Comments Add Comment

केपी ओलीको बटमलाइन : माधव नेपाल बाहेकको एमाले एकता

स्पष्टीकरण सोध्ने प्रस्ताव, केन्द्रीय सदस्यहरुले गरे विरोध

४ साउन, काठमाडौं । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भोलिपल्ट सोमबार नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्यो र २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गर्‍यो ।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको बैठकमा अध्यक्ष ओलीले झण्डै एक घण्टा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले फ्लोर क्रस गर्ने सांसदहरुलाई स्पष्टीकरण सोध्ने मात्र के बताएका थिए, हलले प्रतिवाद गर्‍यो । एक केन्द्रीय सदस्य भन्छन्, ‘फ्लोर क्रस गरेर गइसकेपछि स्पष्टीकरण किन सोध्ने ? अहिलेको अहिल्यै कारबाही गर्नुपर्छ भनेर एकछिन हो–हल्ला भयो ।’

उनका अनुसार शुरुमा राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक रहेका खिमलाल भट्टराई उठेर विरोध गरेका थिए । त्यसपछि अरु पनि उठेर ‘हुन्न हुन्न’ भनेका थिए । हलमा सहभागीमध्ये झण्डै ३० प्रतिशत उठेर विरोध गरेको एक सहभागीले सुनाए । मञ्चमा बसेका ओलीसहित स्थायी कमिटीका नेताहरुले केहीबेर हेरिमात्र रहे । केहीबेर मौन बसेपछि बोलेका अध्यक्ष ओलीले कानुनी प्रक्रिया पुर्‍याउन पनि उनीहरुलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका थिए ।

बरु उनले २४ घण्टे स्पष्टीकरण सोध्ने र १० बुँदे सहमति अनुमोदन गर्ने प्रस्ताव अनुमोदन गर्न लगाए । सहभागी केन्द्रीय सदस्यहरुले ताली बजाएर अनुमोदन गरे । ओलीले साउनमा गर्ने भनिएको विधान अधिवेशन केही पछि सार्नुपर्ने जस्तो देखिएको र संगठन व्यवस्थापनबारे पनि निर्णय गर्नुपर्ने भन्दै भोलि (मंगलबार) ३ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् ।त्यसपछि नेता महेश बस्नेत उठेर प्रतिवाद गरे । बस्नेतले कानूनी प्रक्रिया पुर्‍याउने नाममा छुट दिइरहँदा राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारी गरेको दाबी गरे । पार्टी रक्षात्मक भइसकेकाले कहिलेसम्म सोच्दै बस्ने भन्ने उनको प्रश्न थियो । तर अध्यक्ष ओलीले उनलाई कुनै जवाफ दिएनन् ।

माधव नेपालसँग कुनै हालतमा हुन्न

बैठकमा सहभागी नेताहरुका अनुसार सोमबारको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओली ‘माधव नेपालसँग कुनै हालतमा एकता हुन्न’ भन्ने मुडमा प्रस्तुत भएका थिए ।

नेता नेपाल नेपाली कम्युनिष्ट आन्दोलनकै गद्दार भएको दोहोर्‍याएका ओलीले अघि भनेका छन्, ‘अरु साथीहरु आत्मालोचना गरेर कमजोरी स्वीकार गर्दा हुन्छ, तर माधव नेपालले जे गरे पनि ठाउँ छैन ।’

आइतबार मात्र तत्कालीन कार्यदलका सदस्यहरुसँग भएको भेटमा नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको सुनाउँदै उनले भने, ‘आफ्नो पार्टीको सरकार ढाल्ने अपराध गर्ने, अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’

एक नेताका अनुसार माधव नेपाल समूहमा देखिएको मतभेदले पनि ओलीलाई उनीबाहेकका नेतालाई एकतावद्ध गरेर अघि बढ्ने निर्णयमा पुर्‍याएको हुनसक्छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेता नेपालको निर्णयमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष भीम रावलले आइतबार मात्र प्रतिनिधिसभा सदस्यबाटै राजीनामा दिएका थिए । रावलको यो कदमलाई ओलीले अर्थपूर्ण मानेका छन् ।

एमाले एकताका लागि प्रयासरत र माधव नेपाल समूहमा रहेका उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायतका १० जनाले पनि देउवालाई विश्वासको मत दिनुका साटो संसद बैठक नै छाडेर हिंडेका थिए । यद्यपि उनीहरुबारे ओलीले सोमबारको सम्बोधनमा केही भनेनन् । आत्मालोचना गरेर आए पार्टीमा भूमिका दिन्छौं भनेकाले उनीहरुका लागि ठाउँ राखेको एक नेताले सुनाए

तर ओलीले माधव नेपाललाई छाडेर एमाले पार्टीलाई अघि बढाउन प्रयास गर्ने प्रष्ट संकेत गरेका छन् । जस्तो, पार्टी एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमतिलाई अनुमोदन गराएका उनले यो बैठकलाई दशौं केन्द्रीय कमिटी भनेका छन् ।

जबकि २८ फागुनमा एकलौटी बैठक राखेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खारेज गरे भने १८ असारसम्म आइपुग्दा १३ औं केन्द्रीय कमिटी बैठक राखिसकेका थिए । तर २७ असारमा भएको १० बुँदे सहमतिलाई एकपक्षीय बैठकबाटै अनुमोदन गराएका उनले माधव नेपालले नमानेको आरोप लगाए । अर्थात् उनी नेपाल समूहका अन्य नेताहरुलाई तान्न चाहन्छन् ।

दशबुँदे सहमति गरेका कार्यदलका सदस्यहरुले सहमतिमा बैठक बोलाउने र त्यसअघि दुई नेता (ओली र नेपाल) लाई भेट गराउने प्रयत्नमा जुटेका थिए । त्यो प्रयास सफल नहुँदै सर्वोच्च अदालतले संसद पुनर्स्थापना मात्र गरेन, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो ।

आफ्नै सांसदहरुले देउवालाई समर्थन दिएका कारण पदच्युत हुनु परेको निष्कर्षमा पुगेका ओलीले बालुवाटारबाट बालकोट पुगेपछि माधव नेपाललाई गद्दार घोषणा गरे ।

त्यसको प्रतिउत्तरमा नेपालले आफ्नो समूहका सांसद मात्र होइन, आफू निकट केही सांसदलाई समेत तानेर देउवालाई भोट हाल्न लगाएपछि ओली थप आक्रोशित देखिएका छन् र माधव नेपाललाई छाडेर अघि बढ्न चाहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment