मिटरब्याज पीडितका सारथि
साउन महिनाको दोस्रो दिन, मध्याह्न १२ बजे । दुई दिनसम्म धनुषा र महोत्तरीका गाउँमा मिटरब्याज (अनुचित ब्याज) पीडित भेटेर घर फर्किएका थिए मनोज पासवान (३२) । आँगनमा मोटरसाइकल रोकेर पिठ्युँमा बोकेको कालो झोला बरण्डाको खाटमा फाले । श्रीमती जिवछीले आम्खोरामा दिएको चिसो पानी घटघट पिए । पसिनाले भिजेको शरीर, मुढामा थचक्क बसे ।
‘आज दुई दिनपछि घर फर्कें । प्रायः घर बाहिर हुन्छु । पीडित साथीहरूले छलफल, भेलाहरू राख्ने गर्नुहुन्छ । त्यहाँ पुग्नैपर्छ’ मनोज भन्छन्, ‘पीडितको नेतृत्व गरेपछि यति त गर्नैपर्छ ।’ अनलाइनखबरसँग कुरा गरिरहँदा पनि मनोजको फोनको घण्टी पटक–पटक बजिरह्यो । बिहान उठेदेखि राति ओछ्यानमा पुग्दासम्म उनलाई यसरी नै फोन आउँछ मिटर पीडितको ।
‘मधेशमा मिटरब्याजको समस्या भयावह छ भन्ने जनाउ हो मेरो फोनमा बज्ने घण्टी । कुनै दिन त सयभन्दा बढी फोन आउँछन्’ उनी भन्छन्, ‘हामीले संगठित संघर्ष गरेपछि प्रशासनमा हजारौं पीडितले उजुरी दिएका छन् । चेतना आएको छ । केहीले न्याय पनि पाएका छन् ।’
तर मनोजका विचारमा धेरै उत्साहित हुनुपर्ने अवस्था छैन, किनकि अझै धेरै नागरिक अन्यायमा छन् । सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ इटाटारका ३२ वर्षीय मनोज मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष हुन् । आफैं मिटरब्याज पीडित मनोज पीडितले गुनासो मात्रै राख्न पाउँदाको अनुभूति महसुस गर्न सक्छन् ।
न्यायको अप्ठ्यारो बाटो
२०६५ सालतिर मनोजका दाइ विनोदले वैदेशिक रोजगारीमा जान दुई जना स्थानीय साहुबाट ५०–५० हजार रुपैयाँ ऋण लिएका थिए । सयकडा ३ रुपैयाँ (वार्षिक ३६ प्रतिशत) ब्याजदरमा लिइएको ऋणको ३ गुणा बढीको कपाली तमसुक बनाइएको रहेछ । यसले मनोजको परिवारलाई आर्थिक संकटतिर धकेल्न थाल्यो ।

मनोजका अनुसार, गाउँकै साहु जोधन सिंहले ५० हजार ऋणको ब्याजको स्याज पनि असुल गरे । केवल ५७ हजार रुपैयाँ तिर्न बाँकी हुँदा उनले जालझेल गरेर जिल्ला अदालतमा कपाली तमसुकको आधारमा मुद्दा दर्ता गरे । मनोजको परिवारको बाजेको नाममा रहेको ७ कट्ठा घडेरी ‘डाक लिलाम’ गरेर कब्जा गरे । यसरी साहुले हडपेको जग्गा फिर्ता भएको छैन । मनोज भन्छन् ‘अहिले मेरो ध्यान त्यता छैन ।’
उक्त जग्गा साहुले अरू कोही स्थानीयलाई बेचे । बाल्यकालमा व्यहोरेको यो घटनाले मनोजलाई गहिरो गरी छोयो । उनले गाउँघरका मिटरब्याजी साहु महाजन देखे । तिनको शोषण, दमन खपे । अनि पीडितको रोदन र वेदना सुने । यसले विस्तारै उनीभित्र सुदखोरहरू विरुद्ध अभियान चाल्ने प्रतिज्ञा हुर्कंदै गयो ।
हाल देशमा भइरहेको केही प्रमुख घटनामध्ये मिटरब्याज पीडितको आन्दोलन पनि एक हो । समाजमा सामान्य साक्षर पनि नरहेको पीडित समूहको यो आन्दोलनले अहिले मुलुकमा जुन उचाइ लिएको छ, त्यसको एक कुशल कोरियोग्राफर हुन् मनोज । जतिसुकै बेला लोभ र डर देखाएर बिथोल्न सकिने वर्गको आन्दोलनलाई सघाउनु मात्रै पनि जोखिमपूर्ण काम हो, जुन मनोज गरिरहेका छन् ।
आन्दोलनका शृङ्खला चलिरहँदा कतिपय पीडितले न्याय पनि पाएका छन् । मनोजको नेतृत्वमा मधेशका बाँकी पीडितमा पनि न्याय पाउने आशा जागेको छ । आन्दोलनको नेता भएकोले उनी हजारौं पीडितको भरोसाका केन्द्र हुन् ।
कुराकानी हुँदै गर्दा मनोजको घर आइपुगेका बरियारपट्टी गाउँपालिका १ का रामनाथ यादवले मिटरब्याज पीडितहरूको अभियानको खुलेर प्रशंसा गरे । ‘एक लाख ऋणको साटो मेरो ४० लाखको घडेरी साहुले जालझेल गरेर हत्याइसकेको थियो’ उनी भन्छन्, ‘मनोजले यो अभियान नथालेको भए मेरो घडेरी साहुको भइसक्थ्यो, धन्न ३ लाख तिरेपछि फिर्ता पाएँ ।’
त्यसैले रामनाथ जस्ता धेरै पीडितले मनोजलाई असाध्यै विश्वास गर्छन् । यही विश्वासको बलमा उनले अभियानको नेतृत्व गरिरहेका छन् । समाजका उपल्लो र शक्तिशाली भनिनेहरूबाट उनले तिरस्कार र धाकधम्की व्यहोरेका छन् । तर, जब न्याय पाएपछि कुनै पीडितको अनुहारमा खुसी देख्छन्, उनको छाती गर्वले फुल्छ ।
‘मैले अभियान थाल्छु भन्दा यो दलित, गरिब केटाले के गर्न सक्छ र भन्दै कतिपयले कुरा काटे’ मनोज भन्छन्, ‘पीडितहरूलाई संगठित गरेपछि आन्दोलन चर्कन थाल्यो, म आबद्ध पार्टी माओवादीकै कतिपय नेताले यसो नगर्न दबाब दिन थाले ।’
उनीहरूको तर्क हुन्थ्यो– सरकार माओवादीकै छ, आन्दोलन चर्काउँदा पार्टीलाई अप्ठ्यारो पर्न सक्छ । तर मनोजले वास्ता गरेनन् । पार्टी स्वार्थ भन्दा माथि राखे मिटरब्याज पीडितलाई । उनको तर्क हुन्थ्यो– ‘यो पीडितको लागि न्यायको आन्दोलन हो, यसमा सबैले सहयोग गर्नुपर्छ ।’
अँध्यारोमा बलेको बत्ती
मधेशमा मिटरब्याजको समस्या नयाँ विषय होइन । साहु, महाजनको जालझेल र शोषण यहाँको समाजमा सामान्य संस्कृति बनिसकेको छ । सबै मिटरब्याजी उस्तै नभए पनि मिटरब्याज मार्फत निमुखाको शोषण चाहिं उस्तै छ । आश्चर्यलाग्दो पक्ष के हो भने– राज्यका अंग भनिने, संसद्, सरकार र न्यायालय समेत निमुखाको पक्षमा रहेनन् ।
त्यसैले सुदखोरीको कहरले घरबार नै बर्बाद भए पनि पीडितले कहिल्यै सेठ साहुकार र सुदखोर विरुद्ध बोल्ने आँट र साहस देखाएका थिएनन् । तर, समयक्रममा पीडितका पक्षमा बोल्ने मनोज जस्ता युवाहरू अगाडि उभिन थालेपछि हजारौं पीडितहरू आन्दोलनमा उत्रिए । समाज र राज्यका निकायलाई औंला उठाएर उनीहरूले भन्न थाले– ‘यो ज्यादती हो ।’

स्कुल पढ्दा रामबालक नामका सरले गाउँका सुदखोरका शोषणका किस्सा सुनाउँथे मनोजलाई । २०६४ सालमा प्रवेशिका परीक्षा दिएपछि मनोजको मनमा कुनै बेला मिटरब्याज विरुद्ध संघर्ष छेड्ने अठोट आएको थियो ।
‘स्कुलमा सरले किस्सा सुनाउनुहुन्थ्यो, आफ्नै जीवनमा पनि भोगियो । गाउँघर, समाजमा धेरै पीडित देखें’ उनी भन्छन्, ‘एउटा पुस्ता सुदखोरको चपेटामा पर्दा तीन/चार पुस्ता थला पर्ने थाहा पाएँ । यही ज्ञानले मलाई मिटरब्याज विरुद्धको अभियान थाल्नुपर्छ भन्ने सोच आयो ।’
कक्षा १२ पढेपछि मनोज घर–व्यवहारमा लागे । बुवा वैद्यनाथ पासवान एमालेको राजनीति गर्थे । मनोज चाहिं युथ फोर्समा संगठित थिए । २०७० सालमा उनी माओवादी केन्द्र निकट युवा संगठन वाईसिएलमा लागे ।
दलित परिवार, कमजोर आर्थिक अवस्थाले गाउँ–समाजमा कुनै अभियानको नेतृत्व गर्ने कुरा सोच्न पनि मुस्किल थियो । तर, राजनीतिमै लागेको कारण बुवाले स्थानीय मुद्दामा गाउँमा निर्धक्कसँग बोलेको सुनेका मनोजमा पनि विस्तारै आत्मबल बलियो हुँदै आयो ।
‘गरिब परिवारबाट भए पनि सक्रिय राजनीतिमा लागेर गाउँ–समाजमा निर्धक्कसँग बोल्न सक्ने आत्मबल र प्रेरणा बुबाबाट पाएको’ बताउने मनोज भन्छन्, ‘त्यसैले यो अभियान चलाउन सक्छु भन्ने आँट पहिलेदेखि नै थियो ।’
महोत्तरी भंगहा–४ का युवा अभियन्ता संघर्ष दाहालसँग मनोजको फेसबुकबाट चिनजान भयो । २०७८ सालको अन्त्यतिर दाहाल सहित हुलाकी राजमार्गको यात्रामा निस्किएका युवाहरूसँग भेट भयो । त्यही यात्रामा मिटरब्याज समस्या बारे औरही गाउँमा छलफल भयो ।
मिटरब्याज विरुद्ध अभियान चलाउनै पर्ने निष्कर्ष निकालेको केही समयपछि उनीहरूले लेखक रामरिझन यादव लगायत बुद्धिजीवी र अगुवाहरूसँग सल्लाह लिए । जब मिटरब्याज समस्या ‘मधेशको ठूलो रोग’ हो भन्ने साझा निष्कर्ष निस्कियो, मनोज यो आन्दोलनमा नेतृत्व गर्न कस्सिए ।
युवाहरू पीडितलाई कुरा बुझाउँदै हौसला भर्न थाले । अब विस्तारै मुद्दा बोकर प्रहरीदेखि जिल्ला प्रशासन कार्यालयसम्म पुग्न थाले । तर, प्रहरी र प्रशासनले मिटरब्याज विरुद्धको कानुन नभएकाले पीडितको पक्षमा केही गर्न नसक्ने भनेर फर्काए । अनि उनीहरूलाई लाग्यो– एक्लै हिंडेर हुन्न । अब पीडितलाई संगठित गर्नुपर्छ ।
पीडित जागे, झुक्यो सरकार
विस्तारै उनी सञ्चारमाध्यममा आएका खबर पढ्दै पीडित भेट्न थाले । घरघर पुग्दै किन संगठित हुनुपर्छ भनेर बुझाउन थाले । सुरुमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायत जिल्लामा पुगेर पीडितसँग भेट गरे ।
यसपछि सुरुमा सिरहाको मिर्चैयामा १० साउन २०७९ मा मधेशका मिटरब्याज पीडितहरूको भेला भयो । भेलाले मनोजको संयोजकत्वमा मिटरब्याज पीडित संघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनको घोषणा गर्यो ।
१५ साउन २०७९ मा जनकपुरधाममा रहेको मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गर्दै पीडितहरूले लालबाबु राउतलाई ज्ञापनपत्र बुझाए । भेला, प्रदर्शन र ज्ञापनपत्रसम्म आइपुग्दा नेतृत्वको मात्रै होइन, पीडितको पनि आत्मबल बढ्दै गयो । मनोजले मधेशका जिल्लामा दौडधुप गरेर जिल्लास्तरीय समिति बनाउन थाले र बीच–बीचमा दबाबमूलक आन्दोलन गरिराखे ।

सुरुआतमा सरकारले सुनेन । ‘सुरुमा हामी भेट्न जाँदा पीडित डराउँथे तर सम्झाउने, बुझाउने र हौसला दिने गरेपछि उनीहरू डराउन छाडे’ मनोज भन्छन्, ‘सुरुमा संगठित गर्नै गाह्रो थियो । बल्लबल्ल संगठित गरेर आन्दोलन गर्यो, सरकारले सुन्दै सुन्दैनथ्यो ।’
यसपछि आन्दोलनकारीलाई लाग्यो, सामान्य संघर्षले हुँदैन । र, उनीहरूले योजना बनाए मधेशबाट पैदल मार्चपास गर्दै संघीय राजधानी काठमाडौं गएर आन्दोलन गर्ने । अनि मनोजको नेतृत्वमा २ चैत २०७९ मा महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु भयो । बर्दिबासबाट पथलैया, हेटौंडा, चितवनहुँदै ११ दिनमा १२ चैतमा आन्दोलनकारी काठमाडौं पुगे ।
६ दिनसम्म आन्दोलनले राजधानीको सडक तताएपछि सरकार आवाज सुन्न बाध्य भयो । १८ चैत २०७९ मा सरकार र आन्दोलनकारी बीच पाँचबुँदे सहमति भयो । पीडितको समस्या समाधान गर्न अनुचित लेनदेन (मिटरब्याज सम्बन्धी) जाँचबुझ आयोग स्थापना गर्ने, गुनासो सम्बोधनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय समन्वय/सहजीकरण समिति गठन गर्ने लगायत सहमति भयो ।
त्यसपछि विशेष अदालतका मुख्य न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग बन्यो । १७ वैशाख २०७९ को दिन मधेशको राजधानी जनकपुरधाममा सरकारले आयोगको केन्द्रीय कार्यालय स्थापना गर्यो ।
पीडितहरूले जिल्ला प्रशासन कार्यालयहरूमा निवेदन दिन थाले, निवेदनमाथि सुनुवाइ हुन थाल्यो । केही पीडितहरू साहु–महाजनले हत्याएका सम्पत्ति फिर्ता पाउन सफल पनि भए । तर अझै पनि धेरै पीडितहरू न्यायको पर्खाइमा छन् ।
‘हजारौं उजुरी अहिले पनि प्रहरी प्रशासनमा थन्किएका छन् । मिटरब्याज पीडितमाथि कुटपिट, धम्की र दुर्व्यवहारका घटना हुने गरेका छन्’ मनोज भन्छन्, ‘जिल्ला प्रहरीमा हुने छलफलमा प्रहरी प्रभावित भएर मिटरब्याजीको पक्ष र पीडितको विपक्षमा भूमिका खेलेको थुप्रै गुनासो आउने गरेका छन् ।’ मनोजलाई अझ बलियो आन्दोलन नभई यो समस्या पूर्णतः समाधान हुँदैन भन्ने लागेको छ ।

बुवा वैद्यनाथ, आमा रामपरीसँगै मनोज दुई दाजुभाइसँग सगोलमै बस्छन् । साथमा छन् मनोजकी पत्नी जिवछी, ४ वर्षीय छोरा प्रभाकर र तीन वर्षीया छोरी शिखा । यो परिवार नै छिमेकीको १५ कट्ठा खेत अधियाँमा कमाउँछन् । त्यसैले मनोजले कक्षा १२ पछि पढ्न पाएनन् ।
पल्लो गाउँका रामचन्द्र दास मनोजका कारण धेरै पीडितले न्याय पाएकोमा खुशी छन् । मनोज भेट्न घरमै आइपुगेका बरियारपट्टी गाउँपालिका ४ का विशेश्वर यादव भन्छन्, ‘म पनि साहुकै फन्दामा परेको छु । समस्या सुनाउन उहाँसित भेट्न आएको हुँ ।’
हिजो गरिब दलितको छोरोले के गर्न सक्छ भन्दै मानिसले हियाएको सम्झन्छन् मनोजका बुवा । ‘एकजना गरिब दलितको छोराले नेतृत्व गरेको अभियानले धेरै पीडितको उद्धार भएको छ’ उनी भन्छन्, ‘अहिले पनि छोरो धेरै पीडितको आशा, भरोसा बनेको छ । मेरो लागि योभन्दा खुसी के हुन्छ र ?’
शैलेन्द्र महतो
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी