थियो । सबै छक्क जस्तै परेका थिए । हुन पनि, ५ फिट १० इञ्चका गुल्सन उत्तिकै सटिक पेस र बाउन्सरको समिश्रण मिलाउँथे । ब्याटरका रूपमा भने उनको छवि त्यस्ता खेलाडीको बनेको छ, जसले टिमको जितमा विजयी रन बटुल्ने गर्छन् ।

राष्ट्रिय क्रिकेटमा प्रवेश

सर्लाही मलंगवा घर भएका गुल्सनले वर्ष २०७७ मा पहिलो पटक मधेश प्रदेशबाट प्रधानमन्त्री कपको छनोट खेलेका थिए । तर उनले त्यसपछि मौका भने पाएनन् । एक प्रकारले उनी असफल जस्तै भए । तर उनी कति राम्रा खेलाडी हुन् भनेर चर्चा भने सुरु भइसकेको थियो । यस्तो सुन्नेमा एक थिए, प्रशिक्षक मनोज कटुवाल । त्यसैले उनले गुल्सनलाई पुलिसमा अभ्यासका लागि बोलाए, उनी यी खेलाडीको ट्रायल लिन चाहन्थे, फेरि पुलिसलाई उनी जस्तै पेस बलरको पनि आवश्यकता थियो ।

कोही खेलाडीले आफ्नो जीवनमा पाउने राम्रो अवसर भनेको यस्तै हुन्छ, एकपल्ट । त्यसमै गुल्सनले आफूलाई प्रमाणित गरे । प्रशिक्षक मनोज उनको खेलबाट प्रभावित भए र पुलिस टिममा मौका दिए । गुल्सनको क्रिकेट जीवनको एउटा अर्को पक्ष पनि छ र त्यो हो, उनले खासमा क्रिकेट सिकेको भने भारतमा हो । उनले भारतको राँचीमा रहेको अरुणोदय क्रिकेट एकेडेमीबाट प्रशिक्षण लिएका थिए । सम्भवतः त्यसैले उनको आधारभूत क्रिकेट राम्रो रह्यो ।

डेब्यु उमेरमा कीर्तिमान

धेरै अर्थमा गुल्सन भाग्यमानी पनि रहे, किनभने जम्माजम्मी घरेलु क्रिकेटका दुई खेल खेलेपछि नै उनलाई राष्ट्रिय टिममा बोलाइएको थियो । पपुवा न्युगिनी विरुद्धको वान डे सिरिजमा उनलाई पहिलो पल्ट राष्ट्रिय टिममा राखियो । यस्तै आईसीसी वल्र्ड क्रिकेट लिग–टुको छैटौं चरण खेलेको नेपाली टिममा पनि परे । यसै क्रममा सन् २०२१ मा अमेरिका विरुद्ध डेब्यु गरे । त्यतिबेला उनको उमेर थियो, १५ वर्ष २१२ दिन ।

त्यस अर्थमा उनी सबैभन्दा कम उमेरमा वान डेमा डेब्यु गर्ने तेस्रो कान्छो खेलाडी बने । टी–२० फम्र्याटमा भने उनले आईसीसी टी–२० विश्वकप छनोटमा फिलिपिन्स विरुद्ध डेब्यु गरेका हुन् । उनले टी–२० अन्तर्राष्ट्रियमा भने डेब्यु खेलमा नै विकेट लिएका थिए । पछिल्लो समय बलिङमा मात्रै नभएर ब्याटिङमा पनि नेपाललाई चाहिएको अवस्थामा आएर जिताउने ब्याटरको रूपमा पनि चिनिन थालेका छन्, गुल्सन । यही त हो ‘ट्र्यु अलराउन्डर’ को वास्तविक परिचय ।

Read Full