+
+
Shares
कासाने : वाइल्ड लाइफ :

‘जिपमा आएको व्यक्तिले बाटोमा दुईवटा सिंह देखें’ भनेपछि पिसाब चुहिएला जस्तो भयो’

पुष्कर शाह पुष्कर शाह
२०८२ कात्तिक २५ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व साइकलयात्री पुष्कर शाहले बोत्स्वानाको जङ्गलमा दुई सय किलोमिटर साइकल यात्रा गर्ने क्रममा जङ्गली जनावरहरूको जोखिम सामना गर्नुपरेको अनुभव सुनाए।

‘कहाँ जाने ?’

‘कासाने ।’

‘साइकलमा ?’

‘अँ !’

‘तिमी पागल भएका छ छैनौ ?’

‘किन ?’

‘बाटोमा जङ्गली जनावर छन् । जङ्गली जनावर ! शुद्ध जङ्गली जनावर ! सिंहले तिमीलाई चपाउँछ ! चितुवाले तर्साउँछ र हात्तीहरू भेटिनेछन् !’ ‘सिंहले मेरो साइकललाई मन पराउला र, स्वादिला मृगहरू चपाउन छाडेर !’, मैले आफ्नै पाराले आश्चर्यमिश्रित ठट्टा गरेँ ।

‘सिंहले कैयनपटक मान्छे खाएको समाचार छ । नेशनल पार्कका गार्डहरूसमेत मारेको छ, उनीहरूसँग बन्दुक हुँदाहुँदै पनि !’

नातादेखि पान्दामातेङसम्म दुई सय किलोमिटर पूरै जङ्गल पार गर्नुपर्छ । ‘आ, जे पर्लापर्ला म साइकलमै पार गर्छु’ भनेर कस्सिएँ । चिडियाखानामा बन्दी जीवन बिताएका जनावरहरूलाई मैले प्रत्यक्ष हेरूँ न त भन्ने सोच बनाएँ । नातामा मसँग कुरा गर्नेहरूजतिले ‘गुडलक’ भनेर मलाई यात्राको शुभकामना दिए । बिस्तारै नाता शहर टाढिँदै गयो।

बाटोमा एउटा लहरे फल पाइन्छ । लाकाका जङ्गलमा बस्ने बुराम्यानहरूले पानीको सट्टामा त्यसलाई खान्छन् । गाडीहरू कतै देखिँदैनन्, सडक सुनसानजस्तै छ । कहिलेकाहीँ त सडक स्केलजस्तै देखिन्छ । जति दौडिए पनि कहीँ नपुगेजस्तै लाग्ने । बिचरा अहिले सडक पनि एक्लै छ । धन्न मेरो साइकल साथी पाएको छ । सडक एक्लै हुनुको मज्जा मेरो साइकलले पाएको छ । सडक र साइकल एक्ला-एक्लै हुनुको मज्जा दुवैले पाएका छन् । जङ्गली जनावरहरूको अनुहार देखिहाल्ने बेला भएको छैन ।

चराहरूमात्र गीत गाउँदै छन् । म कहिलेकाहीँ देब्रे हातले साइकल समातेर दाहिने हातले सुसेली हाल्छु । चराहरूलाई मेरो सुसेली पनि अनौठो लाग्दो हो । अझ जङ्गली जनावरलाई त झनै अनौठो लाग्ने नै भो ! यदि तिनीहरूले सुनिहाले भने । हजारौँ पुतलीहरू एकतर्फी उडिरहेछन् । सायद उनीहरू कतै बसाइँ सरिरहेछन् । आज कुनै केटाकेटीहरूको अनुहार देखिनेछैन । ‘हेल्लो, हेल्लो ! मनी, मनी !’ भन्दै साइकलपछि दौडिने आवाजहरू सुनिनेछैन ।

भेटिए भने हात्तीका छावा र बाघका डमरुहरू भेटिनेछन् । उनीहरू मलाई ‘हेल्लो, हेल्लो, नेपाली म्यान’ पनि भन्ने छैनन् । उनीहरूलाई मेरो सोनी क्यामेराचाहिँ मन पर्न सक्छ । तर तिनीहरूका आमाले मलाई सोनी क्यामेरा चलाउन दिने हुन् कि हैनन् ! आज साँझसम्म केही गरी म पान्दामातेङ्ग पुगिनँ भने जङ्गलमा कतै टेन्ट टाँगेर रात बिताउनुपर्ला ।

टेन्ट टाँगेर सुत्दाखेरि गाउँभरिका केटाकेटी मेरो टेन्टवरिपरि झुम्मिन्थे । टेन्टवरिपरि घुमेर नाच्थे, रमाउँथे । आज भने जङ्गली जनावरका बच्चाहरू मेरो टेन्ट हेर्न, घेर्न आउन सक्छन् । बँदेल मेरो टेन्टमा ढाड कन्याउन आउन सक्छ । साँच्चै, आजको दुई सय किलोमिटर दूरी पार गरिनँ भने खुबै आनन्द आउनेछ । आजको रात यात्राको ‘वाइल्ड लाइफ नाइट’ हुनेछ । मेरो सोनी क्यामेराले फुर्सद पाउनेछैन ।

नाता टाढिँदै गयो । पान्दामातेङ्ग नजिकिँदै आयो । सडक पूरै समथर भएकाले साइकल कुदाउन कुनै कष्ट त छैन तर म दुई शहरको दुई सय किलोमिटर बीचको जङ्गलमा दौडिरहेछु भन्ने कल्पना गर्दा चाहिँ बिस्तार–बिस्तारै डर शुरु भयो । फाट्टफुट्ट बेलाबेलामा गाडीहरू दौडिन्छन् । त्यतिबेला डर हराएर फेरि जङ्गलभित्रै भाग्छ । गाडीका ड्राइभरहरू मलाई झ्यालबाट मुन्टो निकालेर ‘हे क्रेजी म्यान’ भन्दै चिच्याउँछन् । उनीहरूको त्यो शब्दले साँच्चै म पागल मान्छे नै हुँ कि क्या हो झै’ लाग्छ ।

‘कठै ! म पागल हुँ कि मेरो साइकल ? वा दुवै !’ गाडीहरू गइसकेपछि सडकमा मेरो साइकलको पाङ्ग्राको आवाज पनि अनौठो लाग्दो हो सुन्ने जनावरहरूलाई । आवाजको प्रदूषण नभएको बेला जङ्गलबाट सर्‍याक्क गरेको आवाज निस्किँदा पनि जीउ जिरिङ्ग हुन्छ । कुनै हिंस्रक जङ्गली जनावरले आक्रमण गर्‍यो भने मैले खुकुरी झिक्न पनि भ्याउँदिनँ । साइकललाई केही नगरे पनि, साइकलको झोलामा भएको खानेकुरा नखोतले पनि मलाई चाहिँ कप्ल्याककुप्लुक पार्छन् । बाटोमा जिउँदा मृगहरू देख्दा पनि साहस बढ्छ ।

आधि बाटो हिँडेपछि जङ्गलको बीचमा निकुञ्जको चेकपोस्ट रहेछ । आजलाई आधि दिन बाँचेजस्तै भो मलाई । चेकपोस्टमा पान्दामातेङ्गबाट आउने गाडीहरूमात्र जाँच हुँदा रहेछन् । त्यहाँ कहाँ जान लागेको बाहेक मलाई केही सोधपुछ भएन । म साइकलमा कासाने जान लागेको भन्दा बन्दुक बोकेर बसेका निकुञ्जका सुरक्षाकर्मीहरूसमेत ट्वाँ परेर मलाई र साइकललाई एकटकले नियालिरहेका थिए । एउटा सुरक्षाकर्मीले त ‘सकेसम्म जिउँदै जानू’ भनेर व्यङ्ग्यसमेत गर्‍यो । उसको कुरा सुन्दा म आजको आधि बाटोसम्म पनि बाँच्दिनँ कि क्या हो झैँ भयो । धेरैले गुडलक भने तर उनीहरूको गुडलकले ममा कुनै आँट बढेको थिएन । अझै एक सय किलोमिटर भन्दा बढी जङ्गल पार गर्न बाँकी नै थियो । पाँच–छ घण्टा त त्यसै पनि लागिहाल्छ । ढिला गरी साँझसम्म पुग्छु भन्ने लागिरहेको छ । मलाई प्याडलको थकाइले भन्दा पनि डरले थकाइरहेछ ।

‘वीरताको चिनो… लाहुरेको निशानी…’ गीत गुनगुनाउँदै एक घण्टाको बाटो काटेँ । आखिर साहसी लाहुरेको छोरो न थिएँ म ! पान्दामातेङ्गबाट आएको एउटा जिपले मलाई रोक्यो । ड्राइभरले झ्यालबाटै ‘त्यहाँ अलि अगाडि दुइटा सिंह देखेँ’ भन्यो । उसको कुरा सुनेर मलाई तुरुक्क मुत चुहिएला जस्तै भयो । यिनकी आमा काली, यही ड्राइभरले चाहिँ किन देख्नुपरेको होला सिंह ! त्यो पनि दुई, दुइटा । ‘होसियारपूर्वक जानू ! यदि सिंहले तिमीलाई देखिहाल्यो भने चुपचाप ठाउँको ठाउँ उभिएर बस्नू !’ त्यति सल्लाह दिएर ऊ नातातिर हुइँकियो । उसको सल्लाहले मात्र सिंहसँग बच्ने उपाय पूरा हुँदैन ।

मसँग सिंहलाई तह लगाउने अरू कुनै उपाय र चिज छैन । खुकुरी निकालेर हिँडौँ भने पनि यहाँको राज्यको नियमले नदेला । यहाँको शुद्ध जङ्गली जनावरलाई माया गर्ने मसँग शुद्ध जापानी सोनी क्यामेरा छ । ती जनावरहरूले शुद्ध जापानी क्यामेरा चिनेर मुस्कुराउँदै मलाई बाटो छोड्छन् कि छोड्दैनन्, चिन्ता थपिन थाल्यो । मेरो मनले मलाई आदेश दियो, ‘पुष्करे, अब तँ यो बाटो पार गर्न सक्दैनस् !’

फर्किएर अघि पार गरेको चेकपोस्टमा जाने सोच बनाएँ । आखिर ज्यान रहे न भोलिको यात्रा निरन्तर हुन्छ । अझै कति दुःखहरू सम्हाल्नु त छँदैछ । आजकै त्रासमा यात्रा किन अन्त्य गर्नु भनेर चेकपोस्टतिरै फर्किँदै थिएँ, पाँच किलोमिटर हिँडेपछि नाताबाट एउटा जिप आयो । मैले त्यसलाई रोकेँ र भनेँ, ‘म कासाने जाँदै थिएँ, बाटोमा सिंह देखेर डर लाग्यो अनि फर्किएको, मलाई पान्दामातेङ्गसम्म उद्धार गरिदिनुपर्‍यो ।’ मेरो प्रस्तावलाई जिप ड्राइभरले सहजै स्वीकार गर्‍यो ।

जिपमा साइकल राखेर बस्नासाथै ड्राइभरले सोध्यो, ‘यस्तो खतरनाक बोत्स्वानाको जङ्गलमा एक्लै साइकल दौडाउने तिमी कुन देशको मूर्ख हौ ? नाम के हो ?’

‘नेपाल ! नाम पुष्कर शाह !’, मैले भनें ।

‘नेपाल भन्ने पनि देश छ र ?’, उसले टाउको कन्याएर नेपाल सम्झिने कोसिस गर्‍यो । अनि आफ्नो नाम बतायो, ‘माई नेम इज बारुती !’

‘यहाँ त मान्छेहरू बन्दुक बोकेर हिँड्न पनि डराउँछन्, तिमी त बडो सुरो पो रहेछौ !’, ऊ बोल्दै गयो ।

‘नेपालीहरू सुरो हुन्छन् नि सोल्टी !’, मैले ठट्टा गर्दै भने’ ।

‘ए साँच्चि, नेपाल पनि देश हो रे !’, उसले फेरि टाउको कन्यायो ।

‘हो नि ! एसियाको एउटा सानो देश, जहाँ संसारकै सबैभन्दा अग्लो सगरमाथा उभिएको छ ।’

‘त्यत्रो सानो देशमा त्यत्रो ठूलो सगरमाथा कसरी उभिएको होला है !’, उसले पनि मलाई मज्जाले हँसायो । स्कुलमा पढाउने शिक्षक रहेछ । सगरमाथा थाहा भएको । नेपाल भन्ने देश संसारमा छ भन्ने थाहा नभएको । भूगोलमा फेल भएको मास्टर !

‘बुद्धको नाम सुनेका छौ ?’, मैले फेरि सोधेँ ।

ऊ निकै बेर घोरियो र सुनेजस्तो पारामा भन्यो, ‘अँ, अँ… तर बुद्ध भनेको को रे ?’ मैले बुद्ध र शान्तिको सन्देशबारे बताएँ । शान्तिप्रिय मानिस भएको कुरा गरेँ ।

‘अनि नेपालका मान्छे सुरो हुन्छन् भनेको होइन त !’, उसले शान्तिको कुरा सुन्नासाथ अघिको प्रसङ्गलाई फेरि अगाडि बढायो ।

‘हो त नि !’, मैले छोटो उत्तर दिएँ ।

‘के–के गर्नमा सुरो ?’, उसले फेरि सोध्यो ।

‘जेमा पनि !’

‘हिमाल चढ्न !’

‘साइकल चढेर विश्व घुम्न !’

‘ए साँच्चि, साइकल चढेर विश्व भ्रमण गरिरहेको मान्छे हुँ नि म !’, मैले उसलाई मेरो यात्राबारे बताएँ ।

‘ए हो र !’, हल्का टाउको कन्याएर उसको कालो रङमा रातो मिसिएको ओठ लेब्य्रायो । सायद पत्याएन ।

‘अनि अरू के–के सुरो ?’, फेरि सोध्यो, ‘युद्ध लड्न पनि हो ?’

‘नेपाली, गोर्खाली सिपाहीहरू युद्धमा निपुण छन् ।’, मैले धाक लगाएजसरी बोलें कि क्या हो, उसले यो कुरालाई सहजै पत्याएन ।

‘अरू केमा सुरो ?’, फेरि सोध्यो ।

‘त्यति नै हो ।’

‘सेक्स गर्नमा सुरो छैनौ ?’

‘त्यो त संसारमा सबै देशका मानिसहरू छन् नि ! प्रकृतिले नै संसारका सबै मान्छेलाई सेक्समा सुरो बनाएको छ । सम्भोगमात्र एउटा यस्तो चिज होला, जुन हरेक मान्छेले विनातालिम, कसैले नसिकाई आफैँ गर्न सक्छ ।’, मैले अलिकति दार्शनिकजस्तै पारामा बोलेँ ।

उसले बुझेझैँ गरी उही कालो, रातो, मोटो ओठबाट एक टुक्रा हाँसो फिस्स फाल्यो ।

‘उसो भए नेपालीहरू सेक्समा सुरो ?’, उसले मलाई हल्का जिस्काइरहेको भान हुन्थ्यो ।

‘हो नि यार !’, मैले भने’ ।

‘तिम्रो त्यो सुरो तुरी त यहाँको सिंहले भेट्यो भने मर्‍याकमुरुक पनि नपारी तिमीलाई जीउसितै कुप्लुक्कै निलिदिन्छ ! मूर्ख, यस्तो खतरनाक ठाउँमा एक्लै हिँडेर नेपाली सुरोपन नदेखाऊ । धन्न म आउँदै थिएँ र तिमी बाँच्यौ ।’ उसले यसरी धाक लगायो कि आजको साँझसम्म म यहीं जङ्गलमा कुनै जङ्गली जनावरबाट तुरीसहित मर्दै थिएँ ।

‘तिमी मेरो भगवान् बनेर आयौ यार !’, मैले उसलाई धन्यवाद दिएँ ।

‘एकछिन फोटो खिच्छु है’ भनेर मैले क्यामेरा निकालेर बसें । ऊ मसँग बोल्न छोडेर एक तमासले गाडी कुदाउन थाल्यो ।

छावा डोर्‍याएर हात्तीहरू बाटो काटिरहेछन् । तिनीहरू त्यति अनुशासित छैनन् । बीच सडकमै दिसा गरेर हिँड्छन् । उनीहरू ठान्दा हुन्, उनीहरू जङ्गलका भीमकाय जनावर हुन् । जङ्गलका राजा भनाउँदा सिंहहरू सडकमा देखा पर्दैनन् । बाटोभरि बबुनहरू ओहोरदोहोर गरेका देखिन्छन् । कुनै खतरनाक जनावरहरू नदेखीकन पान्दामातेङ्ग पुगियो ।

मलाई सबै मान्छेका डरको विषय बनेका सिंह, चितुवा र बाघहरू खुल्ला जङ्गलमा प्रत्यक्ष हेर्ने रहर छ- त्यो पनि आँखैअगाडि । हिँडेको बाटोमा सित्तैंमा हेर्न नपाएपछि अब तिनीहरूलाई हेर्न चोबे नेशनल पार्कमा जानुपर्नेछ ।

थेवे रिभर क्याम्पमा बिहान ढिला उठ्ने सायद म नै थिएँ होला । नेशनल पार्क घुम्ने बिहानको टुर गइसकेछ । अब अपराह्नको टुरमात्र थियो । बिहानको खाजा खाएर साइकलमा कासाने बजार गएँ । दिउँसो ३:३० बजे 1९० पुला तिरेर जिप टुरमा मिसिएँ । निकुञ्जमा प्रवेश गर्नासाथै हामीले एउटा जङ्गली हात्ती देख्यौँ ।

हात्तीहरू प्रायः बथानबाट यसरी एक्लै नहिँड्ने कुरा गाइडले हामीलाई बतायो । तर किन भनेर त्यसको उत्तर भने उसले दिएन । मनमनै सोचें, ‘सायद उसकी प्रेमिकाले छोडेर गइहोली ।’

जङ्गलमा जताततै बबुनहरू झगडा गरिरहेका थिए । बबुन र बाँदरहरूको झगडा गर्ने त पुख्र्यौली स्वभाव नै हो । इम्पाला बथानहरूले कहिलेकाहीँ टुरको जिप नै रोकिदिन्छन् । बबुन र बाँदरहरूको झगडाका बीचमा फेरि एक हूल हात्तीहरू देखापर्छन् । भर्खर जन्मिएका छावाहरूसहित हात्तीहरू पानीमा खेलिरहेका देखिन्छन् ।

‘हात्तीको यौन सम्पर्क गर्ने कुनै मौसम हुँदैन । उनीहरू अरू जनावरजस्तो बच्चा जन्माउनलाई कुनै मौसमको पर्खाइमा हुँदैनन् । त्यसैले हात्तीका छावाहरू वर्षभरिको जुनसुकै मौसममा पनि देख्न सकिन्छ । उनीहरू यौनक्रीडा गर्न र बच्चा जन्माउन मानिसकै जस्तो नियम पालना गर्छन् । एउटा वयस्क हात्तीले हरेक पाँच वर्षमा गर्भ बोक्छ ।
गर्भधारण गरेको २२ महिनापछि बच्चा जन्माउँछ । त्यो बच्चाले तीन वर्षसम्म आमाको दूध खान्छ ।’, गाइडले हामीलाई हात्ती र उसको यौन तथा प्रजननबारे छोटो जानकारी गरायो ।

हिप्पोहरू ढाडमात्र निकालेर पानीमा निदाइरहेका छन् । उनीहरूका ढाड पानीमा उठेका स–साना जमिनका ढिस्काजस्तै लाग्छन् । ‘अफ्रिकामा हिप्पो जातिजस्तो हिंस्रक जनावर अरू भेटिएका छैनन् । हिप्पोले जति मान्छे अरू जनावरले मारेको छैनन् ।’

यो कुरा मलाई मात्र हैन, सबै मान्छेहरूलाई पत्याउन गाह्रो पर्छ । त्यो ठूलो भुँडे जनावरले दौडेर मान्छेलाई भेट्टाउन सक्छ र जस्तो लाग्छ । तर गाइडको कुरा पत्याउनै पर्‍यो । जिराफहरू पानी पिउन नजानेजसरी चारै खुट्टा फट्टाएर मुन्टो पानीमा डुबाउँदा रैछन् । ‘भगवान्ले जनावर बनाउँदा–बनाउँदा अलिकति चितुवा र अलिकति उँटको भाग बचेको थियो रे, त्यही बचेको भागलाई जोडेर बनाउँदा बनेको !’, गाइडले एकछिन हो झैं पारामा बताउँदै हामीलाई हँसायो ।

चोबे नदीमा घाम डुब्नै लागेको छ । फर्किने बेलामा नदी किनारमा हामीले दुईवटा सिंहिनी देख्यौँ । उनीहरूका प्रेमी कतै गएका थिए शायद ! आफ्नो प्रेमी जङ्गलमा हराउला भनेर चिन्ता गरेझैँ गरी सिंहिनी बसेका थिए । मैले तिनीहरूको सन्ध्याकालीन उदास अनुहारका केही फोटाहरू खिचें ।

कासानेको धेवे रिभर क्याम्पमा पुग्दा मलाई आफैँ कायर साइकलेझैं लाग्यो । हिजो मलाई जिपमा उद्धार गर्ने मास्टरले तर्साउँदै गफ हानेको थियो । सिंहले भेट्यो भने त मेरो तुरी कर्‍यामकुरूम नपारी कुप्लुक्क निलिदिन्छ रे ! बारुतीले मलाई क्या गफ दिएको थियो ।

अप्रिल, २००४

( विश्व साइकलयात्री पुष्कर शाहको पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ को अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?