सुन्दरताको तिमी उदाहरण
२६ भदौ २०८१ मा मिस युनिभर्स नेपालको फिनालेमा एउटा इतिहास रचियो । त्यो इतिहास रच्ने काम गरिन् सुजल बम, २३ ले । जन्मिंदै श्रवणशक्ति गुमाएकी उनले बहिरा प्रतिस्पर्धीको रूपमा पहिलो पटक मिस युनिभर्स नेपालमा प्रतिस्पर्धा गरिन् । सबलांग युवतीले मात्रै भाग लिने गरेको इतिहास भत्काउँदै उनले प्रतिष्ठित ब्युटी पेजेन्टको घरेलु संस्करणमा लाखौं अपांगता भएकाहरूको प्रतिनिधित्व गर्दै उपस्थिति जनाइन् ।
पेजेन्टमा उनको उपस्थिति प्राविधिक रूपमा मात्रै सीमित रहेन, बरु एकसे एक सुन्दरीलाई उछिन्दै उनी फोर्थ रनरअप बनिन् । क्याटवाक् सहितका विधामा उत्कृष्ट प्रस्तुति दिंदै उनी फाइनलिस्ट बनिन् । सबलांग युवतीसँग प्रतिस्पर्धा गरेर उनले जुन स्थान हासिल गरिन् यसले घरेलु सौन्दर्य प्रतियोगिताको मापदण्ड, सोच र मानकलाई तोडेको छ । मुलुकका लाखौं अपांगता भएका युवतीलाई उनले सन्देश दिएकी छन्– ‘अपांगता भएका युवतीले सबलांगसँग प्रतिस्पर्धा गर्न सक्छन् ।’
पछिल्लो समय सहभागीको मापदण्डमा उदार बनिरहेको मिस युनिभर्समा जुनसुकै उमेर समूह, क्षमता र वर्गका सुन्दरीले भाग लिन पाउँछन् । प्लाटफर्मको यो नियमलाई सुजलले सम्भावना र सन्देशको रूपमा मात्रै प्रयोग गरिनन्, आउँदा सुन्दरी प्रतियोगिता पनि समावेशी हुनुपर्छ भन्ने सन्देश यसले दिएको छ । यो नजिर बसाल्ने काममा सुजलको योगदान महत्वपूर्ण छ ।

सौन्दर्य प्रतियोगितामा मात्र सुजलको उपस्थिति खुम्चिएको छैन । उनी मोडल सहित कन्टेन्ट क्रिएटर र कुशल नृत्यांगना पनि हुन् । नृत्य क्षमतालाई तिखार्न उनी अहिले हिपहप र बी–बोइङ सिकिरहेकी छिन् । जेन–जी पुस्तामा लोकप्रिय यी दुई नृत्यका शैली सिकिरहेकी सुजल आफ्ना नृत्य अभ्यासका आकर्षक भिडियो टिकटकमा समेत पोस्ट गर्छिन् ।
डान्ससँगै उनी अहिले म्युजिक भिडियोमा पनि काम गर्दैछिन् । टिकटकमा कन्टेन्ट क्रिएट गर्नु उनको सोख हो । नृत्य प्रतिभा र प्रतिभाको संयोजन मार्फत उनले आर्थिक फाइदादेखि आफूलाई चिनाउने काम गरेकी छन् । ‘टिकटकमा पनि भिडियो बनाउँछु । विदेशमा पनि डान्समा सहभागी हुन मन छ । सानैदेखि म डान्स कम्पिटिसनमा सहभागी हुन पाएको छैन’ उनी भन्छिन्, ‘आशा छ, म सफल हुन्छु ।’
एकातिर टिकटक प्रयोगकर्ताको ठूलो संख्यामाझ आफूलाई चिनाउनु र अर्कोतिर प्लाटफर्म मार्फत अर्थ उपार्जन गर्नु, उनलाई दुवैतिर फाइदा मिलेको छ । सुजललाई टिकटकमा पछ्याउनेको संख्या झण्डै ७ लाख छ । उनले डान्स सहित प्रतिभा प्रस्फुटन गर्ने र आफ्नो पुस्तासँग अन्तरक्रिया गर्ने प्लाटफर्मको रूपमा टिकटकको उपयोग गरिरहेकी छिन् । ‘साथीभाइ, दर्शकले टिकटकमा मेरो भिडियो हेर्नुहुन्छ । आम्दानी पनि भएकै छ’, दोभाषे मार्फत अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन् ।
सुदूरपश्चिम डोटीको दुर्गम बोगटानमा जन्मिएकी सुजलको परिवार कालान्तरमा काठमाडौं बसाइँ सर्यो । काठमाडौंमा उनी आफ्नो मात्रै पहिचान होइन, आफू जस्ता लाखौं बहिरा र अपांग कलाकारको पहिचानको खोजीमा संघर्षरत छिन्, त्यो पनि ग्ल्यामरको क्षेत्रबाट । यसमा उनलाई परिवारको सहयोग छ ।

परिवारले उनलाई आम छोरीहरूभन्दा भिन्न महसुस हुन दिएको छैन । यही स्नेहले उनी कला र मोडलिङमा अघि बढिरहेकी छिन् । डान्सरको रूपमा नेपाल सहित विदेशमा पनि स्थापित हुने सपना उनको छ ।
‘म चाहिं डान्सरकै रूपमा आफूलाई चिनाउन चाहन्छु । म्युजिक भिडियोमा खेलेको कारण पनि यही नै हो’ उनी भन्छिन्, ‘टिकटकले मद्दत गरेको छ । यो गीतमा यस्तो शब्द छ भने परिवारले भन्नुहुुन्छ । यसमा नृत्य र हाउभाउ मिसाएर भिडियो बनाउँछु । मलाई मनपर्छ ।’
सानैदेखि हिपहप र बी–बोइङ नृत्य हेरेपछि यसतर्फ आकर्षित भएको सुजल बताउँछिन् । ‘होस्टलमा बस्दा एक जना व्यक्तिले त्यस्तै डान्स गरेको देखेपछि सिकाइदिन भनें । उहाँको मद्दतमा सिकेपछि म यसतर्फ आकर्षित भएकी हुँ ।’
एसईई दिनुअघि सुजललाई र्याम्पमा कसरी हिंड्ने भन्ने कुरा थाहा थिएन । हाउभाउ, शृंगार, फेसनका कुरामा अनभिज्ञ थिइन् । सन् २०२३ मा एउटा सौन्दर्य प्रतियोगितामा उनलाई भाग लिन अनुमति दिइएन ।
‘यो माथिल्लो लेभलको हो, तपाईंले सक्नुहुन्न भनियो । जब मैले यसमा भाग लिएँ, यसमा सफल पनि भएँ’ उनी भन्छिन्, ‘२०२३ मा मलाई बहिरा र अपांग हुँ भन्दा सहभागी हुन दिइएन । मैले प्रतियोगितामा भाग लिएर बहिरा र अपांगता भएकाले पनि भाग लिन सक्छ भनेर देखाउन खोजेकी थिएँ ।’

सन् २०२४ को मिस युनिभर्स नेपालमा सहभागी भएपछि हौसला प्राप्त भएको उनको कथन छ । ‘हामी त्यहाँ बसेको बेला मेन्टरहरूले कसरी आई–कन्ट्याक्ट गर्ने, कसरी र्याम्पमा हिंड्ने भन्ने सिकाउनुहुन्थ्यो’ उनी भन्छिन्, ‘मेरो प्लस प्वाइन्ट भनेको क्याटवाक् सबैभन्दा राम्रो थियो । यो प्रस्तुतिले मलाई चौथो स्थानसम्म पुर्यायो ।’
बहिरा कलाकारको रूपमा आफू ‘रोलमोडल’ बन्न चाहेको र यस्ता प्रतिस्पर्धामा भाग लिएको उनको कथन छ । ‘सुजलले गर्न सक्यो भने अरू बहिरा साथीहरूले पनि गर्न सक्छन् भन्ने सकारात्मक सन्देश जान्छ’ उनले भनिन्, ‘अपांगताले केही अवरोध गर्दैन, हामी अघि बढ्न सक्छौं । चासो दिन आवश्यक पर्छ ।’ बोल्न सक्ने मान्छेले बोल्न नसक्नेलाई पछाडि पार्न नहुने उनको धारणा छ ।
‘बोल्न सक्ने मान्छेले, हामी बोल्न नसक्ने मान्छे भनेर संचारबाट हामीलाई पछाडि पार्नुभएन । हाम्रो सञ्चार भनेको सांकेतिक भाषा हो । सांकेतिक भाषाको माध्यमबाट पनि मनका कुरा भन्न सक्छौं’ भन्छिन्, ‘यसले चाहिं अपांगता भएका व्यक्ति पनि यो क्षेत्रमा जान सक्छन् भनेर राज्यले पनि खोज्नुपर्ने हुन्छ । यसमा राज्यले चासो लिनुपर्छ भन्ने मलाई लाग्छ ।’
सार्वजनिक जीवनमा बहिरा व्यक्तिले भोग्नुपरेको कठिनाइले आफूलाई समुदायमा कार्य गर्न प्रेरित गरेको उनको भनाइ छ । सार्वजनिक यातायात चढ्दा होस् या अस्पतालमा, दैनन्दिन बहिरा व्यक्तिले समस्या भोग्नुपर्छ । ‘हामीले दैनिक रूपमा देख्छौं कि, बहिरा व्यक्ति बाटोमा हिंड्दा दुःख पाइरहेका हुन्छन् । बस स्पिडमा गइसक्या हुन्छ । बहिराले रोक भनेर भन्न पनि सक्दैन’ उनको दुःखेसो छ । यस्तो परिस्थितिमा सडक दुर्घटना हुने जोखिम रहेको उनी बताउँछिन् ।
‘दुर्घटना भयो भने अस्पताल जानुपर्ने हुन्छ, यसमा जिम्मेवार को ?’ उनी प्रश्न गर्छिन् । भन्छिन्, ‘सञ्चार नहुँदा समस्या हुन्छ । हस्पिटल गयो, त्यहाँ पनि त्यस्तै हुन्छ । डाक्टरले बुझ्नुहुन्न, अभिभावकलाई संकेतका विषयमा सबै थाहा हुँदैन । डाक्टरले बहिरा व्यक्तिलाई नभएर अभिभावकलाई भन्दिनुहुन्छ ।’
सार्वजनिक जीवनमा मात्र नभएर परिवारमा समेत बहिरा शिशु जन्मिएपछि माया नगर्ने, हेलाँ र विभेद गर्ने समस्या देखेको उनको अनुभव छ । ‘अभिभावकले पनि सांकेतिक भाषा सिकेर कम्युनिकेसन गर्ने प्रयास गर्नुपर्छ । यस्ता कुराले समुदायमा काम गर्न मलाई प्रेरित गरेको हो’, समुदायको हितमा काम गर्ने आफ्नो उत्साहका सन्दर्भमा उनले भनिन् ।
कलाकारितामा पनि दोभाषे नहुँदा समस्या भोग्नुपरेको उनको गुनासो छ । सफलता मिहिनेतमा निर्भर हुने बताउँदै उनले यसमा राज्य र परिवार पनि जिम्मेवार हुनुपर्ने तर्क गरिन् । सुजल अभिनय र फिल्म क्षेत्रमा पनि काम गर्न चाहन्छिन् । विदेश गएर मोडलिङ गर्ने र प्रतिभा प्रस्तुत गर्ने रुचि छ । यसअघि बहिरा प्रतियोगिताको लागि विदेशबाट अफर आएको तर, कोरोना महामारीले जान नपाएको बताइन् ।
अनलाइनखबरसँग कुरा गरिरहँदा दोभाषे शिलु शर्मा र बुवा टेकबहादुर बम पनि सँगै थिए । बुवा टेकबहादुर छोरीप्रति खुशी देखिए । ‘हाम्रो संयुक्त परिवार हो । नेपाली समाजमा अरू अभिभावकले छोराछोरीलाई जसरी लिन्छन्, त्यसरी नै मैले पनि सामान्य रूपमा लिन्छु’ उनी भन्छन्, ‘प्रायः अपांगता भएका व्यक्तिलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिन्छ । यो भ्रमलाई हामीले चिर्ने प्रयास गरेका छौं ।’
छोरीलाई समाजले हेर्ने नजर र नानाथरी कुराले पीडा अनुभूति हुने गरेको बुवा टेकबहादुर बताउँछन् । ‘व्यक्ति जन्मिने वित्तिकै विभिन्न कुरा घरमा आउँछन् । जसले गर्दा अपांगता भएका व्यक्ति र अभिभावकलाई पीडा भइरहेको हुन्छ’ उनी भन्छन्, ‘त्यो पीडा अनुभूत गरेको छु । तर उसको चाहनालाई हामीले सपोर्ट गरेका छौं ।’
सुजललाई आफूले परिवर्तनको प्रेरणादायी व्यक्तिको रूपमा स्थापित गर्न चाहेको उनले बताए । ‘अपांगता क्षेत्रको लागि मैले यसलाई सकारात्मक आन्दोलनको रूपमा लिएको छु’ उनी भन्छन्, ‘सबैलाई भगवान्ले यस्तो सन्तान दिउन् । अहिले मेरो आफ्नो परिचय नै छैन । छोरीको नामले मेरो परिचयलाई गुमनाम गरिदियो ।’
यसर्थ, सुजल धेरै नेपाली अपांगता भएका युवा पुस्ताको लागि प्रेरणाको स्रोत हुन् । जसले सबलांगसँग प्रतिस्पर्धा गरेर पहिचान बनाउने कार्य गरिरहेकी छिन् र सौन्दर्य प्रतियोगिताको मानक बदल्न भूमिका खेलेकी छिन् ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी