News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेट २०२५ को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
- शेर मल्लले ३ विकेट लिएर प्लेयर अफ द म्याच घोषित भए र लुम्बिनीका लागि सर्वाधिक १३ विकेटसहित एनपीएलकै तेस्रो सर्वाधिक विकेटधारी बनेका छन्।
- काठमान्डुको पहिलोपटक प्लेअफ यात्रा इलिमिनेटरमै समाप्त भएको छ र प्रशिक्षक मोन्टी देशाईले १४० रनसम्मको योगफल पर्याप्त हुन सक्ने बताए।
२४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा लगातार जितको लयलाई कायमै राख्दै लुम्बिनी लायन्स फाइनलको नजिक पुगेको छ । बुधबार भएको इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजको दबदबा अनि चुनौती समाप्त पार्दै लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
यसअघि भएका दुवै भेटमा काठमान्डुले लुम्बिनीमाथि जित हासिल गरेको थियो । काठमान्डुले त्यो दबदबा कायमै राख्ने सोचका साथ मैदान उत्रँदा लुम्बिनीले भने बदला लिँदै काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाएको हो ।
गत संस्करणको लिग चरण तथा यस संस्करणको लिग चरणमा भएका खेलमा काठमान्डुले नै बाजी मारेको थियो । यसपटक भने लुम्बिनी विजयी भयो । टस जितेर पहिले ब्याटिङ नै रोजेको काठमान्डुलाई १११ रनमै अलआउट गरेर लुम्बिनीले संयमित ढंगले लक्ष्य पूरा गर्यो ।

लुम्बिनीको जितमा पछिल्लो समय महत्वपूर्ण प्रदर्शन गर्दै आएका शेर मल्लले आजपनि शानदार प्रदर्शन गरे । यस्तोमा लुम्बिनीले लगातार चौथो जितका साथ अब फाइनलतर्फ थप एक कदम अघि बढाएको छ, तर फाइनल पुग्नका लागि अब एउटा महत्वपूर्ण खुड्किलो भने बाँकी नै छ ।
लुम्बिनीले अब फाइनल प्रवेशका लागि बिहीबार विराटनगर किङ्सको सामना गर्नेछ । विराटनगर मंगलबार सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि फाइनल प्रवेशका लागि दोस्रो मौका पाएको थियो ।
चम्किँदै शेर मल्ल
लुम्बिनी लायन्सका लागि यस संस्करण ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीको प्रदर्शन अग्रणी भूमिकामा देखिएको छ । निरन्तर राम्रो प्रदर्शन गर्दै आइरहेका स्पीनर शेर मल्लले बुधबार पनि उक्त लयलाई निरन्तरता दिए ।
यस संस्करणका लागि अक्सनबाट लुम्बिनी लायन्समा अनुबन्ध भएका शेर लुम्बिनीका लागि ‘एक्स फ्याक्टर प्लेयर’का रूपमा देखिएका छन् ।
पछिल्ला खेलहरूमा लुम्बिनीको जितमा विपक्षीका टप अर्डर ब्याटरलाई दु:ख दिँदै आइरहेका शेरले आजपनि सोही काम गरे । विदेशी खेलाडीमा बढी भर परेको काठमान्डुको ब्याटिङ ध्वस्त पार्नमा भूमिका खेले ।
खेलको दोस्रो ओभर बलिङ गर्न आएका शेरले पहिलो बलमै आकाश त्रिपाठीलाई आउट गरे भने आफ्नो दोस्रो ओभरमा मिलिन्द कुमारलाई पनि आउट गरे । अर्कोतर्फ रुबेन ट्रम्पलमनले पनि दुई विदेशी ब्याटर सन्नी पटेल र बेन चार्ल्सवर्थलाई आउट गरेपछि काठमान्डु खेलमा पछाडि परिसकेको थियो ।

१०औं ओभरमा कप्तान रोहित पौडेलले भीम सार्की र राशिद खानलाई पनि आउट गरेपछि काठमान्डु ५१-६ को दयनीय अवस्थामा पुगेको थियो । आदिल आलमले केही ठूला शटहरू खेलेपनि उनलाई शेर मल्लले १४औं ओभरमा बोल्ड गरिदिए ।
सुरुवातदेखि नै निरन्तर विकेट गुमाएको काठमान्डु त्यसपछि कुनैपनि समय खेलमा फर्कन सकेन । ३ विकेट लिएका शेर मल्ल प्लेयर अफ द म्याच पनि घोषित भए ।
८ खेलमा विकेट संख्या १३ पुर्याएका शेर मल्ल लुम्बिनीका लागि सर्वाधिक विकेट लिने बलर हुन् भने एनपीएलकै सर्वाधिक विकेट लिने सूचीमा पनि तेस्रो स्थानमा छन् ।
कप्तान रोहित पौडेलले शेर मल्लको भूमिका धेरै महत्वपूर्ण भएको बताए । ‘शेर मल्ल एकदम महत्वपूर्ण भूमिकामा छन् । जतिबेला बलिङ दिएपनि विकेट निकालेर दिइरहेका छन् क्रुसियल समयमा’ उनले भने, ‘टिमले जित्नका लागि विकेट महत्वपूर्ण हुन्छ, उनले प्रदर्शन पनि गरिरहेका छन् । उनको भविष्य पनि उज्ज्वल देखिएको छ।’
लगातार जितको लयमा लुम्बिनी
लुम्बिनी लायन्सले सुरुवाती खेल जितेपछि लगातार ३ खेलमा पराजित भएर कठिन अवस्थामा पुगेको थियो । त्यसपछि चुनौतीका बीच लुम्बिनीले शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भएको थियो ।
त्यो लयलाई लुम्बिनीले प्लेअफमा पनि कायमै राखेको छ र पहिलो क्वालिफायरमा काठमान्डु गोर्खाजलाई हराउन सफल भयो ।
लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको देखिएको छ ।

शेर मल्ललाई बलिङमा रुबेन ट्रम्पलमन र कप्तान रोहित पौडेलबाट पनि साथ मिलिरहेको छ । ब्याटिङमा पनि सबैबाट सानो-सानो योगदान भइरहँदा लुम्बिनी जितको लय कायमै राख्न सफल भइरहेको छ ।
यही लय लिएर लुम्बिनीले अब २४ घण्टाभित्रै अर्को महत्वपूर्ण खेल खेल्दै छ । कप्तान रोहित पौडेलले हरेक खेल नकआउट जसरी नै खेल्दै आएको र यस खेललाई पनि त्यसरी नै लिने बताएका छन् ।
‘भोलिको खेल दुवैलाई नकआउट हो, प्रेसर दुवैलाई बराबर हुन्छ । दुवै टोलीमा राम्रा खेलाडी छन् । जसले प्रेसर ह्यान्डल गर्न सक्छ त्यही टोलीले जित्न सक्छ’ उनले भने, ‘हाम्रा लागि ४ वटै खेल नकआउटजस्तै थिए, हारेपछि बाहिरिने खालको थियो। अब बाँकी खेल पनि त्यस्तै हुन्, भोलिको खेल महत्वपूर्ण हुनेछ।’
काठमान्डुको यात्रा समाप्त
पहिलोपटक प्लेअफमा पुगेको काठमान्डुको यात्रा भने इलिमिनेटरबाटै समाप्त भएको छ । लिग चरणमा पनि उतारचढावको यात्रासहित प्लेअफमा पुगेको काठमान्डुले जितको लयलाई निरन्तरता दिन सकेन ।
प्रशिक्षक मोन्टी देशाईले १४० रनसम्मको योगफल जितका लागि पर्याप्त हुन सक्ने बताए । ‘१३०-१४० सम्मको स्कोर पार स्कोर हुने अनुमान गरेका थियौं तर मिस गर्यौं हामीले । पावरप्ले राम्रो हुन सकेन । उनीहरूले राम्रो बलिङ गरे अनि हाम्रा ब्याटरहरूले साझेदारी बनाउन पनि सकेनन्’ मोन्टीले भने ।
विदेशी खेलाडीमा बढी निर्भर रहेको काठमान्डुका लागि महत्वपूर्ण खेलमा विदेशी खेलाडी नचल्दा नेपाली खेलाडीहरू पनि स्टेप अप गर्न सकेनन् ।

प्रतिक्रिया 4