+
एनपीएल फाइनल :

एनपीएल विजेतालाई करोडमाथिको पुरस्कार, कारदेखि बाइकसम्मको दाबेदार को-को?

२०८२ मंसिर  २७ गते ११:४३ २०८२ मंसिर २७ गते ११:४३

एनपीएलमा विजेता टिम र उपविजेता टिमले पाउने पुरस्कार राशी ठूलो छ अनि व्यक्तिगततर्फ उत्कृष्ट बन्ने खेलाडीहरुका लागि पनि राम्रै पुरस्कार छ ।

एनपीएल विजेतालाई करोडमाथिको पुरस्कार, कारदेखि बाइकसम्मको दाबेदार को-को?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोएल्स र लुम्बिनी लायन्सबीच नेपाल प्रिमियर लिग दोस्रो संस्करणको फाइनल खेल २७ मंसिर २०८२ मा टीयू अन्तर्राष्ट्रिय स्टेडियममा हुँदैछ।
  • एनपीएल विजेताले १ करोड १० लाख र उपविजेताले ५१ लाख पुरस्कार पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई कार र बाइक पुरस्कार प्रदान गरिनेछ।
  • दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, अविनाश बोहरा, रोहित पौडेल, शेर मल्ल र सन्दीप लामिछाने उत्कृष्ट खेलाडीको पुरस्कारका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

२७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित सुदूरपश्चिम रोएल्स र लुम्बिनी लायन्स फाइनल खेलमा मैदान उत्रनेछन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा दिउँसो ३:३० बजेदेखि सुरु हुनेछ ।

सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक फाइनल खेल्दैछ भने लुम्बिनी पहिलो पटक फाइनल पुगेको हो । पहिलो संस्करणमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित हुँदै उपविजेता बनेको थियो ।

लगातार दोस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम यस पटक जसरी भएपनि च्याम्पियन बन्दै उपाधि उचाल्ने लक्ष्यमा छ । अर्कोतर्फ कसैले नसोचेको लुम्बिनी पछिल्ला खेलमा लगातार जित निकाल्दै पहिलो पटक फाइनल पुगेको हो ।

आज जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउने पक्का छ ।

विजेताले कति पाउँछ पुरस्कार?

एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले एनपीएल ट्रफीसँगै करोडमाथिको पुरस्कार प्राप्त गरेको थियो । जनकपुरले च्याम्पियनसहित १ करोड १० लाख प्राप्त गर्दा उपविजेता सुदूरपश्चिमले ५१ लाख पाएको थियो ।

यस पटक पनि नेपाल प्रिमियर लिग विजेता र उपविजेताले पाउने पुरस्कार पहिलो संस्करणकै जति छ । सुदूरपश्चिम र लुम्बिनी जो च्याम्पियन बनेपनि १ करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५१ लाख हात पार्नेछ ।

यस्तै पहिलो संस्करणमा तेस्रो भएको टिमले २५ लाख र चौथो भएकोले १५ लाख प्राप्त गरेको थियो ।

यस पटक पनि तेस्रो भएको विराटनगर किंग्सले २५ लाख र चौथो भएको काठमान्डु गोर्खाजले १५ लाख पक्का गरेको छ ।

व्यक्तिगत पुरस्कार कारदेखि बाइकसम्म

एनपीएलमा विजेता टिम र उपविजेता टिमले पाउने पुरस्कार राशी ठूलो छ अनि व्यक्तिगततर्फ उत्कृष्ट बन्ने खेलाडीहरुका लागि पनि राम्रै पुरस्कार छ ।

लिगभर उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट नेपाली खेलाडी बन्ने एक जनाले ओमोडा कार पुरस्कार प्राप्त गर्नेछन् । पहिलो संस्करण सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाली खेलाडीमा उत्कृष्ट बन्दै कार पुरस्कार जितेका थिए ।

यस पटक कार पुरस्कारका लागि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीसँगै सोही टिमका ओपनर ब्याटर विनोद भण्डारी, बलर अविनाश बोहरा, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बलर शेर मल्ल अनि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने होडमा छन् ।

सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याउने क्रममा दीपेन्द्रले गज्जबको कप्तानी गरिरहेका छन् । उनले आवश्यक पर्दा ब्याटिङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा योगदान दिएका छन् ।

दीपेन्द्रले ८ खेलमा १५४ रन बनाउनुका साथै ८ विकेट लिएका छन् । उनले ८ खेलमै बलिङ समेत गरेका थिए । यस्तै फिल्डिङका राजा मानिने उनले १० क्याच गरेका छन् । यस्तै रनआउट उनै निकै चुस्त देखिएका छन् र डिरेक्ट हिट हानेपछटिको मसरसल्ट सेलेब्रेसन पनि गज्जबको छ । उनी सर्वाधिक क्याच लिनेमा दोस्रोमा छन् ।

यस्तै ब्याटिङमा विनोदले राम्रो सुरुवात दिलाएका छन् र सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा पनि छन् । विनोदले लिग चरणमा पोखरा एभेन्जर्सविरुद्ध अविजित ६९ रन बनाएका थिए भने विराटनगरविरुद्ध ६३ रन बनाएका थिए ।

बलिङतर्फ सुदूरको अट्याक मिडियम पेसर अविनाश बोहराले सम्हालिरहेका छन् । उनले १६ विकेट लिइसकेका छन् ।

यस्तै लुम्बिनीका कप्तान रोहित पौडेल पनि आफ्नो टिमलाई फाइनल पुर्‍याउँदै सर्वाधिक रन बनाउनेमा शीर्ष पाँचमै छन् । रोहितले अर्धशतक बनाउन नसकेपनि हरेक खेलमा टिमलाई योगदान गरिरहेका छन् । उनको उच्च स्कोर ४९ छ । रोहितले ४ खेलमा बलिङ समेत गर्दै ७ विकेट लिएका छन् यस्तै फिल्डिङमा ६ क्याच पनि लिएका छन् ।

लुम्बिनीका बलर शेर मल्ल १४ विकेटसहित सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन् । रुबेन ट्रम्पलम्यानसँगै नयाँ बल बलिङ गर्दै विपक्षीको विकेट लिन माहिर शेर मल्ल मिस्ट्री बलरको रुपमा चिनिन्छन् । यस पटक उनको बललाई रिड गर्न विपक्षी ब्याटरलाई समेत कठिन परिरहेको छ ।

यस्तै विराटनगरलाई फाइनल पुर्‍याउन नसकेपनि कप्तान सन्दीप लामिछानेले बलिङ अट्याकको नेतृत्व गर्दै सर्वाधिक विकेट लिने सूचीमा शीर्ष स्थानमा छन् । उनले ९ खेलबाट १७ विकेट लिएका छन् ।

लिग चरणको प्रदर्शन हेर्दा सन्दीप अघि रहेपनि टिमलाई फाइनल पुर्‍याउन नसक्दा उनको दाबेदारी केही कम बन्न सक्छ ।

लिगमा गरेको प्रदर्शन, टिमको जितमा गरेको योगदान, प्लेअर अफ दि म्याच अवार्ड लगायत विभिन्न पक्षमा उत्कृष्ट खेलाडीको पुरस्कार निर्धारण गरिनेछ ।

बाइकको होडमा को अगाडि?

यस पटक नेपाल क्रिकेट संघ (क्यान) ले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई मोटरबाइक प्रदान गर्नेछ । क्यानले गोल्छा ग्रुपसँग उत्कृष्ट खेलाडीलाई बाइक प्रदान गर्न सम्झौता गरेको थियो ।

एनपीएल दोस्रो संस्करणको बेस्ट ब्याटर, बेस्ट बलर र बेस्ट राइजिङ प्लेअर एक-एक थान पल्सर मवटरबाइक प्राप्त गर्नेछन् । कारको होडमै रहेका खेलाडीहरु नै विधागत उत्कृष्टको होडमा पनि अगाडि छन् ।

ब्याटिङमा लिग चरणमा विदेशी खेलाडीहरु हावी बनेका थिए । तर उनीहरु सम्मिलित टिम लिग चरणबाट बाहिरिएपछि अहिले नेपाली खेलाडीहरु पनि सर्वाधिक रन बनाउनेमा अगाडि आइरहेका छन् ।

सर्वाधिक रन बनाउनेमा पोखरा एभेन्जर्सका इंग्लिस विकेटकिपर एडम रोसिङटन शीर्ष स्थानमा छन् । उनले ७ खेलमा १ शतक र २ अर्धशकसहित सर्वाधिक ३२३ रन बनाएका छन् ।

उनलाई पछ्याउनेमा सुदूरशका विनोद भण्डारी र रोहित पौडेल छन् । विनोदले दुई अर्धशतहसित २६४ रन बनाएका छन् भने रोहितले २६० रन बनाएका छन् ।

यस्तै कर्णाली याक्समा मार्क वाटले एक शतकसहित २४६ रन बनाएर चौथो स्थानमा छ । लुम्बिनीका ओपनर डार्शी सर्ट एक अर्धशतसहित २४२ रन बनाएर पाँचौ स्थानमा छन्  ।

यसैगरी बेस्ट बलरतर्फ बाइकको होडमा सन्दीप लामिछाने अगाडि छन् । उनले ९ खेलमा १७ विकेट लिएका छन् । यस्तै सुदूरका अविनाशले १६ विकेट लिएका छन् । लुम्बिनीका शेर मल्ल १४ विकेटसहित तेस्रो स्थानमा छन् ।

एलिमिनेटरबाट बाहिरिएको काठमान्डु गोर्खाजका कप्तान करण केसी र शाहब आलमले समान १३ विकेट लिएका थिए । सुदूरपश्चिमका हर्मित सिंह र लुम्बिनीका रुबेन ट्रम्पलम्यानले समान १२ विकेट लिएका छन् ।

यस्तै इमर्जिङ प्लेअरले पनि यस पटक पल्सर बाइक पुरस्कार पाउनेछन् । फाइनलसम्म आइपुग्दा यो अवार्डका लागि लुम्बिनीका शेर मल्ल नै दाबेदारको रुपमा छन् । राष्ट्रिय टिममा परेपनि डेब्यु गर्न बाँकी उनले नेपालको यू-१९ र नेपाल ए टिमबाट पनि खेलिसकेका छन् ।

यस्तै लुम्बिनीकै स्पीनर द्वय अभिशेष गौतम र तिलक राज भण्डारीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । अभिशेषले ९ खेलमा ७ र तिलकले ७ खेलमा ६ विकेट लिएका छन् ।

पहिलो संस्करणमा कर्णालीका विपिन प्रसाद शर्माले ट्यालेन्ट हन्टबा६ आएर उत्कृष्ट प्रदर्शन गर्दै इमर्जिङ प्लेअरको अवार्ड जितेका थिए । तर यस पटक उनको प्रदर्शन अपेक्षा अनुसार रहेन ।

यस पटक विराटनगरका सुभाष भण्डारी, काठमान्ठुका सन्तोष यादव र आकाश त्रिपाठी जस्ता खेलाडीले पनि एनपीएलमा अवसर पाएका थिए । सुभाष भण्डारीले ३ खेल मात्र खेल्दा ५ विकेट लिएका थिए । यू१९ टिमबाट खेलिसकेका आकाशले ब्याटिङमा ८ खेलमा ११८ रन बनाएका थिए ।

अविनाश बोहरा एनपीएल दीपेन्द्र सिंह ऐरी रोहित पौडेल विनोद भण्डारी शेर मल्ल सन्दीप लामिछाने
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय