Comments Add Comment

सन्दीपले गुमाए दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

५ साउन, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् ।

इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् ।

सन्दीप आज वा भाेलिमा नेपाल फर्कने उनका म्यानेजर रमन शिवाकोटीले बताए । ‘त्यसका लागि टिकट मिलाउन प्रयास गर्दैछाैँ’ उनले भने ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा पहिलो पटक हुन लागेको दी हन्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । उनी ६० हजार पाउण्डमा अनुबन्ध भएका थिए ।

सन्दीप सम्मिलित टिमले यही जुलाई २२ मा पहिलो खेल खेल्दैछ । असार २४ गते इंग्ल्याण्ड पुगेका सन्दीपले बेलायतको सरकारको नियम अनुसार १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गरेपछि भिसा समस्या आएको हो ।

यसअघि पनि भिसा र पासपोर्टको ढिलाइका कारण सन्दीपले इंग्ल्याण्डमै भइरहेको दी भाइटालिटी ब्लास्ट गुमाइसकेका छन् ।

हेर्नुहोस् सन्दीपको फेसबुक स्टाटस

द हन्ड्रेडमा पर्न नसकेकोमा म निकै दुःखी छु । म त्यतिबेला मेरो टिम ओभल इन्भिन्सिबल्समा राम्रो खेल्न गइरहेको थिएँ र मैले ईसीबीका अधिकारीहरुले दिएको सबै निर्देशन पनि पालना गरिरहेको थिएँ

संक्षेपमा भन्नुपर्दा मैले टायर फाइभ भिसाको लागि आवेदन दिँदा मलाई एउटा सर्टिफिकेट अफ स्पोन्सरसिप (सीओएस) को भाइटालटी ब्लास्ट र द हन्ड्रेडका लागि पर्याप्त हुने बताइएको थियो । कोरोना महामारीको कारण भिसा आउनमा ढिलाइ भयो र वोस्टरसायरले बाहिर निकाल्यो । तर, उसले पुनः मेरा अफिसियलहरुमार्फत मलाई सम्पर्क गर्‍यो र जुलाई १० मा म बेलायत आइपुग्न सके हुने बतायो । त्यसका लागि मलाई पनि कुनै समस्या थिएन किनकी मेरो सीओएस अझै सकिएको हुन्नथ्यो ।

म जुलाई ९ मा बेलायत आउँदासम्म कुनै समस्या थिएन । त्यसपछि मलाई सरकारी क्वारेन्टिन केन्द्रमा पठाइयो । जुलाई १८ मा मेरो क्वारेन्टिन अवधि सकिनुभन्दा दुई दिनअघि ईसीबीले मेरो भिसा सकिएको र जतिसक्दो छिटो मैले मुलुक छाड्नुपर्ने बतायो । मैले के गल्ती भएको छ भनेर सोधेँ तर मलाई ईसीबीका कसैले पनि स्पष्ट जवाफ दिएनन् । मलाई थाहा थियो कि विवाद बढ्दै गए त्यसले ठूलो रुप लिन सक्थ्यो । तर कम्तीमा मेरो वैध भिसा जुनसुकै स्थानमा किन वैध हुँदैन भन्ने प्रश्नको उत्तर जान्ने हक मलाई थियो ।

मैले यो प्रतियोगिता खेल्नको लागि धेरै कुराहरु गुमाएको थिएँ र मैले त्यहाँका सबै टोलीको लागि राम्रो होस् भन्ने प्रार्थना र चाहना राखेको थिएँ । मैले सधैं बेलायतका मानिसहरुबाट माया पाउँदै आएको छु र म ईसीबीलाई यो विषयमा ध्यान दिन आग्रह गर्न चाहन्छु ताकि अरु कसैले यस्तो झेल्नु नपरोस् । मलाई यो प्रतियोगिता खेलेको हेर्न चाहने मानिसहरुका लागि कस्तो लाग्यो होला भन्ने पनि म महसुस गर्न सक्छु । (आशा गरौं) आगामी दिन सुखद् हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment