Comments Add Comment

३० रुपैयाँ बोकेर काठमाडौं छिरेका नारायणकाजीको दैनिकी

काठमाडौं । पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दिनभरि के गर्छन् ? यसबारे चियोचर्चो गर्दै अनलाइनखबरको टोली एकाबिहानै ललितपुरको हात्तीवन पुग्दा उनी दुईजना सेक्युरिटी गार्डका साथ ‘मर्निङ वाक’का लागि गेटबाट बाहिरिँदै थिए ।

अनलाइनखबरको क्यामेराले ‘पापाराजी’ले जस्तै बिहानदेखि राति अबेरसम्म नारायणकाजीलाई पछ्यायो ।

Narayan kaji-morning-walk

असीन-पसीन हुँदै मर्निङवाकः नारायणकाजी बिहान ५ बजे मर्निङवाकका लागि घरबाट निस्कन्छन् । मर्निङवाक नगरेको दिन ज्यानमा फूर्ति नआउने उनको अनुभव छ । उनी सधैं एक घण्टा पसिना चुहिने गरी मर्निङ वाक गर्छन् । साथमा दुईजना सुरक्षाकर्मी हुन्छन् ।

काठमाडौंमा मर्निङवाकका लागि व्यवस्थित सडक पेटी र पार्क नहुँदा लाखौं मानिसको स्वाथ्यमा खेलवाड भएकोमा श्रेष्ठलाई चित्त बुझेको छैन ।

kaji-morning-walk_650
शारीरिक व्यायामः मर्निङवाकबाट फर्किएपछि श्रेष्ठ सामान्य व्यायाम गर्छन् अनि  नुहाउँछन् । ईश्वरमा आस्था नराख्ने भौतिकवादी श्रेष्ठमा ध्यान र योगाले आत्माशुद्वी गर्ने विश्वास छ । उनी पूजापाठ र कर्मकाण्ड गर्दैनन् । तर, आध्यात्मवादका सकारात्मक कुराहरुलाई ग्रहण गर्नुपर्ने श्रेष्ठको विश्वास छ ।

narayan Kaji Buddha wani

भित्तामा बुद्धवाणीः मार्क्सले पूर्वीय दर्शन बुझ्न नपाएका कारण सबै धर्मको विरोध गरेको श्रेष्ठको बुझाइ छ । उनलाई आध्यात्मिक व्यक्तित्वमध्ये सबैभन्दा मनपर्ने बुद्ध हुन् । बुद्वका वाणीहरु आफ्नो निवासको कम्पाउण्डको भित्तामासमेत लेखाएका छन् उनले । पूर्वीय दर्शनमा रहेको ध्यानको महत्वबारे उनी सचेत छन् । ध्यानलाई उनी विज्ञान मान्छन् ।

narayan Kaji tharip
घाँटीको थेरापीः घाँटीको नशामा समस्या आएपछि दुई वर्ष पहिले जापानमा शल्यक्रिया गरेका श्रेष्ठले दुखाइ बढेपछि फिजियोथेरापी गराउने गरेका छन् । घाँटीमा पाता राखेका कारण समस्या भएका कारण श्रेष्ठ अहिले पनि सजिलोसँग दायाँ-बायाँ हेर्न सक्दैनन् ।

पछिल्लो समय सामान्य उपचार गर्न पनि नेताहरु विदेश जान लागेको देख्दा नारायणकाजीलाई चित्त बुझेको छैन । उनी भन्छन्-‘यो घाँटीको पाता निकालेर फालौं र मरौं जस्तो लाग्छ ।’
आफूले स्वदेशमै उपचार गर्ने र यहीँ मर्ने बताए पनि साथीभाइको जोडका कारण जापानमा अप्रेसन गर्न जानुपरेको उनको भनाइ छ ।

khana0002

बिहानको खान्कीः कहिल्यै चिया नपिउँने नारायणकाजी बिहान कागती पानीमा मह मिसाएर पिउँछन् । उनलाई कोदो र फापरको रोटी साह्रै मनपर्ने परिकार हो । ब्रेकफास्टमा उनी प्रायः कोदो, फापरको रोटी र कहिलेकाँही पाउरोटी खान्छन् । साथमा एक गिलास दूध पनि ।

नारायणकाजी बिहानको खानामा दाल, भात र तरकारी भात खान्छन् । उनी साकाहारी हुन् । उनले पाँच चिज कहिलै खाँदैनन्- चिया, कफी, रक्सी, मासु र चुरोट । खानामा उनलाई सधैं साग चाहिन्छ । सकेसम्म उनी घरमै खाना खाएर बाहिर निस्कन्छन् ।

Khana_650-1

गुन्द्रुक, मस्यौरा र तीतेकरेला उनलाई मनपर्ने परिकार हुन् । उनलाई सबैभन्दा मनपर्ने पोलेको हरियो मकै हो ।

भूमिगतकालमा तत्कालीन एकताकेन्द्रका महासचिव रहेका बेला उनलाई खोज्न सुराकीहरु मकै पोल्ने ठाउँमा पुगे भने सजिलै पक्राउ पर्ने भन्दै पार्टीका कार्यकर्ताहरुले जिस्क्याउने गरेको श्रेष्ठले बिर्सेका छैनन् ।
narayan Kaji wasing
भाँडा मस्काउने आदतः  हालसम्म अविवाहित श्रेष्ठ आफूले खाना खाएका भाँडा आफैं माझ्छन् । तर, पाहुनालाई भने उनले थाल सफा गर्न दिँदैनन् । यद्यपि एक्ला श्रेष्ठलाई साथ दिन सहयोगी जानुका उनको भान्सामा भेटिइन् । खानेकुरामा यस्तो भएन र उस्तो भएन भनेर नारायणकाजी गुनासो गरेको जानुकाले कहिल्यै  छैनन् ।
narayan Kaji pustak
काजीको पढाइः नारायणकाजी फुर्सद भएसम्म बिहानमा पत्रपत्रिका र पुस्तक अध्ययन गर्छन् । उनलाई साहित्यमा त्यति रुची छैन । उनी विवादास्पद, पोलिटिकल इकोनोमी, सोसियल साइन्स र नेपाल सम्बन्धी कुनै अनुसन्धानसम्बन्धी किताव पाए तत्काल किनेर पढ्छन् ।

उनलाई आत्मकथा पनि साह्रै मन पर्छ । उनले भर्खर निस्केको पूर्वसेनापति रुक्माङगत कटवालको पुस्तक पनि किनिसकेका छन् । तर, पढ्न भ्याएका छैनन् । कहिलेकाँही एकैपटक १० हजारसम्मको किताव किनेको अनुभव छ उनीसँग ।

उनी फुर्सद पाउनासाथ पुस्तक पढिहाल्छन् । पछिल्लो समय भेनेजुएलाको क्रान्तिसम्बन्धी पढेको पुस्तकले मन छोएको उनी बताउँछन् । उनी अरु गिफ्टभन्दा पुस्तक पाउँदा बढी खुशी हुन्छन् ।
morning bhat ghat _650-1

टाइममा पक्काः श्रेष्ठको निवासमा भेट्नका लागि प्रायः नेता, कार्यकर्ता आइरहन्छन् । तर, उनी टाइममा पक्का छन् । उनी कसैलाई एक मिनेट बढी कुराउँदैनन् र अरुलाई कुर्दैनन् पनि ।घरमा भेट्न आउने मानिस समयमा आइनपुगे किन समयमा नआउनुभएको भनेर आफै फोन गर्छन् । टाइम नलिई आएका मानिसलाई भेटै दिँदैनन् । उनलाई भेट्न पहिले नै समय निर्धारण गरी र तोकिएकै समयमा पुग्नुपर्छ । अनलाइनखबरको क्यामेराले हेरिरँदा समय नलिई भेट्न आउनेलाई उनी भन्दै थिए, तपाई टाढा (डडेलधुरा) बाट आएकाले भेट्न पाउनुभयो, नभए समय नलिई आउनेलाई फर्काउँथें ।

narayan Kaji dress
घरबस्दा पाइजामाः नारायणकाजी प्रायः घरमा बस्दा पाइजामा लगाए पनि पार्टी कार्यालय र बाहिर भेटघाटमा जाँदा सर्ट पाइन्ट नै लगाउन रुचाउँछन् । उनको कपडामा कुनै छनोट छैन । उनलाई ब्राण्डको पनि कुनै मतलव छैन । प्रायः आफु कपडा किन्न जाँदैनन् । सहयोगीहरुले ल्याइदिएको कपडामै चित्त बुझाउँछन् । नारायणकाजी भन्छन्- मलाई जे सजिलो र हल्का लाग्छ, त्यही लगाउँछु ।
hatti ban to peris (1)

हात्तीवन टु पेरिसडाँडाः सुरक्षाकर्मी र निजी सवारी साधन त्यागेर सामान्य नागरिक जस्तै सार्वजनिक सवारीमा यात्रा गर्ने नारायणकाजी आफ्नो निवास अगाडिबाट माइक्रो बस चढेर पार्टी कार्यालय पेरिसडाँडा जाने/आउने गर्छन् । ‘मेरो यो आन्दोलन हो ।

hatti ban to peris narayan kaji

पार्टीमा भ्रष्टीकरण बढ्दै गएका कारण यस्तो आन्दोलन थालेको हुँ,’ उनको भनाइ छ, ‘एकपटक मन्त्री हुँदैमा जीन्दगीभर पुग्ने गरी पैसा र महंगा गाडी कहाँबाट आउँछन् ? मेरो पार्टीले यो कुराको बोध नगरेसम्म मेरो आन्दोलन जारी रहन्छ ।’

koteshwor luruluru-650
कोटेश्वरमा लुरुलुरुः कोटेश्वरमा गाडीबाट ओर्लेर पार्टी कार्यालयसम्म पुग्दा करिव ४/५ जना मान्छेबाट नमस्कार थापे । ‘बधाइ छ हजुर, धेरै राम्रो काम गर्नु भएको छ, यो त सबै पार्टीका नेताले सिक्नु पर्ने हो नि ।’ गाडीमा यात्रुले उनलाई भने ।narayan Kaji koteshwor luru luru

पार्टी कार्यालय पेरिसडाँडामा एक जना पीएसओ सँगै लुरुलुरु हिँडेर पुग्दा कार्यालयको झ्याल र दायाँबायाँ रहेका नेता तथा कार्यकर्ता  उनलाई हेर्दै मुसुमुसु हाँसिरहेका भेटिए ।
nepal yateyat narayan kaji
नेपाल यातायात जिन्दावाद ! पार्टी कार्यालयको मिटिङ सकेपछि नारायणकाजी प्रचण्डनिवास लाजिम्पाटतर्फ लागे । नारायणकाजीले सोधे- यहाँबाट सीधै लाजिम्पाट पुग्ने एउटै गाडी छैन ? उनलाई जवाफ आयो, नेपाल यातायात बालुवाटारसम्म पुग्छ, तर साह्रै भीड हुन्छ ।

nepal yateyat narayan kaji (2)

भीड नै भए पनि फरक पर्दैन भन्दै श्रेष्ठले नेपाल यातायात चढ्ने निधो गरे । संयोगवस त्यहाँ एउटा सीट खाली रहेछ । उनी त्यही सीटमा बसे । अगाडि ‘महिला’ लेखेको सीटमा पुरुष बसेको र महिला उभिएको देखेपछि तत्काल उनले ती दुईजना पुरुषलाई उठाएर महिलालाई बस्न भने । उनले चालक र सहचालकलाई अबदेखि यस्तो हुन नदिनू भन्दै सम्झाए ।

narayan Kaji Baluawatar to lazimpat
बालुवाटार टु लाजिम्पाटः वालुबाटारमा नेपाल यातायातबाट ओर्लेर करिव १० मिनेट हिँडेपछि श्रेष्ठ प्रचण्डनिवास पुगेे । काठमाडौंको बाटोमा सर्वसाधारणले जस्तो समस्या भोग्छन्, पूर्वमन्त्री श्रेष्ठले पनि त्यस्तै भुक्तमान भोगे, कतै हिलो, कतै आहाल । प्रचण्ड निवासमा केही कर्मचारीले अरुलाई सोध्दै थिए, नारायणकाजी हिँडेरै यहाँसम्म आएका हुन् ?

prachanda anfd narayan kaji
लाजिम्पाटको छतमा एक क्लिकः अध्यक्ष प्रचण्डले अनौपचारिक वार्ताका लागि श्रेष्ठलाई निवासमा बोलाएका रहेछन् । प्रचण्ड निवासमा एमाओवादी नेताहरुको आउने- जाने क्रम चलिरहेको थियो । करिव तीन घण्टापछि ढुकेपछि ‘पापाराजी’हरु प्रचण्डनिवासको छतमै पुगे, जहाँ दुई जनामात्रै गफ गरिरहेका थिए ।

sajha yateyat

 साझाबसमा जो पनि चढ्दछन्ः प्रचण्डनिवासबाट लुरुलुरु हिँडेर निस्कँदै गर्दा केही नेताले नारायणकाजीलाई गाडीमा घर पुर्‍याइदिने आग्रह गरे । तर, नारायणकाजीले मानेेनन् । उनी लाजिम्पाट चोकबाट लगनखेलसम्म जाने साझा यातायातमा चढे ।

साझा बसमा केहीबेर उभिएपछि सीट खाली भयो । साझा यातायातमा पनि उनले महिलाको सीटमा बसेका पुरुषलाई उठाउन भ्याए । ‘चेतना नभएका कारण यस्तो भएको हो’ यात्रु, गाडीचालक र सहचालकको लापरवाहीबारे गफिँदै उनी लगनखेल पुगे ।

lagan khal to hattiban narayan kaji

हात्तीवन, हरिसिद्धी ! लगनखेलमा साझा बसबाट ओर्लिएर हात्तीवनको माइक्रो चढ्दा त्यहाँ मान्छे बस्ने ठाउँ थिएन, जेनतेन सीट मिल्यो । सहचालक कराइरहेका थिए, एई… हात्तीवन, हरिसिद्धी !
एक्कासी माइक्रोे चालकले अत्तालिँदै खासखुस गरे, ‘यो नारायणकाजी होइन ?’ त्यहाँ बसेका सर्वसाधारणले नारायणकाजी नै भएको बताएपछि तत्काल सहचालकलाई बोलाएर चालकले भने ‘बाबु सीटभन्दा धेरै मान्छे नराख है । र, सबैसँग मीठो बोल है, गाडी भरिएको छ, मान्छे नउभ्याई हिँडिहालौं ।’ तत्काल गाडी हिँड्यो । नारायणकाजी राति ८ बजे निवासमा पुगे ।

narayan Kaji public relation_650

गाडीभित्रै ‘हेल्लो सरकार’ ! नारायणकाजी सार्वजनिक गाडीमा सेलिब्रेटी जस्तै बनिसकेका रहेछन् । गाडीमा उनलाई नचिन्ने मानिस कमै छन् । गाडीको यात्रामा भेट्ने मान्छेले त्यहीँभित्र आफ्ना समस्या राख्ने तथा श्रेष्ठलाई धन्यवाद दिने गर्छन् ।

नारायणकाजी गाढी चढेको थाहा पाएपछि गाडी स्टाफहरुको सर्वसाधारणलाई गर्ने व्यवहार नै फरक हुन्छ । उनी सबैसँग सजिलै बोल्ने र सर्वसाधारणको गुनासो सुन्ने गर्दारहेछन् । उपप्रधानमन्त्री भैसकेका उनलाई सार्वजनिक गाडीमा देख्दा सर्वसाधारण पनि छक्कै पर्दारहेछन् ।

नेपाल यातयातमा भेटिएका जनयुद्वकालमा जागिर छोडेका पूर्वप्रहरीले नारायणकाजीलाई गुनासो राख्न पाएकोमा खुसी व्यक्त गरे । उनलाई बधाइ दिने र नमस्कार गर्नेको घुइँचो नै देखियो सार्वजनिक यातायातभित्र ।

रातिसम्म भीडभाडः राति ८ बजे घर पुगेका नारायकाजीलाई भेट्न कार्यकर्ताले कुरिरहेका थिए । उनले ड्रेस नफेरी कार्यकर्तालाई भेट्न थाले । खाजा पनि खान भ्याएनन् ।
night ko khana (6)
काजीको डिनरः कार्यकर्ता भेटघाट सकेपछि उनी कपडा फेरेर खाना खान तयार भए । बेलुकाको खानामा उनी मकैको च्याँख्ला, कोदो या फापरको ढिँडो खान बढी रुचाउँछन् । तर, पाहुना भएका बेला उनको भान्सामा भात तरकारी नै पाकेको हुन्छ । बेलुका खाना खाएपछि उनी अध्ययनमा लाग्छन् । जति थकित भए पनि आफूले खाएका भाँडा माझ्ने बानी उनले छाडेका छैनन् ।

३० रुपैयाँ बोकेर काठमाडौं: एमाओवादी नेता श्रेष्ठ ३० रुपैयाँ बोकेर गोरखाबाट काठमाडौं छिरेका हुन् । गोरखाको गाउँमा रहेको उनको परिवार शुरुमा धनी किसान वर्गको भए पनि पछि आर्थिक अवस्था खस्केको उनको भनाइ छ । गाउँमा छँदा बाख्रा चराउने गरेको उनी सम्भिmइरहन्छन् । विद्यालय पढुञ्जेल उनको रोल नम्बर एक थियो ।
नेता नारायणकाजीले अहिले आफ्नो व्यक्तिगत सम्पत्ति नरहेको बताउने गरेका छन् । त्यसो त उनको अपुताली खानका लागि छोराछोरी वा पत्नी पनि छैनन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजस्तै एक्ला नेता हुन् ।

paijama-narayan-kajiडाक्टर बन्ने रहरः नारायणकाजीले सुरुमा डाक्टर बन्ने लक्ष लिएका रहेछन् । त्यही भएर उनी त्रिवि शिक्षण अस्पताल अन्तरगतको मेडिकल कलेजमा भर्ना भएछन् । तर, मान्छेको डाक्टरी गर्नुपर्ने व्यक्ति विस्तारै समाजको अप्रेसन गर्ने राजनीतितिर तानिएर भूमिगत बन्न पुगे ।

मन्त्री हुँदाको कर्म : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री बन्दा आफूले गरेको कामप्रति नारायणकाजीलाई गर्व छ । ०५७ सालमै व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाइसकेको र मन्त्री बन्दा पनि केही नकमाएको उनको दाबी छ । राष्ट्रियतालाई केन्द्रमा राखेर काम गरेको, प्रणाली स्थापनामा जोड दिएको र भ्रष्टाचारविरोधी काम गरेको भन्दै उनी सन्तुष्ट देखिन्छन् ।

पहिले कांग्रेस, पछि कम्युनिष्टः  नारायणकाजी सुरुमा कांग्रेस रहेछन् । कांग्रेसको विद्यार्थी राजनीतिमा काम गर्दागर्दै ०३३ सालमा वीपीले राष्ट्रिय मेलमिलापको नीति लिएपछि कांग्रेस पञ्चायतपरस्त र राजपरस्त भएको भन्दै श्रेष्ठ कम्युनिष्ट पार्टीतर्फ आकषिर्त भएका रहेछन् । वीपीको ‘मेलमिलापको नीति’ श्रेष्ठलाई पटक्कै मन पर्दैन ।

sister

सुसन दम्पतीको साथः नारायणकाजीको निजी सचिवको भूमिका खेलिरहेकी सुसन कर्माचार्य संस्थापक कम्युनिष्ट नेता नरबहादुर कर्माचार्यकी भतिजी हुन् । जापानमा अध्ययन गरेकी सुसनमा व्यवस्थापकीय क्षमता अन्य एमाओवादी नेताका स्वकीय सचिवमा भन्दा अब्बल रहेको बताइन्छ । सुसनका पति लक्ष्मण श्रेष्ठले  नारायणकाजीको घरायसी समस्याको व्यवस्थापन गरेका छन् । सुसनले चाँहि उनको अफिसियल कामको ‘म्यानेजमेन्ट’ गर्छिन् । अनलाइनखबरको टोली साँझमा काजीनिवास पुग्दा त्यहाँ सुसन र लक्ष्मण दुबै भेटिए ।
भिडियो

 भिडियो तथा तस्वीरः  श्रीधर पौडेल / अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment