१८ असोज, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आग्रह गरेका छन् ।
दशौं खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकमा मन्त्री पोखरेलले दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भएको बताएका हुन् ।
‘अझै पनि के शंका छ भने दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भन्ने । पटकपटक सरेको हुनाले शंका हुनु जायज पनि छ’ उनले भने, ‘दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो । त्यसकारण हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला ।’
मन्त्री पोखरेलले अघिल्ला राष्ट्रिय खेलकुदभन्दा प्रभावकारी ढंगले यो प्रतियोगिता हुने विश्वास व्यक्त गरे । ‘९ वटा राष्ट्रिय खेलकुद भयो । त्योभन्दा भिन्न प्रभावकारी ढंगबाट कसरी गर्ने, यसलाई राम्रोसँग सञ्चालन गर्नका लागि सम्पूर्ण सरोकारवाला, विभिन्न तहका सरकार सबैजना मिलेर गर्नुपर्ने अवस्था आएको छ’ उनले भने ।
प्रतिक्रिया 4