+

चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, पक्का गरे ७५ हजार डलर पुरस्कार

२०८२ मंसिर  २४ गते २२:५७ २०८२ मंसिर २४ गते २२:५७
चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, पक्का गरे ७५ हजार डलर पुरस्कार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बक्सर चन्द्र थापा मगरले आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्दै कम्तीमा कांस्य पदक पक्का गरेका छन् ।
  • चन्द्रले ५४ केजी तौल समूहमा इरानी खेलाडी मेहदी काजेमीलाई ५-० ले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् ।
  • सेमिफाइनलमा चन्द्रले काजकिस्तानका साकेन बिबोसिनोभसँग प्रतिस्पर्धा गर्नेछन् र फाइनल पुगेमा १ लाख ५० हजार डलर पुरस्कार पाउनेछन् ।

२४ मंसिर, काठमाडौं । नेपाली बक्सर चन्द्र थापा मगरले आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्दै इतिहास रचेका छन् ।

युएईको दुबईमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिपमा उनले सेमिफाइनल पुग्दै कम्तीमा कांस्य पदक पक्का गरेका छन् भने ७५ हजार अमेरिकी डलर पनि पाउने पक्का भएको छ ।

नेपाल पुलिस क्लबका चन्द्रले बुधबार ५४ केजी तौल समूह (बान्टमवेइट)मा इरानी खेलाडी मेहदी काजेमीलाई युनानिमस डिसिजनका आधारमा ५-० ले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् ।

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका खेलाडीले जित्न लागेको यो पहिलो पदक समेत हो ।

चन्द्रको यो ऐतिहासिक उपलब्धीका कारण नेपाली बक्सिङ फेरि एक पटक अन्तर्राष्ट्रिय बक्सिङमा चर्चा आएको छ ।

सेमिफाइनल पुगेपछि चन्द्रले अनलाइनखबरसँग छोटो प्रतिक्रिया दिँदै एकदमै खुशी लागेको बताए । ‘धेरै खुशी लागेको छ आफ्नो देशलाई चिनाउन पाउँदा । गर्व महसुस गर्दैछु।’

चन्द्रले पहिलो खेलमा इन्डोनेसियाका खेलाडी योसुअ होली मासिहोरलाई पराजित गरेका थिए । यस्तै क्वाटरफाइनलमा उनले अर्मेनियाका खेलाडी डाभिट योगोर्‍यानलाई हराएका थिए ।

चन्द्रले अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा काजकिस्तानका खेलाडी साकेन बिबोसिनोभसँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल जितेर फाइनल पुगेमा नगद पुरस्कार राशीमा दोब्बर (१ लाख ५० हजार डलर) पाउनेछन् ।

यस पटक आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जित्नेले नगद ३ लाख डलर, रजत जित्नेले १ लाख ५० हजार डलर र कांस्य जित्नेका लागि ७५ हजार डलर दिने प्रावधान छ ।

यस्तै पाँचौ स्थानमा हात पार्ने बक्सरले समेत नगद १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

इन्टरनेशनल बक्ङ एसोसिएन (आईबीए) का अनुसार स्वर्ण जित्नेले नगद ३ लाख डलर प्राप्त गर्दा ५० प्रतिशत सिधै खेलाडीको लागि छुट्याइने र २५ प्रतिशत खेलाडीको ट्रेनर अनी २५ प्रतिशत राष्ट्रिय डेलेगेसनलाई छुट्याइनेछ ।

प्रतियोगिताको कुल पुरस्कार राशी ८.३२ मिलियन अमेरिकी डलर रहेको छ ।

नेपालका अर्का खेलाडी लाल बहादुर उप्रेती भने क्वाटरफाइनलमा पराजित भएका छन् । उनी ४८ केजी तौल समूहमा काजकिस्तानका तेमिरतास जुसुपोभासँग ५-० ले पराजित भएपनि सेमिफाइनल पुग्न असफल भए । क्वाटरफाइनलमा पराजित भएपनि लालप्रसादले नगद १० हजार डलर पुरस्कार पक्का गरेका छन् ।

यसपटक आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालबाट चन्द्र र लाल प्रसादसहित ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

आईबीए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिप चन्द्र बहादुर थापा
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय