+
एनपीएल २०२५ :

लुम्बिनी लायन्सको उडान

२०८२ मंसिर  २५ गते २३:२७ २०८२ मंसिर २५ गते २३:२७

लुम्बिनी लायन्स टिमले लिगमा पूछारमा रहँदै पहिलो सिजन सकाएको थियो । दोस्रो सिजनमा भने रोहितकै नेतृत्वमा लुम्बिनी लायन्सले फाइनसम्मको उडान तय गरेको छ ।

लुम्बिनी लायन्सको उडान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा फाइनलमा स्थान बनाएको छ र अब उपाधि जित्न एक खेल मात्र बाँकी छ।
  • लुम्बिनीले क्वालिफायर टु मा विराटनगर किंग्सलाई ४० रनले हराउँदै फाइनल भेट पक्का गरेको छ भने सुदूरपश्चिम रोएल्सले पहिलो क्वालिफायर जितेर फाइनल पुगेको छ।
  • लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै १३४ रनको स्कोर डिफेन्ड गरेका थिए र तिलक राज भण्डारी प्लेअर अफ द म्याच घोषित भएका थिए।

२५ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्सका लागि नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन सम्झनलायक रहेको थिएन ।

लुम्बिनी लायन्स टिमले लिगमा पूछारमा रहँदै पहिलो सिजन सकाएको थियो । दोस्रो सिजनमा भने रोहितकै नेतृत्वमा लुम्बिनी लायन्सले फाइनसम्मको उडान तय गरेको छ । अब एक खेल जितेमा उपाधि नै जित्नेछ ।

पहिलो सिजन च्याम्पियन बनेको जनकपुर दोस्रो सिजन लिग चरणमा पूछारमा रह्यो । बोल्ट्सले जम्मा एक खेल मात्र जित्यो । दोस्रो सिजन बोल्ट्सले उल्टो यात्रा तय गर्‍दा लुम्बिनीले पनि फरक खालको यात्रा तय गरिरहेको छ । तर पहिलो सिजनको अन्तिम स्थानमा रहेको लुम्बिनीले यस सिजन भने गज्जबको यात्रा तय गर्दै फाइनल पुगेको छ ।

लिग चरणमा चौथो स्थानमा रहेको लुम्बिनीले एलिमिनेटर र क्वालिफायर २ जित्दै फाइनलमा स्थान बनाएको हो ।

बिहीबार भएको क्वालिफायर टु मा लुम्बिनीले सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ४० रनले हराउँदै सुदूरपश्चिम रोएल्ससँग फाइनल भेट पक्का गरेको छ । सुदूरपश्चिमले पनि पहिलो क्वालिफायरमा विराटनगरलाई नै पराजित गरेको थियो । विराटनगर भने दुई क्वालिफायर खेल्ने अवसर पाएपनि दुवैमा पराजित हुँदै अभागी रहेर फाइनल होडबाट बाहिरियो ।

लिग चरणमा पनि सुरुवाती तीन खेल जित्दा लयमा देखिएको विराटनगरले त्यसपछि भने लयलाई निरन्तरता दिन सकेन । जितको यात्रामा ब्रेक लागेपछि विराटनगरको प्रदर्शनमा उतारचढाव देखियो ।

लिगको अन्तिम खेलमा सुदूरपश्चिम विरुद्ध विष्फोटक ब्याटिङ गरेर १२ ओभरमै जित हात पारेपनि प्लेअफका पछिल्ला दुई खेलमा भने विराटनगरको ब्याटिङ जादु देखिएन । सुदूरपश्चिम विरुद्ध १५६ रनको लक्ष्य पछ्याउँदा ७८ रनमै अलआउट (१४.१ ओभर) भएको विराटनगर लुम्बिनी विरुद्ध पनि १३ बल बाँकी छँदै ९४ रनमा अलआउट भयो ।

लिगमा चौथो भएको लुम्बिनीले लिगमा तेस्रो भएको काठमान्डु लायन्सलाई एलिमनेटरमा र लिगमा दोस्रो भएको विराटनगरलाई क्वालिफायर टु मा पराजित गर्दै पछि पारिसकेको छ । अब एउटा अन्तिम खेलको रूपमा सुदूरपश्चिमसँग फाइनल खेल्न बाँकी छ ।

लुम्बिनीले लिग चरणमा खेलेका ७ मध्ये ४ खेल जित्दा तीन खेलमा पराजित भएको थियो । त्यसमध्ये काठमान्डुसँग एलिमिनेटरमा बदला लिइसकेको छ । यसबाहेक लिगमा लुम्बिनी कर्णाली याक्स र सुदूरपश्चिम रोएल्ससँग पराजित भएको थियो । कर्णाली लिग चरणबाटै बाहिरिसकेको छ भने सुदूरपश्चिम लिगमा शीर्ष स्थानमा थियो र पहिलो क्वालिफायर जित्दै फाइनल पनि पुगिसकेको छ । अब सुदूरपश्चिमसँग पनि बदला लिने अवसर लुम्बिनीलाई छ ।

लुम्बिनीले यस सिजन भने विराटनगरविरुद्ध खेलेको दुवै खेल जित्यो । लिग चरणमा विराटनगरलाई ५ विकेटले हराएको लुम्बिनीले क्वालिफायरमा भने उत्कृष्ट बलिङ गर्दै १३४ रनको स्कोर डिफेण्ड गरेको हो ।

फाइनलसम्मको यात्रा तय गर्ने क्रममा लुम्बिनीले लगातार पाँच खेल जितेको छ । पहिलो खेलमा चितवन राइनोजलाई हराएर सानदार सुरुवात गरेपनि त्यसपछि लुम्बिनी लगातार तीन खेलमा पराजित भयो ।

कुनै बेला लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले त्यसपछि भने सानदार कमब्याक गर्दै लगातार खेल जितेको छ । लिग चरणमा पोखरा एभेनेजर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सलाई लगातार पराजित गरेपछि ८ अंक जोड्दै प्लेअफ पुगेको लुम्बिनीको जित यात्रा अझै रोकिएको छैन ।

एलिमिनेटरमा काठमान्डुलाई ४ विकेटले हराएको लुम्बिनीले क्वालिफायर टु मा विराटनगरलाई ४० रनले हरायो । यस सिजन सुदूरपश्चिमपछि लगातार पाँच खेल्ने जित्ने लुम्बिनी दोस्रो टिम समेत बनेको छ । सुदूरपश्चिमले लिगमा लगातार ६ खेल जितेको थियो । तर लिगको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्ससँग पराजित भएपछि जितको यात्रामा ब्रेक लागेको थियो ।

लुम्बिनी लायन्सका ओपनर डार्शी शर्टले हरेक खेल फाइनल जस्तै रहेको र अब अन्तिम खेल पनि जित्ने आशा राखेका छन् । ‘हामीले हरेक खेल जित्नुपर्ने थियो र खेलाडीले राम्रो खेले । आशा छ अब एक खेल पनि जित्छौं’ उनले भने ।

डार्शी शर्टले विराटनगर विरुद्ध २० रन जति कम भएपनि बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा जित सम्भव भएको बताए । ‘इमानदार भएर भन्दा २० रन सर्ट थियौँ तर बलिङ राम्रो गर्‍यौँ । क्रेडिट ब्वाइजलाई जान्छ । उनीहरुले चाँडै विकेट लिए’ अष्ट्रेलियन ब्याटर शर्टले पोष्ट म्याच कन्फेरेन्समा भने ।

बिग बास लिग (बीबीएल) मा दुई पटक सर्वाधिक रन बनाउने खेलाडी रहेका शर्टले एनपीएलमा पनि लुम्बिनी लायन्सका लागि पछिल्ला खेलहरुमा महत्वपूर्ण योगदान दिइरहेका छन् । उनी ९ खेलमा २४२ रन बनाउँदै सर्वाधिक रन बनाउनेमा पाँचौ स्थानमा समेत उक्लेका छन् ।

उता विराटनगरका मुख्य प्रशिक्षक धम्मिका प्रसादले भने एक सय रन पनि नबन्दा केही समस्या भएको बताए । ‘जसरी हाम्रो ब्याटिङ लाइनअप थियो त्यो हेर्दा १०० रन पनि नबन्नु पक्कै केही समस्या छ ।’ धम्मिकाले पोष्ट म्याच कन्फेरेन्समा भने ।

दमदार बलिङ प्रदर्शन

लुम्बिनीले यस संस्करणमा पहिले ब्याटिङ गर्दा कुनैपनि खेल जितेको थिएन । योगफल खडा गरेर डिफेन्ड गर्दै जितेको यो पहिलो खेल थियो । यस जितमा बलरहरू फेरि नायक बने ।

शेर मल्लको मिस्ट्री स्पीन र रुबेन ट्रम्पलमनको बाँयाहाते पेस बलिङले संयुक्त रूपमा विपक्षीको टप अर्डर ध्वस्त पार्दै आएका थिए । आज त्यसमा लेगस्पीनर तिलक राज भण्डारी अनि बाँयाहाते स्पीनर अभिशेष गौतमको पनि साथ रह्‍यो ।

१३४ रनको योगफल डिफेन्ड गर्ने क्रममा लुम्बिनीले सुरवातदेखि नै विराटनगरलाई दबाबमा राख्यो । खेलको पहिलो ओभरमै ट्रम्पलमनले मार्टिन गप्टिललाई आउट गरे भने लगत्तै अर्को बलमा लोकेश बमलाई पनि एलबीडब्लु धरापमा पारे ।

त्यसपछि शेर मल्लले ठूलो सफलता हात पार्ने क्रममा फाफ डुप्लेसीलाई बोल्ड गरिदिए । शेरको स्पीनलाई फाफले रिड गर्नै सकेनन् । विराटनगर २ ओभरमा ७-३ को अवस्थामा पुगिसकेको थियो । त्यहाँबाट विराटनगरले पुनरागमन गर्नै सकेन ।

मध्यक्रमका ब्याटरहरूले जिम्मेवारी लिएर ब्याटिङ गर्नुपर्नेमा खराब शटहरू खेलेर विकेट गुमाइरहे, लुम्बिनीले त्यो मोमेन्टम लिइरह्‍यो ।

पावरप्ले सकिएपछि सातौं ओभरमा तिलकले शंकर रानालाई आउट गरे । १०औं ओभरको अन्तिम बलमा जेजे स्मिथले सेट ब्याटर साम हिजलेटलाई आउट गरेपछि विराटनगर ५८-५ को अवस्थामा थियो ।

रनरेटमा धेरै पछाडि नभएपनि विराटनगरले विकेट नै धेरै गुमाइसकेको थियो । १२औं ओभरमा तिलकले बसिर अहमदलाई पनि आउट गरे  भने १३औं ओभरमा बाँयाहाते स्पीनर अभिशेष गौतमले सन्दीप लामिछानेको विकेट लिएपछि विराटनगरले खेलमा नियन्त्रण गुमाइसकेको थियो ।

१५औं ओभरमा अभिशेषले मर्चेन्ट डे लाङ अनि १६औं ओभरमा तिलकले प्रतिशलाई आएट गरे । १८औं ओभरमा नरेन भट्टलाई जेजे स्मिथले आउट गरेपछि विराटनगर ९४ रनमै अलआउट भयो अनि लुम्बिनीले दमदार जित हासिल गर्‍यो ।

३ विकेट लिएका तिलक प्लेअर अफ द म्याच घोषित भए ।

शर्ट र रोहितको साझेदारी

टस हारेपछि ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा १३४ रन जोडेको थियो । त्यसका लागि ८ विकेट गुमायो ।

लुम्बिनीको ब्याटिङमा विशेषगरी ओपनर डार्शी शर्ट र कप्तान रोहित पौडेलको साझेदारी महत्वपूर्ण रह्यो । ८ रनमै पहिलो विकेट गुमाएपछि शर्ट र रोहितले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए ।

ओपनर शर्टले ४१ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ४५ रन बनाए । रोहितले ३० बल खेल्दै २ चौका र २ छक्का प्रहार गरी ३४ रन योगदान गरे । श्रीलंकन विकेटकिपर ब्याटर निरोशन डिकवेलाले २२ बलमा ४ चौका प्रहार गरी २९ रन योगदान गरे ।

डिकवेलाको आगमनपछि लुम्बिनीको मिडल अर्डर सम्हाल्ने काम गरेका छन् । अर्को छेउबाट विकेट जाँदा पनि डिकवेलाले आफ्नो अनुभव देखाएका छन् । ठूलो स्कोर नगरेपनि उनको अनुभव लुम्बिनीका लागि सहयोगी बनेको छ ।

विराटनगरका बलरहरुले पनि उत्कृष्ट पुनरागमन गर्दा लुम्बिनीले पछिल्ला १० ओभरमा सुरुवाती १० ओभर जस्तो रन जोड्न सकेन । पहिलो १० ओभरमा ६९/१ रन बनाएको लुम्बिनीले त्यसपछिको १० ओभरमा ६५/७ रन मात्र जोड्न सक्यो ।

विराटनगरका सुभाष भण्डारीले किफायती बलिङ सहित ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जिसीले पनि ३ विकेट लिने क्रममा ४ ओभरमा २५ रन खर्चे । यस्तै कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

नयाँ च्याम्पियन पाउने पक्का

सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलो पटक फाइनल पुगेको हो ।

अब यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ । पहिलो संस्करणमा फाइनल पुगेपनि सुदूरपश्चिम रोएल्स जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

यस पटक लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर फाइनल पुगिसकेको छ । दोस्रो प्रयासमा सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यमा छ ।

अर्कोतर्फ लुम्बिनीले यस सिजन उतारचढाव व्यहोर्दै फाइनलसम्मको यात्रा तय गरेको छ । पछिल्ला खेलहरुमा लुम्बिनीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेको छ र त्यो लयलाई फाइनलमा पनि निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५ लुम्बिनी लायन्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय