News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच २७ मंसिर त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजे नेपाल प्रिमियर लिगको फाइनल खेल हुनेछ।
- सुदूरपश्चिम दोस्रो पटक फाइनल पुगेको हो भने लुम्बिनी पहिलोपटक प्लेअफबाट फाइनलसम्मको यात्रा तय गरेको छ।
- नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको उपाधि भिडन्तका रूपमा यो खेल हेरिएको छ।
२७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् ।
फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ ।
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको छ ।
पहिलो संस्करणमा फाइनल पुगेपनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । जनकपुर भने यसपटक लिग चरणबाटै बाहिरिसकेको छ ।
यसपटक पनि लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगिसकेको छ । दोस्रो प्रयासमा सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यमा छ ।

अर्कोतर्फ लुम्बिनीले यस सिजन उतारचढाव बेहोर्दै फाइनलसम्मको यात्रा तय गरेको छ । पछिल्ला खेलहरुमा लुम्बिनीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेको छ र त्यो लयलाई फाइनलमा पनि निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको उपाधि भिडन्तका रूपमा पनि हेरिएको छ । सुदूर दीपेन्द्रको कप्तानीमा छ भने लुम्बिनी रोहितको कप्तानीमा छ । दुवै आफ्नो टोलीलाई उपाधि जिताउने लक्ष्यमा छन् ।
यस्तो छ लय

लिग चरणमा लगातार ६ खेल जितेर शीर्षस्थानमा फिनिस गर्ने पक्का गरेको सुदूरपश्चिम लिगको अन्तिम खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो । त्यसपछि फेरि पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई नै पराजित गर्यो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवम् अलराउन्डर दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ ।
लिगको अन्तिम खेल मात्र एकपक्षीय रूपमा गुमाउँदा बाँकी खेलमा प्रभावशाली प्रदर्शन गरेको छ र अब फाइनलमा पनि त्यही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
सुदूरपश्चिमका लागि नेपाली र विदेशी खेलाडी दुवैबाट अपेक्षित प्रदर्शन भइरहेको छ । त्यही कारण सन्तुलित देखिएको सुदूरपश्चिम लिग चरणबाटै उपाधिको दाबेदार टोलीमा रूपमा हेरिएको छ ।
अर्कोतर्फ लुम्बिनीको लयमा भने उतारचढाव देखिएको थियो । लिग चरणमा सुरुवाती खेल जितेर त्यसपछि लगातार तीन हार बेहोरेको लुम्बिनीले अन्तिमका तीन खेल फेरि जितेर प्लेअफमा स्थान बनाएको थियो ।
कुनै समय एक हारले पनि प्रतियोगिताबाट बाहिरिने अवस्थामा रहेको लुम्बिनीले शानदार पुनरागमन गर्दै इलिमिनेटरमा काठमान्डुलाई ४ विकेटले अनि २४ घण्टाभित्रै भएको दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै फाइनलमा पुग्यो ।
लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको छ ।
मध्यक्रमको ब्याटिङमा अझै सुधारको अपेक्षा राख्न सकिन्छ । यस्तो भएमा लुम्बिनीको ब्याटिङ अझ बलियो देखिनेछ ।

हेड टू हेड
एनपीएलका दुवै संस्करणमा गरेर सुदूरपश्चिम र लुम्बिनी २ पटक आमनेसामने भएका छन् । दुवै खेलमा सुदूरपश्चिमले बाजी मारेको छ ।
गत संस्करण भएको खेलमा सुदूरले लुम्बिनीमाथि ४२ रनको जित हासिल गरेको थियो । सुदूरले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा १४५ रन मात्र बनाएको थियो ।
यस्तै यस संस्करणको खेलमा सुदूरपश्चिमले ७ विकेटको सहज जित हासिल गर्यो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेटको क्षतिमा १९औं ओभरको दोस्रो बलमा पूरा गरेको थियो ।

प्रभाव पार्न सक्ने खेलाडी
सुदूरपश्चिमका लागि ब्याटिङमा विनोद भण्डारी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको भूमिका महत्वपूर्ण हुनेछ । तीनजना खेलाडीले धेरै रन बनाएका छन् । विनोदले ८ खेलमा २६४ रन, आरिफ शेखले १८० रन तथा दीपेन्द्रले १४९ रन बनाएका छन् ।
बलिङमा अविनाश बोहरा, स्कट कुग्लेइन र हर्मीत सिंह प्रभावकारी हुनेछन् । अविनाशले १६ विकेट लिएका छन् भने हर्मीतले १२ अनि कुग्लेइनले १० विकेट लिएका छन् ।
यता लुम्बिनीका लागि ब्याटिङमा रोहित पौडेल, डार्शी शर्ट र निरोशन डिक्वेलाको प्रदर्शनले महत्व राख्नेछ । रोहितले ९ खेलमा २६० रन बनाएका छन् । उनलाई अस्ट्रेलियन डार्शी शर्टले साथ दिइरहेका छन् जसले २४२ रन बनाएका छन् । निरोशन डिक्वेलाले ५ खेलमा १२६ रन बनाएका छन् । लुम्बिनीका लागि ब्याटिङमा सबैबाट केही योगदान भइरहेको छ ।
बलिङमा शानदार लयमा रहेका शेर मल्ल र रुबेन ट्रम्पलमन घातक साबित हुन सक्छन् । शेर मल्लले ९ खेलमा १४ विकेट तथा ट्रम्पलमनले १२ विकेट लिएका छन् । शेर प्रतियोगिताकै तेस्रो सर्वाधिक विकेट टेकर हुन् । यी दुईले मिलेर विपक्षीलाई सुरुवातदेखि नै समस्यामा पार्दै आएका छन् ।

खेल : सुदूरपश्चिम रोयल्स भर्सेस् लुम्बिनी लायन्स (फाइनल)
समय : दिउँसो ३:३० बजे
मौसम : सफा, बेलुका डिउको सम्भावना
सम्भावित ११
सुदूरपश्चिम रोयल्स : विनोद भण्डारी, मुख्तार अहमद/पुनीत मेहरा, शेल्डन ज्याक्सन, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हर्मीत सिंह, स्कट कुग्लेइन, अविनाश बोहरा, हेमन्त धामी, मिलन बोहरा
लुम्बिनी लायन्स : डार्शी शर्ट, दिनेश अधिकारी, रोहित पौडेल, दिलिप नाथ, निरोशन डिक्वेला, जेजे स्मिथ, सन्दीप जोरा, शेर मल्ल, रुबेन ट्रम्पलमन, अभिशेष गौतम, तिलकराज भण्डारी
प्रतिक्रिया 4