Comments Add Comment

छठ पर्वको आज दोस्रो दिन, खरनाको तयारीमा ब्रतालु

Chhath-Parba-at-Rautahat-1

सुभाषप्रसाद साह
३० कात्तिक, बारा । तराई मधेसमा बिशेष रुपमा मनाइने छठ पर्वको सोमबार दोस्रो दिन ब्रतालुहरु ‘खराना’ मनाउने तयारीमा छन् । दिनभरी ब्रत बसेर बेलुका नैवेध चढाएर सक्खर हालेर बनाइएको खीर, मुला, केरा खाने गरिन्छ, जसलाई ‘खरना’ भनिन्छ ।

चार दिनसम्म मनाइने यो पर्वमा सूर्यको पूजा आराधना गरिन्छ । ब्रतालुले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गर्छन् ।

छठ पर्वको पहिलो दिनलाई ‘नहाय खाए’ भनिन्छ । पहिलो दिन ब्रतालुहरुले आफ्नो भान्सा घरलाई सफा पारी चोखो बनाउँछन् । नङ काटेर नुहाईधुवाई गरी चोखो भई लसुन र प्याज नभएको चोखो खाना खाने चलन छ । ब्रतालुहरुले आइतबार पहिलो दिन रहरको दाल, लौकाको तरकारी, चामलको भात, दही लगायतका परिकार खाएका थिए ।

मंगलबार छठ घाटमा गई अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने बुधबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । अत्यन्त निष्ठा एवम् पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले छठ ब्रतालुहरु महिना दिन अघिदेखि नै यसको तयारीमा व्यस्त हुन्छन् र बिभिन्न कुराहरु बार्ने गर्दछन् । शुद्धतामा बिशेष ध्यान दिएर यो पर्व मनाउने गरिन्छ ।

छठ पर्वका लागि बाँसको चोयाले बनाइएका टोकरी, सुपली, नाङ्लो, माटोबाट बनाइएका भाँडाका साथै नरिवल, मिठाई, केराउ, सुथनी, अदुवा, उखु लगायतका सामाग्रीहरु आवश्यक्ता पर्छ । छठ पर्वमा भगवान सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाई, उखु, नरिवल, पान, सुपारी, वयर, सिंघडा, लगायतका सामाग्रीहरु चढाउने गरिन्छ । यी सामाग्री माटोले बनेका नयाँ भाँडा र बाँसको टोकरीमा राखेर सूर्यलाई अर्पण गरिन्छ ।

छठ पर्वमा आवश्यक पर्ने यि समाग्री किन्नेहरुको सोमबार बजारमा चहलपहल छ । अहिले छठ पर्वका लागि आवश्यक समानहरु किन्नका लागि बाराको कलैया, जितपुर, प्रसौनी लगायतका बजारमा भिडभाड छ ।

छठमा विधिपूर्वक सूर्य र छठीमाईको पूजाआजा गरेमा परिवारको कल्याण, सन्तान प्राप्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास छ । छठको व्रत महिला वा पुरुष जोसुकैले पनि लिने र पूजा गर्ने गर्दछन् ।

बुधबार बिहान उदाउँदै गरेको सुर्यलाई अर्घ दिएपछि बिधिवत रुपमा छठ पर्व सम्पन्न हुन्छ । नेपालका बिभिन्न चाडपर्व मध्य छठ पर्व तराई मधेसका बासिन्दाका लागि मुख्य पर्व मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment