+

देव खनाल
नेपाल, ब्याट्समेन

Full Name: देव खनाल
Nationality: नेपाल
Date of Bith: 2005-05-29 (19 yrs)
Team: Nepal A
Position: ब्याट्समेन

६ फिट १ इञ्चको उचाइ । नेपाली क्रिकेट खेलाडीको हूलमा देव खनाल कम्तीमा यही कारणले फरक देखिन्छन्, सबैको आँखामा पर्छन् । उनको खेल आफैं पनि सबैको हेक्कामा पर्न पर्याप्त छ । उनको क्रिकेट पृष्ठभूमि भने आफैंमा फरक छ । उनको खेल मन पराउनेहरू भन्ने गर्छन्, देव ‘क्लासिक ब्याटर’ हुन् । अझ भन्दा उनी प्राविधिक रूपमा अब्बल दर्जाका खेलाडी हुन् र यसका लागि उनले आफ्नो सुरुआती दिनलाई श्रेय दिनै पर्छ ।

देवको बाल्यकाल भारतमा बितेको थियो र उनले त्यहीं क्रिकेट सिके । त्यसो त बुबा रामप्रसाद र आमा आशा खनालको कान्छो छोरा देवको पुख्र्यौली घर अर्घाखाँचीको धन्चौर हो । तर, उनले आफ्नो जीवनको सुरुआती अधिकांश समय भारतमा बिताए । स्वाभाविक छ, भारतीय क्रिकेटको सकारात्मक प्रभाव उनमा पर्‍यो ।

सन् २०११ मा भारतले श्रीलंकालाई हराएर वान डे विश्वकप जितेको थियो । त्यसमा महेन्द्रसिंह धोनी र युवराज सिंहले गज्जब खेलेका थिए । त्यसैबाट प्रभावित हुनेमा देव पनि एक दिए । यसैले उनलाई क्रिकेटमा प्रवेश गर्न प्रेरित गरेको थियो ।

लगत्तै उनी नयाँदिल्लीमा रहेको आरपी क्रिकेट एकेडेमीमा भर्ना भए । त्यसै एकेडेमीका एक खेलाडी थिए, ऋषभ पन्त । अहिलेको चर्चित विकेटकिपर ब्याटर ऋषभको खेल उनले त्यही बेला नजिकबाट हेर्न पाएका थिए । त्यस एकेडेमीमा रणजी ट्रफी खेल्ने प्रथम श्रेणीका क्रिकेट खेलाडी पनि आउँथे । त्यसको प्रभाव किशोरवयका  देवमा पनि पर्‍यो ।

नेपाली क्रिकेटमा प्रवेश

सन् २०१६ तिर बुटवलको जयकोटीमा घर बनाएपछि देवको पूरा परिवार भारत छाडेर नेपाल फर्केको थियो । त्यस अगाडि उनी कहिलेकाहीं मात्रै नेपाल आउने–जाने गर्थे । मीठो संयोग के रह्यो भने उनी जहाँ आए, त्यो रूपन्देही पनि नेपाली क्रिकेटका लागि उर्बरभूमि नै थियो । मूलधारको नेपाली क्रिकेटमा प्रवेश गरेर आफ्नो प्रभाव छाड्न देवलाई धेरै लामो समय लागेन । उनले सबैभन्दा पहिले स्थानीय वेस्टर्न क्रिकेट एकेडेमीबाट खेले ।

त्यसपछि जिल्ला र प्रदेश हुँदै उनी सन् २०२१ को प्रधानमन्त्री कपसम्म पुगे । पुलिस विरुद्धको डेब्यु खेलमै उनले टीयूको क्रिकेट मैदानमा आकर्षक ४९ रन बनाए । त्यस प्रतियोगिताको उनको खेलले सबैको मन जित्नु पछाडि एउटा ठोस कारण थियो, उनको मीठो कभर ड्राइभ । कत्तिले त त्यस कभर ड्राइभमा पाकिस्तानका बाबर आजमको झल्को देख्छन् । त्यही वर्षको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताले उनलाई अहिलेको परिचय बनाउन मद्दत गर्‍यो ।

रूपन्देहीका लागि उनको प्रदर्शन उत्कृष्ट रह्यो । त्यसमा उनले सात खेलमा चार अर्धशतक सहित ३३४ रन बनाए । उनी प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी पनि रहे । लगत्तै सन् २०२१ को डिसेम्बरमा उनकै नेतृत्वमा नेपालले यू–१९ एशियाकप खेल्यो । त्यसमा उनको व्यक्तिगत प्रदर्शन भने राम्रो हुन सकेन । तीन खेलमा ४५ रन मात्रै बनाए । तर यसले पनि उनलाई नेपालको राष्ट्रिय टिममा प्रवेशका लागि बाटो छेक्न सकेन ।

राष्ट्रिय टिममा अवसर

भारतबाट नेपाल आएर राष्ट्रिय टिमसम्मको यात्रा धेरै लामो रहेन । छोटो समयमै यो सम्भव भयो । अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको खराब लय देवका लागि अवसर बन्यो । सन् २०२२ को मार्चमा उनले पपुवा न्युगिनी विरुद्ध ओडीआईमा डेब्यु गरे । तर, शून्यमै आउट भए । पछि दोस्रो खेलमा भने ७२ रनको परिपक्व इनिङ्स खेले । त्यसपछि त उनी नेपाली टिमका नियमित सदस्य जस्तै भए । आईसीसी विश्वकप लिग–टुमा अमेरिका विरुद्ध ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

त्यही वर्षको सेप्टेम्बरमा उनी केही समय नेपाली टिमबाट बाहिर रहे र त्यसको कारण थियो, सन्दीप लामिछानेको बलात्कार मुद्दामा जोडिनु । पीडित महिलालाई देवले नै सन्दीपलाई चिनाएको आरोप लागेको थियो । यस्तोमा उनी प्रहरी र अदालतको लगातार अनुसन्धानमा परे । अन्ततः यो प्रकरणले पनि उनको खेल जीवनलाई गम्भीर रूपमा आघात पुर्‍याउन सकेन । सन् २०२३ फेब्रुअरी–मार्चमा आईसीसी यू–१९ विश्वकप एशिया छनोटको उपाधि जिताउन उनले शानदार प्रदर्शन गरे ।

देवको कप्तानीमै नेपालले त्यो प्रतियोगिता खेलेको थियो । उनले कुवेत विरुद्ध १२५ रनको शतकीय इनिङ्स खेलेलगत्तै निर्णायक खेलमा यूएई विरुद्ध ५१ रन पनि बनाए । त्यस्तै २०२३ अक्टोबरमा एसीसी यू–१९ प्रिमियर कपमा देवले इरान विरुद्ध र फाइनलमा यूएई विरुद्ध समान १०० रनको शतकीय इनिङ्स खेले । उनी नेपालबाट यू–१९ मा तीन शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । सन् २०२४ को जनवरीमा यूू–१९ विश्वकपमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुर्‍याए ।

त्यसमा उनले ५८ रनको परिपक्व कप्तानी इनिङ्स खेलेका थिए । यू–१९ मा राम्रो प्रदर्शनपछि देवले २०२४ फेब्रुअरीमा क्यानडासँगको तीन ओडीआई सिरिजबाट नेपाली टिममा पुनरागमन गरे । त्यसको दोस्रो खेलमा उनले ७६ रन बनाए । देवले इनिङ्सको ओपनिङ मात्र गर्दैनन्, चाहिएको बेला मध्यक्रममा पनि ब्याटिङ गर्छन् । उनलाई नेपाली क्रिकेटमा भविष्यका रूपमा हेरिएको छ । नेपाली क्रिकेटले उनीबाट धेरै अपेक्षा गरेको छ ।

Read Full