Comments Add Comment

एमाले बैठकमा रिपोर्टिङः कर्णालीमा दबाब, सुदूरपश्चिममा भीम रावल आए पुग्छ

माधव समूहले कतै पनि चुनाव जित्दैन, मुख्य प्रतिस्पर्धा कांग्रेससँग

५ साउन काठमाडौं । फ्लोर क्रस गर्ने २२ सांसदले स्पष्टीकरण सोधेको नेकपा एमाले ओली पक्षको बैठकमा माधवकुमार नेपाल समूह विना कस्तो पार्टी बन्छ र आगामी चुनावको परिणाम कस्तो हुन्छ भनेर विश्लेषण भएको छ । नेताहरुको दाबी छ, उनीहरुले कहीं पनि चुनाव जित्दैनन् । हामीलाई एकाध निर्वाचन क्षेत्रमा असर पर्छ । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हो ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकको सुरुमा १०बुँदे सहमति जुटाएको कार्यदलमा ओली पक्षको संयोजक सुवास नेम्वाङले रिपोर्टिङ गरेका थिए । नेताहरुको ठूलो पहलका बाबजुद नेता नेपालको नकारात्मक भूमिकाका कारण पार्टी एक बनाउन नसकिएको उनले बताए । अध्यक्ष ओलीले पनि नेता नेपाललाई स्वागत गर्न घुँडा टेकेर हात फैलाएर बसेको तर घुँडामा पाइन्ट प्वाल पर्दा पनि नआएको उनले बताए । उनले भनेका छन्, ‘हाम्रो प्रयास अहिले पनि जारी छ ।’

त्यसपछि सात प्रदेशका अध्यक्षहरुले रिपाेर्टिङ गरे । उनीहरुले पार्टी संगठनको अहिलेको अवस्था मात्र होइन, भोलिका दिनमा केही मानिस बाहिरिंदा के प्रभाव पर्छ ? चुनावमा कस्तो असर गर्छ भन्ने रिपोर्टिङ गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । एक केन्द्रीय सदस्यका अनुसार सुरुमा प्रदेश दुई र कर्णाली बाहेक अन्य प्रदेशले आफूहरुको अवस्था राम्रो भएको बताएका छन् ।

१०बुँदे सहमतिले माधव नेपाल समूहमा रहेका जिल्ला तहका नेताहरु समेत मूल पार्टीमै रहने अवस्था बनेको भन्दै उनीहरुले नेतृत्वले भूमिका दिनुपर्ने बताएका छन् ।

प्रदेश १ बाट अध्यक्ष देवराज घिमिरे र प्रदेश २ बाट ज्वालाकुमारी साहले रिपोर्टिङ गरेका थिए ।

प्रदेश २ मा कतिपय ठाउँमा अझै नेकपाकै कमिटीहरु रहेको र एमालेको कमिटी भएको ठाउँमा पनि आन्तरिक विवाद भएको उनले बताइन् । ‘त्यहाँ रघुवीर महासेठ, प्रभु साह र ज्लालाकुमारी साहको केही इश्यु देखिएको छ’ एक केन्द्रीय सदस्य भन्छन्, ‘कतिपय ठाउँमा रघुवीरजीले ज्यादती गरेको कुरा पनि आयो ।’ प्रभु साहलाई समेटेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिएकी छन् ।

बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सिन्धुपाल्चोक बाहेक अन्यत्र खासै प्रभाव नपरेको बताएका छन् । आफूहरु कमजोर मानिएको सिन्धुलीमा माधव नेपाल समूहमा रहेका सांसद गणेश पहाडीका साथै माओवादी केन्द्रका नेताहरु समेत आएकाले आफूहरु बलियो अवस्था भएको उनको रिपोर्टिङ थियो ।

गण्डकी प्रदेशका अध्यक्ष जगत विश्वकर्माले सबभन्दा राम्रो अवस्था आफ्नो प्रदेशमा भएको बताएका छन् । आफूहरु कमजोर मानिएको बाग्लुङमा समेत १० बुँदे सहमतिपछि अवस्था फेरिएको उनको रिपोर्टिङ थियो ।

लुम्बिनी प्रदेशका लीला गिरी केही जिल्ला बाहेक सबै जिल्लामा संगठनको अवस्था भएको रिपोर्टिङ गरेका थिए । अहिले पनि माधव नेपाल समूहको अवस्था नाजुक भएको र विभाजनपछि थप संकटतिर जाने उनको भनाइ थियो ।

कर्णली प्रदेशका अध्यक्ष गोरख बोगटीले भने माओवादीको राम्रो प्रभाव भएको र कांग्रेसले पनि आफूहरुलाई दबाबमा राख्नसक्ने विश्लेषण सुनाएका थिए । पार्टीका ठूला नेताहरु आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा मात्र केन्द्रित भएको उनको गुनासो थियो ।

सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापाले भीम रावल आफूहरुतिर आए समस्या नहुने बताएका छन् । ‘भीम करमेड ठीक ठाउँमा उभिएपछि प्रेम आलेहरु गएर केही फरक पर्दैन’ उनले केन्द्रीय कमिटी बैठकमा भनेका छन् । नेतृत्वको वरिपरि रहेकाहरुले नेता र कार्यकर्तालाई जोड्ने काम नगरेको उनको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment