Comments Add Comment

एमाले सांसद भीम रावलले दिए राजीनामा

३ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपाल पक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन् ।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए ।

‘यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु’ उनले राजीनामा पत्रमा लेखेका छन् ।

सांसद रावलको राजीनामा पत्र हेर्नुहोस्

सम्माननीय सभामुखज्यू,

प्रतिनिधिसभा, सिंहदरबार काठमाडौं ।

विषय : राजीनामा ।

महोदय,

झण्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोह अवरोह तथा घात प्रतिघात व्यहोरेको छु र तिनको सामना गरेको छु । यो सबै मैले मातृभूमि नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान तथा नेपाली जनताको अधिकार र समृद्धिको लागि गरेको थिएँ ।

राजनीति र त्यसका सबै संयन्त्रहरु राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमान र जनताको सुख समृद्धिमा समर्पित हुने विश्वास गरेको थिएँ । तर राजनीतिक नेतृत्वबाट त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौं पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गए । फलस्वरुप आज नेपाल र नेपालीको शीर निहुरिँदै गएको छ ।

अझ केही समय यता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि-पद्धतिलाई आफ्नो कुत्सित एवम् निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी-निरंकुश किसिमको काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ । यस्ता विकृत तथा देश र जनताको हित विपरितका क्रियाकलापका विरुद्ध जुझ्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवम् राजनीतिकर्मीको हैसियतले मैले अधिकतम् प्रयत्न गरेँ ।

तर पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ ।

यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलगत हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment