+

आरिफ शेख
नेपाल, ब्याट्समेन

Full Name: आरिफ शेख
Nationality: नेपाल
Date of Bith: 1997-10-04 (26 yrs)
Team: Nepal A,Nepal
Position: ब्याट्समेन

आफूले पूरा गर्न नसकेको सपना आफ्ना सन्तानले पूरा गरोस् भन्ने हुँदोरहेछ । आरिफ शेखको कुरा पनि यस्तै हो । उनको बुबा क्रिकेटको ठूलै प्रशंसक । तर उनले क्रिकेटमा करिअर बनाउन सकेनन् । उनका छोराहरूले राष्ट्रिय टिमका लागि खेले र उनको इच्छा पूरा गरे । यस्ता कथाहरू विश्व क्रिकेटमा धेरै सुन्न पाइन्छ । अभिभावकले आफ्नो पूरा जीवन आफ्ना सन्तानको क्रिकेटका लागि समर्पित गरेका उदाहरण धेरै पाइन्छ ।

धन्न, आरिफले त्यस्तै परिवारमा जन्म लिन पाए । उनको जन्म सन् १९९७ मा वीरगञ्जमा भएको छ । उनी नेपाली राष्ट्रिय टोलीका ब्याटिङ अलराउन्डर हुन् । मध्यक्रममा ब्याटिङ गर्ने उनी आवश्यक पर्दा पार्टटाइम बलिङ पनि गर्छन् । स्कुल, कलेज हुँदै यू–१९ राष्ट्रिय टिममा खेल्दै आरिफ सिनियर टिमसम्म पुगेका हुन् । नेपाली टिममा झण्डै एक दशक बिताएका आरिफ नेपाली राष्ट्रिय टोलीको अनुभवी खेलाडी मध्ये एक हुन् ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र बलर सोमपाल कामी मात्रै आरिफ भन्दा अगाडि नेपालका लागि खेलेका थिए । इन्जिनियरिङ पढाइ नै छाडेर क्रिकेटमा लागेका आरिफको परिवार नै क्रिकेटमय छ । वीरगञ्जको नारायणी क्रिकेट रंगशाला नजिकै आरिफको घर छ । तराईतिर प्रायः धेरै क्रिकेट खेलिने भएकोले आरिफ पनि सुरुवातदेखि नै क्रिकेटमा आकर्षित भए । आरिफले स्कुलदेखि नै क्रिकेट खेल्न थालेका थिए । उनले स्कुलमा उत्कृष्ट प्रदर्शन गर्दा स्कलरसिप पाइने भनेपछि राम्रो प्रदर्शन गरे ।

त्यागेको इन्जिनियरिङ सपना

आरिफ मध्यक्रममा ब्याटिङ गर्छन् । सँगै पार्ट टाइम मिडियम पेस बलिङ पनि गर्छन् । स्कुलस्तरमै उत्कृष्ट प्रदर्शन गर्दै धेरै पुरस्कार पाए । अनि कलेजमा पनि क्रिकेटलाई निरन्तरता दिए । विद्या सदन सेकेन्डरी स्कुलबाट एसएलसी गरेपछि अध्ययनका लागि काठमाडौं आए । गोल्डेनगेटमा उनले प्लस टु अध्ययन गरे । त्यहाँ उनले स्कलरसिप पाएका थिए । त्यसपछि उनी नेपालको यू–१९ राष्ट्रिय टिममा पनि परे । नेपाल प्रिमियर लिगको पहिलो संस्करण गोल्डेनगेटबाट खेले ।

आरिफले यू–१९ एसिया कप र एसीसी यू–१९ प्रिमियर लिग पनि खेले । त्यसपछि भने उनी राष्ट्रिय टिममा बढुवा भए । सुरुमा परिवारको पहिलो प्राथमिकता पढाइ थियो । आरिफको चाहना पनि सिभिल इन्जिरियरिङ पढ्ने थियो । क्रिकेटसँग उनको नाता बढ्दै गयो । प्लस टु पढ्दापढ्दै उनी राष्ट्रिय टिममा गरेपछि क्रिकेटलाई नै सबथोक माने । नेपाली क्रिकेटमा देखेको सम्भावना अगाडि उनले अरू विधामा जाने अवसरलाई त्यागे ।

लोअर मिडल अर्डरमा ब्याटिङ गर्ने उनी चाहिएको बेला तेस्रो चौथो नम्बरमा पनि ब्याटिङ गरेका छन् । टिमको आवश्यकता अनुसार आरिफ जुनसुकै भूमिकामा पनि ब्याटिङ गर्न सक्छन् । राष्ट्रिय टिममा पुग्नुअघि आरिफले घरेलु राष्ट्रिय प्रतियोगितामा सानदार प्रदर्शन गरेका थिए । सन् २०१४ मा भएको वान डे राष्ट्रिय प्रतियोगितामा उनको  प्रदर्शन उत्कृष्ट रह्यो । फाइनलमा एपीएफलाई हराउने क्रममा आरिफ र अमित श्रेष्ठले १४७ रनको साझेदारी गरेका थिए ।

त्यही साझेदारीमा टिकेर वीरगंजले धेरैपछि उपाधि जितेको थियो । फाइनलमा आरिफले ७० रन बनाए । त्यो प्रतियोगितामा उनी ‘प्लेअर अफ दि सिरिज’ बने । प्रतियोगितामा उनले  २६१ रन बनाए । अनि ११ विकेट पनि लिएका थिए । त्यही प्रदर्शनपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे र राष्ट्रिय टिममा पनि स्थान बनाउन सफल भए ।

राष्ट्रिय टिममा प्रवेश

आरिफले यू–१९ लेभलमा खेल्दाखेल्दै राष्ट्रिय टिममा स्थान बनाएका थिए । उनले सन् २०१४ मा मलेसियामा भएको एसीसी प्रिमियर लिगमा डेब्यु गरे । हङकङ विरुद्ध डेब्यु खेलमै उनले दुई विकेट लिएका थिए । त्यसपछि अफगानिस्तान विरुद्ध पनि दुई विकेट लिए । आरिफले राष्ट्रिय टिमबाट लिस्ट ‘ए’ मा डेब्यु भने अर्को वर्ष गरे । सन् २०१५ मा नामिबियामा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–टु मा उनले घरेलु टोली नामिबिया विरुद्ध डेब्यु गरेका थिए ।

नेपालले तीन विकेटले जितेको त्यस खेलमा आरिफले बलिङ गरेनन् । ब्याटिङमा एक रनमै आउट भएका थिए । आरिफले सन् २०१८ मा नेपालले नेदरल्यान्ड्ससँग खेलेको पहिलो ऐतिहासिक ओडीआईमा डेब्यु गरेका थिए । यसरी ऐतिहासिक पहिलो वान डे खेल्ने टिमको एक सदस्य रहे । तर त्यो डेब्यु सम्झनलायक रहेन । उनी खाता नखोलेरै आउट भए । बलिङ पनि गरेनन् । त्यसअघि उनले जुलाईमा लर्डस्मा नेदरल्यान्ड्स विरुद्ध नै टी–२० आईमा डेब्यु गरे ।

वर्षाका कारण पहिलो इनिङ्समै खेल प्रभावित हुँदा पूरा हुन पाएन । सन् २०१९ मा टीयू मैदानमा एमसीसी विरुद्ध फस्ट क्लासमा डेब्यु गरे । उनले पहिलो इनिङ्समा १० र दोस्रो इनिङ्समा १९ रन बनाए । पारस खड्का र शरद भेषावकर जस्ता गोल्डेन जेनेरेसनका खेलाडीले खेल्न छाडेपछि आरिफ पछिल्लो समय नेपालको मिडल अर्डरमा भरपर्दा खेलाडी बन्दै आएका छन् । नेपालले सन् २०१८ मा डिभिजन–टु पार गर्दै विश्वकप छनोटबाट ओडीआई मान्यता पाएदेखि आरिफ पनि निरन्तर टिममा छन् ।

Read Full