Comments Add Comment

एसियामा चिनियाँ खोप कम प्रभावकारी देखिएको हो ?

६ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको चिनियाँ खोप एसियामा निकै महत्वपूर्ण बनेको छ ।

लाखौं मानिसहरुले चिनियाँ कम्पनी निर्माता सिनोभ्याक वा सिनोर्फमले विकास गरेको खोप लगाइसकेका छन् ।

तर पछिल्लो केही समययता चिनियाँ खोपको प्रभावकारिताको विषयमा प्रश्न चिह्न उठेको छ । अहिले चिनियाँ खोपलाई प्राथमिकता दिएका एसियाली मुलुकले अर्को खोप प्रयोग गर्ने घोषणा गरेका छन्, जसले खोपको विश्वसनीयता मात्र होइन, चीनको खोप कूटनीतिको विषयमा पनि प्रश्न चिह्न उठेको छ ।

थाइल्याण्ड र इन्डोनेसियाको उदाहरण

थाइल्याण्डमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । इन्डोनेसियामा संक्रमणमा उल्लेख्य वृद्धि भएसँगै अस्पतालमा अत्याधिक भिड देखिएको छ भने अक्सिजन आपूर्तिमा पनि समस्या देखिएको छ ।

दुबै देशमा खोप अभियान सुस्त छ । दुबै डोज खोप लिएकाहरु स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका छन् । इन्डोनेसियामा दुबै डोज खोप लिएका ३० जना र थाइल्याण्डमा दुईजना स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै थाइल्याण्डले खोप रणनीतिमा परिवर्तन घोषणा गर्‍यो । उसले खोप अभियानमा सिनोभ्याकलाई प्राथमिकता दिएको थियो । तर अहिले दुबै डोज सिनोभ्याकको दिनुको सट्टा सिनोभ्याक र एस्ट्राजेनेकाको एक/एक डोज खोप दिने बताएको छ । साथै सिनोभ्याकको दुबै डोज लिएकालाई अर्कै कम्पनीको खोप बुस्टरका रुपमा दिने बतायो ।

इन्डोनेसियाले पनि सिनोभ्याकको खोप लगाएका स्वास्थ्यकर्मीलाई बुस्टरका रुपमा मोडेर्नाको खोप दिने बताएको छ ।

दुई कम्पनीको खोपलाई मिसाउने निर्णयले थाइल्याण्ड सरकार खोपको असफलताबारे चिन्तित देखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक वरिष्ठ अधिकारी डेल फिसर बताउँछन् । तथापि, स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको र उनीहरुको मृत्यु भएको विषयमा पर्याप्त जानकारी उपलब्ध नभएको फिसरको भनाइ छ । यो विषय अनुसन्धानको माध्यमबाट टुङ्ग्याउनुपर्ने उनले बताएका छन् ।

सिनोभ्याकले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

चिनियाँ खोप कति प्रभावकारी छ ?

विश्वभर गरिएको क्लिनिकल परीक्षणको क्रममा सिनोभ्याक र सिनोर्फमको कोरोना खोप लक्षणसहितको संक्रमण नियन्त्रणका लागि ५० देखि ७९ प्रतिशत प्रभावकारी देखिएको थियो ।

अस्पताल भर्ना हुनुपर्ने अवस्था तथा मृत्युबाट बचाउन भने यो खोप निकै नै प्रभावकारी देखिएको छ । ब्राजिलमा गरिएको एक अध्ययनमा यो खोप अस्पताल भर्ना हुने र मृत्यु हुने जोखिम न्यूनीकरणका लागि शतप्रतिशत प्रभावकारी देखिएको थियो भने इन्डोनेसियाका स्वास्थ्यकर्मीहरुमा गरिएको अध्ययनमा यो खोप ९६ देखि ९८ प्रतिशतसम्म प्रभावकारी देखिएको थियो ।

हङकङ युनिभर्सिटीका महामारीविद् बेन्जामिन काउलिङ पूरा डोज खोप लगाइसकेका धेरै मानिसमा संक्रमण देखिनुको कारण धेरै हुनसक्ने बताउँछन् । एउटा कारण समयसँगै चिनियाँ खोपको प्रभावकारिता पनि कम हुँदै जाने हुनसक्छ ।

हालै सार्वजनिक भएको एक अध्ययनमा सिनोभ्याकको पूरा डोज खोप लगाएका मानिसको शरीरमा विकास भएको एन्टिबडी प्रत्येक ४० दिनमा आधा घट्दै जाने पाइएको थियो ।

अर्को कारण, सीमित मानिसमा गरिएको क्लिनिकल परीक्षण र ठूलो संख्यामा प्रयोग गरिने सार्वजनिक प्रयोगको नतिजा फरक हुनसक्छ । जसको एक उदाहरण इन्डोनेसियामा पछिल्लो समय ठूलो संख्यामा देखिएको संक्रमण हो ।

खोपको पूरा डोज लगाइसकेका मानिसमा संक्रमण देखिनुको एक कारण निकै संक्रामक मानिएको डेल्टा भेरियन्ट पनि हुनसक्छ । इन्डोनेसियामा भेटिएका करिब ६० प्रतिशत नयाँ संक्रमित र थाइल्याण्डको बैंककमा २६ प्रतिशतमा यो भेरियन्ट देखिएको थियो ।

अहिलेसम्म कोरोनाको कुनै पनि भेरियन्टविरुद्ध चिनियाँ खोप कति प्रभावकारी छ भन्ने कुनै तथ्यांक उपलब्ध छैन ।

यद्यपि प्रारम्भिक नतिजाअनुसार सिनोर्फम र सिनोभ्याकको खोप लगाएका मानिसमा डेल्टा भेरियन्टविरुद्धको प्रतिरोधी क्षमता वास्तविक भाइरसको तुलनामा २० प्रतिशत कम हुने पाइएको काउलिङ बताउँछन् । ‘कुनै पनि खोप शतप्रतिशत प्रभावकारी हुँदैन । चिनियाँ खोपहरु पनि शतप्रतिशत प्रभावकारी नभए पनि यसले धेरै मानिसको ज्यान बचाइरहेको छ’, काउलिङ भन्छन् ।

विशेषज्ञहरुले खोप लगाएका मानिसहरुमा पनि संक्रमण देखिनुले यो खोप प्रभावहीन हो भन्ने पुष्टि नहुने बताउँछन् । उनीहरुका अनुसार कोरोना संक्रमण भएपनि खोप लगाएका मानिसमा गम्भीर लक्षण देखिने जोखिम निकै कम हुन्छ ।

अहिलेसम्म चीनमा ६३ करोडभन्दा धेरै मानिसले कम्तीमा एक डोज चिनियाँ खोप लगाइसकेका छन् । चीनमा खोप लगाइसकेका कति मानिसमा संक्रमण देखियो भनेर कुनै तथ्यांक उपलब्ध छ्रैन । यद्यपि चीनमा कोरोना भाइरस नियन्त्रणमा देखिएको छ ।

चीनको खोप कूटनीतिमा कस्तो असर ?

अहिले चीनको ‘खोप कूटनीति’मा एसिया सबैभन्दा महत्वपूर्ण क्षेत्र देखिएको छ । एसियामा सबभन्दा धेरै चिनियाँ खोप लगाइएको छ । अहिलेसम्म ३० भन्दा धेरै एसियाली मुलुकले या त चिनियाँ खोप किनेका छन् या अनुदानमार्फत् पाएका छन् ।

इन्डोनेसिया सिनोभ्याक खोप सबैभन्दा धेरै खरिद गर्ने देश हो । उसले १२ करोड ५० लाख डोजभन्दा धेरै सिनोभ्याक खोपको लागि अर्डर दिइसकेको छ ।

नेशनल युनिभर्सिटी अफ सिंगापुरका चीन विशेषज्ञ लान चोङ भन्छन्, ‘खोप बिक्री गर्ने वा अनुदानमा दिएर चीन सबभन्दा पहिला कोरोना संक्रमण देखिएको ट्याग मेटाउन र आफूलाई वैज्ञानिक पावरहाउसको रुपमा विश्वलाई देखाउन चाहन्छ ।’

हुन पनि इण्डोनेसिया जस्तै थाइल्याण्ड पनि चीनमै निर्भर छ । उसले सुरुआतमा राजाको स्वामित्वमा रहेको एक स्थानीय कम्पनीलाई ठूलो मात्रामा कोरोना खोपको अर्डर दिएको थियो । तर समयमा पर्याप्त खोप उपलब्ध गराउन सकेन । कोरोना पनि संक्रमण बढ्यो । त्यसैले स्थानीयस्तरमा उत्पादन गरिएको एस्ट्राजेनेकाले विकास गरेको खोपसँगै सिनोभ्याकमा निर्भर देखिएको छ ।

दुई कम्पनीको खोप मिसाएर लगाउने थाइल्याण्ड र इन्डोनेसियाको निर्णयले चीनको खोपमा सफलताको छविमा आंशिक धक्का पुगेको छ भने चिनियाँ खोपको प्रभावकारितामाथिको विश्वास पानीको फोका जस्तो फुटेको चोङ बताउँछन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment