
रचना कुमारी चौधरी
नेपाल, बलर

रचना नेपाली यू-१९ टिमकी बलर हुन् । १७ वर्षीया रचनाले बाँयाहाते स्पीन बलिङ गर्छिन् ।
सुदूरपश्चिममा जन्मिएर परिवारसँग पोखरा बसाइसराइ गरेपछि उनले स्कुलमा हुँदादेखि क्रिकेटमा रूचि राख्दै क्रिकेट खेल्न थालेकी थिइन् ।
त्यसपछि जिल्ला छनोट हुँदै उनले गण्डकी प्रदेशको टोलीसम्मै अवसर प्राप्त गरिन् । उनले गण्डकी प्रदेशको टोलीबाट पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेकी छन् ।
उनी यसपटकको विश्वकप छनोटदेखि नेपालको टोलीमा समावेश छिन् । छनोटमा उनले एकै खेलमा चार विकेटसहित सर्वाधिक ११ विकेट लिएकी थिइन् । उनले त्यसपछिको एसिया कप पनि खेलिन् ।
विश्वकपमा राम्रो बलिङ प्रदर्शन गर्ने बताउँदै उनले एकै खेलमा पाँच विकेट लिन सक्ने अठोट व्यक्त गरेकी छन् ।
स्कुलमा क्रिकेटदेखि विश्वकपसम्म
रचना चौधरी सुदूरपश्चिममा जन्मिइन् । यद्यपी उनका बुबाआमा त्यसपछि बसाइसराई गरी पोखरा आएका थिए । रचनालाई पोखराकै एक स्कुलमा भर्ना गरेका बुबाआमा मजदुरी गर्थे ।
रचनाले स्कुलमा हुँदादेखि क्रिकेटमा राम्रो गरिरहेकी थिइन् । यो कुरा बुबाआमालाई भने केही समयसम्म थाहा नै थिएन । तर एकदिन क्रिकेटको सामान किन्नका लागि पैसा माग्दा बल्ल उनीहरूलाई थाहा भयो ।
‘सानैदेखि खेलकुद मनपर्थ्यो मलाई, सुरूमा रमाइलोका लागि खेल्थें तर पछि धेरै खेल्न मन लाग्यो’ उनले भनिन्, ‘सुरूमा बुबाआमालाई पनि थाहा थिएन, स्कुल जान्थें पढेर आउँथी भन्ने लाग्दो हो भनेर भनिन, एकपटक सामाना चाहिएको बेला चाहिँ भने।’
इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लबअन्तर्गत एमसीसी फाउन्डेशनले पोखराका विद्यालयहरूमा क्रिकेट विकास कार्यक्रमको आयोजना गरेको थियो जहाँ रचना पढ्ने स्कुल पनि थियो । सोही अवसरमा उनले क्रिकेट सिक्न थालिन् र लगाव बढ्न थाल्यो ।
पछि प्रशिक्षक विकास अधिकारीले उनलाई विद्यालय स्तरबाट छनोट गरेपछि उनको यात्रा सुरू भयो । त्यसपछि प्रशिक्षण गर्दै गर्दा जिल्ला छनोटदेखि लिएर प्रदेशसम्मको टोलीमा उनी छनोट भइन् ।
पीएम कपमा पनि राम्रो प्रदर्शन गर्दै गएपछि उनी यू-१९ महिला विश्वकप छनोटका लागि क्लोज क्याम्पमा पनि परिन् । त्यहाँबाट अन्तिम टोलीमा पनि समावेश हुँदै उनी विश्वकप छनोटमा सर्वाधिक विकेट लिने बलर बनिन् ।
Read Fullप्लेयर्स टु वाच



