+

जोगी फिल्ममेकरका कीर्तिमानी क्लाइमेक्स

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
बुद्ध दर्शनका अध्येता, जटाधारी, बोधिचित्तको माला पहिरिएका मीन झट्ट हेर्दा आधुनिकता र अध्यात्मको फ्युजन जस्तो लाग्छ । उनी सिनेमा भन्दा बढ्ता कीर्तिमान बनाउँछन् । नेपाली सिनेमा इतिहासमा ‘कालोपोथी’, ‘साम्बला’ को सूची ओजपूर्ण छ ।
मीनबहादुर भाम

६० वर्षे इतिहास बोकेको नेपाली सिनेमामा एउटा त्यस्तो रिक्त ठाउँ छ, जहाँ अक्सर मास्टर फिल्ममेकरको खोजी हुनेगर्छ । यस्तो फिल्ममेकर, जसले विदेशी सिनेमाको धङधङीबाट घरेलु फिल्मलाई मुक्त गरिदेओस् । अनि आफ्नो भूगोलको सिनेमा आफ्नो पाराले भन्नका लागि आफ्नै व्याकरण तयार गरोस् । यस्तो सिनेमा, जसले वैश्विक सिनेमासँग काँधमा काँध मिलाएर आफ्नो साम्राज्य विस्तार गर्न सकोस् । नेपाली सिनेमाले खोजिहिंड्ने त्यस्तै कर्मयोगी नाम हो, मीनबहादुर भाम (३९) ।

बुद्ध दर्शनका अध्येता जटाधारी मीन बोलीचालीमा जति सरल र सुस्त लाग्छ, सिनेमा निर्माणमा उत्तिकै तगडा र गतिशील पनि । उनी सिनेमा भन्दा बढ्ता कीर्तिमान बनाउँछन् । इतिहास बनाउँछन् । त्यसैले त २००६ सालबाट सुरु हुने नेपाली सिनेमाको क्रमसंख्यामा ‘कालोपोथी’, ‘साम्बला’ को सूची ओजपूर्ण छन् ।

मीनको कीर्तिमानी यात्रा छोटो फिल्म ‘बाँसुल्ली’बाट सुरु हुन्छ । यो फिल्मले विश्वकै पुरानो र प्रतिष्ठित मानिने भेनिस फिल्म फेस्टिभलमा नेपालबाट पहिलो पटक आफ्नो उपस्थिति जनाउँछ । राजनीतिक उथलपुथलले दूरदराजमा हुर्किरहेकी १२ वर्षीया किशोरीको जिन्दगीमा के–के भयो ? १५ मिनेटको फिल्मले बेलीविस्तार लगाउँछ ।

कालोपोथी सार्वजनिक प्रदर्शनमा आएको आठ वर्षपछि उनै मीन अर्को तहल्का मच्चाउन आइपुग्छन्, साम्बलाबाट । सुरुमा ‘चिसो वर्ष’ नाम राखिएको यो फिल्मले पटकथा र निर्माणका लागि मनग्ये विदेशी अनुदान प्राप्त गर्न सफल हुन्छ ।

त्यसपछि मीनले अर्को वजनदार सिनेमा बनाउँछन्, कालोपोथी । माओवादी युद्धको समयरेखालाई दुई खण्डमा विभाजित गरेर यो सिनेमाले कर्णालीको कथा भन्छ, जहाँ दुई बालक केन्द्रमा राखिन्छ । कालोपोथीले भेनिस फिल्म फेस्टिभलको ‘इन्टरनेशनल क्रिटिक्स विक’ मा स्क्रिनिङ गर्ने दुर्लभ र ऐतिहासिक मौका पाउँछ ।

 त्यहाँ यस फिल्मले ‘न्यु भ्वाइस’ र ‘पोलिटिकल ड्रामा’ जस्ता दुई वटा उपविधामा अवार्ड पाउँछ । यसैगरी ८९औं संस्करणको ओस्कर अवार्डका लागि सर्वश्रेष्ठ विदेशी भाषा चलचित्र विधाका लागि सिफारिस गरिन्छ ।

पटकथाबाटै विदेशी अनुदान लिने र विदेशी दर्शकमाझ नै सर्वाधिक कमाइ गर्ने एक्लो नेपाली फिल्मको कीर्तिमान यसैले बनाउँछ । विश्वको फन्को लगाएर कालोपोथी नेपालका सिनेमा घरहरूमा प्रदर्शन हुन्छ, जहाँ यसले नवीन बहसको सुरुआत गर्छ ।

कालोपोथी सार्वजनिक प्रदर्शनमा आएको आठ वर्षपछि उनै मीन अर्को तहल्का मच्चाउन आइपुग्छन्, साम्बलाबाट । सुरुमा ‘चिसो वर्ष’ नाम राखिएको यो फिल्मले पटकथा र निर्माणका लागि मनग्ये विदेशी अनुदान प्राप्त गर्न सफल हुन्छ । अनि फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान, अमेरिका र कतारसँगको सहकार्यमा यसको निर्माण हुन्छ, लगभग १४ करोड बजेटमा ।

बहुपति प्रथाको पृष्ठभूमिमा यस फिल्मले आफ्नो बेपत्ता श्रीमान् खोज्न हिमाली यात्रामा निस्किएकी एक महिलाको कथा भन्छ । हिमाली सुन्दरता र जटिलतासँगै अगाडि बढ्ने पाइलाहरूले आध्यात्मिक यात्रा गर्छ ।

विश्वकै ठूलो फिल्म महोत्सव ‘बर्लिन फिल्म फेस्टिभल’को ७४औं संस्करणमा ‘साम्बला’ले सगर्व स्थान पाउँछ । महोत्सवमा स्क्रिनिङका साथ मुख्य विधा ‘गोल्डेन बियर’मा प्रतिस्पर्धाका लागि छनोट हुन्छ । यो अग्लाइसम्म पुग्ने पहिलो नेपाली फिल्म र तीन दशकमा पहिलो दक्षिण एशियाली फिल्मको कीर्तिमान बनाउँछ ।

भनिहालौं, साउन अन्तिम साता लोकार्नोमा प्रिमियर हुने ‘साम्बला’ विश्वका २९ मुलुकसँगै नेपालमा प्रदर्शन हुँदैछ । यसको रिलिज समय भदौ २८ तोकिएको छ ।

***

एउटा आँखामाथि पियरसिङ र कपाल ड्रेटलक गरेका, बोधिचित्तको माला पहिरिएका मीन झट्ट हेर्दा आधुनिकता र अध्यात्मको फ्युजन जस्तो लाग्छ । मिजासिलो मीनको शरीर सुगन्धित अत्तरले मगमगाएको हुन्छ ।

हामीले सोध्यौं, ‘कुन परफ्युम प्रयोग गर्नुहुन्छ ?’

मीन खुलस्त छन् । तर, यस्तो लाग्छ उनी खुल्न बाँकी रहस्यहरूको पुञ्ज हुन् । कहिले गुम्बातिर डुलिहिंड्छन्, कहिले बुद्ध दर्शनमा घोत्लिन्छन्, कहिले पद्मासनमा घण्टौं विचारशून्य हुन्छन्, कहिले पटकथा लेख्दै–मेट्दै गरिरहन्छन् । उनी के हुन्, के होइनन् ? उनी के गर्छन्, के गर्दैनन् ? भेउ पाउन मुस्किल छ ।

‘यो बजारको परफ्युम होइन’ उनले मसिनो आवाजमा जवाफ फर्काए, ‘म आफैंले बनाएको, पारिजातको ।’ पारिजातको फूल र पातलाई सम्मिश्रण गरेर कसरी सुगन्धित अत्तर बनाउन सकिन्छ भन्ने उनीसँग जुक्ति रहेछ । त्यसो त मीन अचार बनाउन पनि खप्पिस छन् । याम अनुसार मुला, आँप, अमला, खुर्सानीको अचार बनाउँछन् । र, आफ्ना हितैषीलाई कोसेली दिन्छन् ।

संभवतः उनी अचार खाँदैनन् । किनभने केही वर्षयता मीनले आफ्नो रेसिपी पूरै परिवर्तन गरेका छन् । भुटेको, तारेको मात्र होइन पकाएको पनि खानेकुरा खाँदैनन् । काँक्रो, मुला, सागसब्जी, करेला काँचै खान्छन् । उनलाई के लाग्छ भने, मानव शरीर र पाचन संयन्त्र पकाएको खानेकुराका लागि बनेको होइन । ‘खासमा हामीले काँचो खानेकुरा खानुपर्ने रहेछ’ मीन सुनाउँछन्, ‘सकेसम्म थोरै पनि ।’

यो सिलसिला फिल्म ‘साम्बला’ छायांकनताका सुरु भएको रहेछ । फिल्मका सिनेम्याटोग्राफरको खानपान शैली फरक थियो । उनी दिनभरमा एउटा स्याउ मात्रै खान्थे ।

‘हामी जब धेरै खानेकुरा खान थाल्छौं, शरीरको सम्पूर्ण ऊर्जा त्यसलाई पचाउनमा लाग्छ’ मीनको अध्ययन र अनुभवले भन्छ, ‘जब कम खान्छौं र शरीरले पचाउनका लागि अतिरिक्त ऊर्जा खर्च गर्नुपर्दैन, त्यो ऊर्जा बचत हुन्छ र रचनात्मक काममा त्यसलाई केन्द्रित गर्न सकिन्छ ।’ खासगरी सिर्जनात्मक काम गर्नेहरूलाई थोरै खाना नै उपयुक्त हुने उनको बुझाइ छ ।

मीन खुलस्त छन् । तर, यस्तो लाग्छ उनी खुल्न बाँकी रहस्यहरूको पुञ्ज हुन् । कहिले गुम्बातिर डुलिहिंड्छन्, कहिले बुद्ध दर्शनमा घोत्लिन्छन्, कहिले पद्मासनमा घण्टौं विचारशून्य हुन्छन्, कहिले पटकथा लेख्दै–मेट्दै गरिरहन्छन् । उनी के हुन्, के होइनन् ? उनी के गर्छन्, के गर्दैनन् ? भेउ पाउन मुस्किल छ ।

सिनेमाको रंगीन कलेवरभित्र मीन सात्विक र आत्मिक जीवन बिताउँछन् । बैंसालु उमेरमा उनी ओशोका पुस्तक पढ्थे । काठमाडौं आएपछि उनी तपोवन पुगे, आध्यात्मिक झंकार अनुभूत गर्न । त्यहाँ उनी ध्यानमा बसे । दुनियाँलाई छाडेर आफैंभित्र यात्रा गरे । ‘म को हुँ’ भन्ने प्रश्न बोकेर फर्किए ।

‘अघिल्लो जन्ममा म कुनै गुम्बाको लामा थिएँ भन्ने आभास हुन्छ’, उनी भन्छन् । उनलाई ‘पुनर्जन्म’मा विश्वास छ । प्रारब्धमा पनि । ‘सबै कुरा पूर्व निर्धारित हुन्छ’ मीनलाई लाग्छ, ‘हामीले त फगत आफ्नो भागको कर्म गर्ने हो ।’

केही वर्षअघि उनी नमोबुद्ध गुम्बामा गएका थिए, ठाम बस्न । त्यहाँ पुगेपछि उनको चोला फेरियो, मन पनि । गुम्बाबाट फर्किएपछि हो, ‘कालोपोथी’को खाका तयार भएको ।

०००

अन्तरमुखी मीन कसरी ग्ल्यामर दुनियाँमा छलाङ मार्न आइपुगे ?

उनको जीवन पद्धति, दर्शन र कला–कौशलमा पिताको प्रभाव र स्वभाव कहीं न कहीं जोडिन्छ । उनका पिता, जो कडा मिजासका थिए । उनी शाकाहारी थिए, कर्मठ पनि । मनोरञ्जनमा चाख राख्थे । राससका पत्रकार । फोटो खिच्न सौखिन । चराचुरुंगी पाल्ने । घरमा फूलहरूले ढकमक्क बनाउनुपर्ने । उनले पेल्ट्रिक सेट जडान गरी घर झलमल्ल बनाएका थिए । टेलिभिजन राखेका थिए । पानासोनिकको भीसीआर प्लेयर जोडेका थिए ।

उनलाई हतार छैन, ताकि वर्षैपिच्छे सिनेमा बनाउन परोस् । किनभने सिनेमा उनको साधना हो, समर्पण हो । त्यसैले त एउटै सिनेमाका लागि वर्षौं वर्ष समय दिन्छन् । समय यसरी दिन्छन्, मानौं त्यो नै उनको एक मात्र र अन्तिम काम हो ।

मीन भन्छन्, ‘बुवालाई सबै कुरा चुस्त, दुरुस्त चाहिने । बहानाबाजी नचल्ने । पढ्ने, लेख्ने, खेल्ने, काम गर्ने, खाने, उठ्ने, सुत्ने सबै कुरा व्यवस्थित हुनुपर्ने ।’

संभवतः बुवाको छत्रछायाँमा मीनको स्वभाव, रुचि र मनोविज्ञान फरक भयो । उनी दौंतरीहरूसँग घुलमिल भएनन् । अन्तरमुखी भए । उनीसँग कुरा गर्नका लागि उनी नै साथी भए । उनीसँग खेल्नका लागि उनी नै साथी भए ।

उनी जंगल जान्थे, बाख्रा चराउन । रूखमाथि चढेर बाँसुरी बजाउँथे । राति सबै सुतेपछि कापीमा कविता लेख्थे । भोलिपल्ट त्यसमा आगो सल्काउँथे वा नजिकैको खोलामा बगाउँथे । उनी कल्पन्थे, ‘यो कविताको पाना बग्दै बग्दै कुनै लुगा धोइरहने मान्छे वा माझीले भेटेर पढ्छन् ।’ एक्लै भएपछि के गर्ने ? खिपेर प्रेमपत्र लेख्थे । जबकि उनीसँग कुनै प्रेमिका थिइनन् ।

बेलाबखत त्यहाँ गोरखापत्र पुग्थ्यो । त्यो सेकेन्ड ह्यान्ड गोरखापत्र ओल्टाई–पल्टाई पढ्थे । चाडपर्वमा जम्मा भएको पैसा बटुलेर बालमासिक पत्रिका ‘मुना’, मनोरञ्जनात्मक पत्रिका ‘कामना’, साहित्यिक पत्रिका ‘मधुपर्क’ किन्थे । घरमा रेडियो थियो, जोसँग उनको बढी संगत भयो । रेडियोबाट बज्ने समाचार, कार्यक्रम मात्र होइन विज्ञापन पनि चाख मानेर सुन्थे ।

केही समयअघि अनलाइनखबरसँगको भेटमा मीनले भनेका थिए, ‘सानो छँदा मैले आफ्नो बालापान अनुभव गर्न पाइनँ । त्यही कुरा मेरो अवचेतन मनमा कतै न कतै रहेको हुनुपर्छ, जो अहिले अनुभव गरिरहेको छु । कालोपोथी त्यही भएर बनाएँ होला । मैले जिउन नपाएको बालापन त्यसमा अनुभव गरें होला ।’

बुवा आकाशवाणीका जागिरे । त्यसबेला खबर आदानप्रदानको यही माध्यम प्रचलनमा थियो । मीन बुवाको पछि लागेर कार्यालय जान्थे र गाउँका मान्छेलाई आवा पढेर सुनाइदिन्थे । आवा लेखिदिने, पढिदिने क्रममै मीनले मान्छेको दुःख–सुखलाई नजिकबाट अनुभूत गर्न पाए । समाजको स्वरुप र मनोविज्ञान बुझ्न पाए ।

बुवाले गाउँमै हाइभिजन हल खोलेका थिए, जहाँ हिन्दी, नेपाली फिल्म चलाइन्थ्यो । त्यहाँ कहिलेकाहीं फिल्म हेर्न पुग्थे मीन ।

यसरी चाहेर/नचाहेर उनी रसरंगको दुनियाँमा हेलमेल हुन पुगे । अन्ततः एसएलसी सिध्याएर घरबाट निस्किए, काठमाडौंलाई ताकेर । त्यसो नगरेको भए उनलाई घरमा विज्ञान पढ्न दबाब दिइन सक्थ्यो, डाक्टर, इन्जिनियर बन्न प्रेरित गरिन सक्थ्यो । तर, उनलाई त नाटक सिक्नु थियो, अभिनय पढ्नु थियो ।

त्यसैले त दशैंमा दक्षिणा बापत पाएको केही पैसा बोकेर उनी मामाको छोरोसँग काठमाडौं हिंडे । काठमाडौं आएपछि पढ्नै पर्‍यो, सरस्वती क्याम्पस भर्ना भए व्यवस्थापन संकायमा । यो पढाइ परिवारका लागि थियो । किनभने उनको मन त सिनेमा र साहित्यमा थियो । अन्ततः उनी कसैलाई थाहै नदिई राष्ट्रिय नाचघर धाउन थाले । अभिनय सिके । ओस्कार कलेजमा भर्ना भए । स्नातकोत्तरसम्म उनले दुई–दुई विषय पढे । एउटा परिवारको लागि, अर्को आफ्नो लागि ।

०००

‘म अहिले अलि बोल्न थालेको छु’ अनलाइनखबरसँगको भेटमा मीन भन्दैथिए, ‘पहिले पहिले म बोल्ने मान्छे होइन नि !’

हामीलाई उनले भेटघाटका लागि सेचेन गुम्बामा बोलाएका छन् । मीनको स्वभाव कस्तो भने, उनी हत्तपत्त भेटघाटका लागि तयार हुँदैनन् । तर, जब भेट्छन् वर्षौंको आत्मीय झैं नजिक भइदिन्छन् । यस्तो लाग्छ, उनलाई कुनै हतार छैन, कुनै धपेडी छैन । आरामले बस्छन्, आनन्दले बात गर्छन् ।

सम्भवतः उनी हरेक पललाई अनुभूत गर्छन् र त्यसैमा रमाउने अभ्यास गर्छन् । त्यसैले मीनलाई भेटेपछि महासागर भेटे जस्तो लाग्छ, शान्त र सौम्य । सबै भएर पनि रित्तो ।

उनलाई हतार छैन, ताकि वर्षैपिच्छे सिनेमा बनाउन परोस् । किनभने सिनेमा उनको साधना हो, समर्पण हो । त्यसैले त एउटै सिनेमाका लागि वर्षौं वर्ष समय दिन्छन् । समय यसरी दिन्छन्, मानौं त्यो नै उनको एक मात्र र अन्तिम काम हो ।

शिव मुखिया