मधेशमा निर्धाकी न्याय मुकाम
महोत्तरीकी कुमारी आमा निहारिका सिंह राजपूत हुन् कि एसिड पीडित जनकपुरकी आरती साह । दाइजोको कारण परिवारबाट प्रताडित महोत्तरीकी नेहा चौधरी हुन् वा दाइजोकै कारण मारिएको दाबी गरिएकी आरती साह मृत्यु प्रकरण ।
२०७६ देखि २०८० साल बीचका ४ वर्षमा मधेशमा भएका यी चारै महिला हिंसा तथा अपराधजन्य घटना थाहा नपाउने कमै होलान् । यी चारै आपराधिक मामिलामा पीडितको न्यायको लागि निःशुल्क बहस पैरवी गरेर घटनालाई चर्चामा ल्याउने पात्र हुन्, अधिवक्ता रिंकुकुमारी यादव (३४) ।
एसिड पीडित आरती साह, कुमारी आमा निहारिका र नेहा चौधरीको मुद्दा अदालतबाट टुंगिएको छ । उनीहरूले न्याय पनि पाएका छन् । आफूले सहयोग गरेका पीडितहरूले न्याय पाउँदा रिंकुलाई औधी खुसी लाग्छ ।
‘आरती, निहारिका, नेहा र मृतक आरती साहको न्यायको लागि आफ्नो क्षमताले भ्याएसम्म निःशुल्क पैरवी गरेकी छु । एसिड पीडित आरती, नेहारिका र नेहाले न्याय पाउनुभयो । मृतक आरती साहको मुद्दा चलिनै रहेको छ । न्याय दिलाउन सकेसम्म सहयोग गर्छु’, रिंकु भन्छिन् ।
हिजो गर्भमा बच्चा बोकेर न्यायका लागि भौंतारिएकी निहारिका अधिवक्ता रिंकुको सहयोगले न्याय पाउन मद्दत पुगेको बताउँछिन् । उनी भन्छिन्, ‘मेरो मुद्दाको जाहेरी लेख्नेदेखि न्यायका लागि जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरमा अन्तिमसम्म बहस पैरवी रिंकु दिदीले गर्नुभो ।’

हुन पनि जिल्ला अदालतमा सरकारी वकिल बाहेक निहारिकाको पक्षमा वकालत गरिदिने रिंकु मात्रै थिइन् । निहारिका भन्छिन्, ‘सहयोग गरे बापत उहाँले आजसम्म मेरो एक कप चिया पनि खानुभएको छैन । बरु रिक्सा वा बसभाडा नहुँदा अनि मेरो बच्चा रुँदा खानेकुरा दिएर उहाँले उल्टो मलाई सहयोग गर्नुभएको छ ।’
वीरगञ्ज महानगरपालिका २८ की रिंकु यादव ८ वर्षदेखि जनकपुरमा वकालत गर्दै आएकी छन् । २०७३ सालदेखि उनले आफ्नो पेशागत जीवनमा जनकपुर क्षेत्रका असहाय पीडित महिलाहरूका लागि सहयोग गरिरहेकी छिन् । उनको ल फर्ममा पुगेका वा उनको दृष्टिमा परेको असहाय महिलाले निःशुल्क कानुनी सहायता पाउँछन् ।
रिंकले दिने कानुनी सहायतामा कानुनी परामर्श, जाहेरी तथा उजुरी लेखन र बहस पैरवी पर्छन् । यसको ठूलो सामाजिक सन्देश भनेको हिंसामा परेर प्रताडित असहाय महिलालाई हाम्रो पक्षबाट बोल्ने मान्छे पनि छ मधेशमा भन्ने परेको छ ।
रिंकुका श्रीमान् अरुण यादव पेशाले इन्जिनियर हुन् । उनी वीरगञ्जको क्विस्ट फर्मा औषधि कम्पनीमा काम गर्छन् । ९ फागुन २०७५ मा वैवाहिक बन्धनमा बाँधिएकी रिंकुको साढे ४ वर्षका छोरा छन् । छोरा सहित जनकपुरमा बसेर उनी आफ्नो पेशासँगै सामाजिक न्यायको ठूलो अभिभारा पनि पूरा गरिरहेकी छिन् ।
प्रत्येक बिहान छोरालाई स्कुल पठाएपछि रिंकुको दिनचर्या सुरु हुन्छ । जनकपुरको हुलाक कार्यालय छेवैमा एक वर्ष अघि छोराको नाम राखेर खोलेको ‘आयांश ल चेम्बर’ बाट उनको पेशागत कर्म सुरु हुन्छ । मुद्दाहरूको सूची केलाएपछि दिउँसो पेशी परेका मुद्दामा वकालत गर्न उनी जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुर जान्छिन् ।
यसरी वकालत गरेर घरपरिवार चलाइरहेकी रिंकुको जिम्मामा धेरै पैसा नआउने मुद्दाहरू पनि हुन्छन् । यसलाई उनले आफ्नो पेशागत कामकै अंग ठानेकी छन् । आफ्नो कर्मले पीडितहरूको घाउमा मल्हमपट्टी लागेको थाहा पाउँदा उनलाई औधी खुसी पनि लाग्छ ।
महोत्तरीको एकडारा गाउँपालिका–२ का बुबा रामविलास यादव र आमा शान्ति देवीका तीन सन्तानमध्ये कान्छी छोरी हुन् रिंकु । बुबा रामविलास राप्रपाबाट निर्वाचित भएर २०५१ सालमा उपसभामुख र २०५३ सालमा वाणिज्य मन्त्री भएका थिए ।
बुबा चाहन्थे बैंक म्यानेजर, छोरी बनिन् वकिल
बुबा रामविलासको इच्छा थियो रिंकु पढे–लेखेर बैंकमा जागिर खाउन्, सके म्यानेजर बनुन् । त्यही सोचाइ अनुसार उनी म्यानेजमेन्ट (एमबीएस) मा मास्टर डिग्री गर्न काठमाडौंको नेपाल कमर्स क्याम्पस भर्ना भइन् । २०७२ सालमा मास्टर उत्तीर्ण पनि गरिन् । तर, सामाजिक परिवेश बुझेकी रिंकुको मनमा वकिल बन्ने इच्छा थियो ।
‘बुबा छलफलमा बस्नुहुन्थ्यो । पीडितहरू घरसम्म आउँथे । उनीहरूको अवस्था देखेर दया जाग्थ्यो’ त्यो समय स्मरण गर्दै उनी भन्छिन्, ‘वकिल बनेर यस्ता पीडितहरूको न्यायको लागि लड्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यसरी मेरो मनभित्रैबाट वकिल बन्ने इच्छा पलाएको थियो ।’
तर, रिंकुका बुबा वकिल पेशालाई जोखिम र असुरक्षित ठान्थे । २०६५ सालमा बुबा रामविलासको हृदयघातबाट ५४ वर्षको उमेरमा निधन भयो । त्यतिबेला रिंकु प्लस टु पढ्दै थिइन् । बुबाको निधनपछि घरपरिवार प्रभावित भयो ।
अब उनले बुबाको सपना अनुसारको म्यानेजमेन्टको पढाइ अघि बढाउँदै आफ्नो सपना अनुसारको वकिल बन्न एलएलबी पनि पढ्न थालिन् । पारिवारिक अनिच्छाले एएलबी पढाइमा समस्या हुन्थ्यो । एक पटक दाइले उनलाई एलएलबीको परीक्षा दिनबाट रोक्न पनि खोजेका थिए ।
उनी भन्छिन्, ‘दाइले वकिल जोखिम पेशा हो । म्यानेजमेन्ट पढेर बैंकतिर नै काम गर्नू भन्नुहुन्थ्यो । म झगडा गरेर पनि परीक्षा दिन जान्थें ।’ उनले एलएलबी पास गरिन् । अहिले एलएलएम अध्ययनरत छिन् । बुबाले भनेभन्दा फरक विषय पढेर पनि बुबाको मार्गदर्शनका धेरै कुरा व्यवहारमा लागू गरेको बताउँछिन रिंकु ।
जनकपुरकी महिलावादी वकिल
नेपाल ल क्याम्पसबाट एलएलबी गरेपछि रिंकु २०७३ सालपछि अभ्यासका लागि जनकपुर आइन् । वकालत पेशाको अनुभव बटुल्न उनी अधिवक्ता अच्युत आचार्यको ल फर्ममा काम गर्न थालिन् । यसै क्रममा १५ असोज २०७५ मा मधेश सरकारको मुख्य न्यायाधिवक्ता कार्यालयमा कानुन अधिकृतको रूपमा करारमा काम गर्ने अवसर पाइन् ।
एकैपटक दुईतिरको कामले उनलाई असजिलो भयो । मुख्यन्यायाधिवक्ता कार्यालयमा हुँदा सरकारवादी मुद्दा मात्रै उनले हेर्न पाउँथिन् । अरू मुद्दामा हात हाल्न गाह्रो थियो । त्यसैले १५ असोज २०७८ मा उनले मुख्यन्यायाधिवक्ता कार्यालयको जागिरबाट राजीनामा गरिन् ।
‘दुवै ठाउँमा जिम्मेवारीमा थिएँ । मुख्यन्यायाधिवक्ता कार्यालयमा हुँदा आफ्ना अरू मुद्दामा बहस गर्न गाह्रो हुन्थ्यो । तीन वर्षजति काम गरेर राजीनामा दिएँ’ रिंकु भन्छिन्, ‘त्ययपछि अरू मुद्दामा वकालत गर्न र अन्य पीडितहरूलाई पनि सहयोग गर्न सहज भयो’
उच्च अदालत जनकपुरमा २०७८ सालमा एक वर्ष वैतनिक वकिल भएर काम गरेको अनुभव पनि रिंकुलाई छ । यस क्रममा पनि उनले थुप्रै असहायका मुद्दा हेरिन् । रिंकु नयाँ पुस्तामा प्रशंसनीय काम गरिरहेका वकिल मध्येमा पर्ने अधिवक्ता राजकुमार महासेठ बताउँछन् । उनी भन्छन्, ‘असहाय पीडितहरूका लागि रिंकुको सहयोग उदाहरणीय छ ।’
निहारिका सिंह राजपूत, नेहा चौधरी, एसिड पीडित आरती साह, मृतक आरती साह जस्ता चर्चित मुद्दामा मात्रै होइन महोत्तरी पिपराकी काजल दासको घटनाको मुद्दा पनि लडेकी छिन्, रिंकुले । महोत्तरीको पिपरा गाउँपालिका–५ की काजललाई पतिले झुक्याएर छोडपत्रको कागजात गराई घरबाट विस्थापित गरेका थिए । अहिले पनि उनको मुद्दा महोत्तरी जिल्ला अदालतमा चलिरहेको छ ।
‘रिंकुदिदीले मलाई विस्थापित भएकै बेलादेखि सहयोग गर्दै हुनुहुन्छ । म त विचल्लीमा थिएँ । पत्रकार र मानवअधिकारकर्मीको सहयोगमा उहाँसमक्ष पुगें । उहाँले जाहेरी लेखिदिनुभयो । अहिले बहस पनि गर्नुहुन्छ’, काजल भन्छिन् । रिंकुको निःशुल्क सहयोगले न्यायको लागि लड्न आफ्नो आत्मबल बढेको काजलको भनाइ छ ।
मधेशका पीडितहरू त्यसमा पनि महिला विभिन्न माध्यमले रिंकु समक्ष पुग्छन् । उनको विषयमा थाहा पाउनेहरूले असहाय पीडितलाई आफूकहाँ पठाइदिने गरेको रिंकु बताउँछिन् । अझ कतिपय वकिलले समेत पैसा तिर्न नसक्ने व्यक्तिको मुद्दा रिंकुकोमा पठाउने गरेको उनले बुझेकी छिन् ।
‘विशेष गरेर महिला हिंसाका पीडितहरू आइरहन्छन् । यस्ता असहायहरू अन्य वकिलकहाँ पुगे भने रिंकुकहाँ जाऊ उनले सहयोग गरिदिन्छिन् भनेर पठाइदिन्छन्’ उनी भन्छिन्, ‘मकहाँ आएका त्यस्ता पीडितहरूलाई निःशुल्क परामर्श, निवेदन, उजुरी, जाहेरी लेखिदिने गर्छु । अदालतमा बहस पनि निःशुल्क गरिदिन्छु ।’

असहाय महिलाको पक्षमा, उसको न्यायको लागि बहस पैरवी गर्दा–गर्दा उनको परिचय नै ‘महिलावादी वकिल’ बनेको छ । यसकारण पनि होला धेरै पुरुष पीडितहरू उनीकहाँ आउँदैनन् । ‘पुरुष पीडित वा जाहेर गर्ने पक्ष मकहाँ हत्तपत्त आउन हिचकिचाउँछन् । मेरो परिचय नै महिलावादी वकिलको रूपमा भएको छ ।’
महिला पीडितको मुद्दामा वकालत गर्दा रिंकुले थुप्रै चुनौतीको सामना गर्नुपरेको छ । पीडित महिलालाई सहयोग गर्दा आफूलाई बद्नाम गर्ने प्रयास पनि भएको उनको भनाइ छ ।
‘सुरुमा निहारिकाको जाहेरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्नै मानेको थिएन । धेरै जना यो मुद्दा मिलाउन चाहन्थे’ रिंकु सम्झिन्छिन्, ‘तीन महिनाकी गर्भवती भएको कारणले पनि होला निहारिकालाई सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्यो । त्यो मुद्दामा मलाई बद्नाम गर्ने प्रयास भयो । केहीदिन त तनावमा पनि परें । तर म पछाडि फर्किनँ ।’
नेहा चौधरीको पक्षबाट आन्दोलन हुँदा रिंकुले नै उचालेको हो भन्ने प्रहरी प्रशासनलाई पनि लागेको थियो । यसले पनि उनलाई केही असजिलो भयो । एसिड पीडित आरतीको विपक्षमा फैसला आएपछि प्रहरी कार्यालय र अदालतमा हंगामा भयो । यसमा रिंकुले नै उक्साएको भन्ने सन्देश न्यायाधीशसमक्ष जाँदा आफू तनावमा परेको उनी सुनाउँछिन् ।
यस्ता कैयौं बाधा–अवरोध आए पनि रिंकु पीडितको पक्षमा पैरवी गर्न रोकिइनन् । विस्तारै उनको सामाजिक छवि पनि बलियो बन्दै गएको छ । अहिले नेपाल बार एशोसिएसन जनकपुरको कोषाध्यक्ष पदमा छिन् उनी । भविष्यमा के गर्ने चाहना छ ? युवा अधिवक्ता रिंकुकुमारी यादव भन्छिन्, ‘बलियो पेशागत छवि बनाउने र असहाय पीडितहरूका लागि सहयोग गर्ने ।’
शैलेन्द्र महतो
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी