Comments Add Comment

‘बालबालिकाका नाममा वर्षमा २० अर्ब भित्रिन्छ, ७० प्रतिशत गोष्ठीमै सकिन्छ’

nepali-children
१६ असार, काठमाडौं । सरकारी अधिकारीहरुले कतिपय अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपाली बालबालिकालाई कमाइ खाने र भ्रष्ट्राचारको माध्यम बनाइरहेको भन्दै त्यस्ता संस्थालाई फिर्ता पठाउनुपर्ने बताएका छन् ।

उनीहरुले अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा बालअधिकारका नाममा तारे होटलमा गोष्ठी गरेर प्रगति विवरण बनाउने प्रवृत्ति मौलाएको भन्दै त्यस्ता संस्थालाई नेपालमा बस्न दिन नहुने बताए ।

केन्द्रीय बाल कल्याण समितिले बिहिवार ललितपुरमा गरेको बालश्रम न्युनिकरण सम्बन्धी छलफलमा समितिका अध्यक्ष डिल्लीराम गिरीले बालअधिकार संरक्षणको नाममा हरेक वर्ष २० अर्ब भित्रिने गरेको तर त्यो रकमको ७० प्रतिशत तारे होटलको गोष्ठी र सेमिनारमा मात्र  खर्च हुने गरेको तथ्यांक प्रस्तुत गरे ।

उनले सरकारको योजना अनुसार काम गर्नुको साटो तारे होटलमा गोष्ठी र सेमिनार गरी प्रगति विवरण बनाउने संस्थालाई तत्काल फिर्ता पठाइनुपर्ने बताए ।

उनले अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले भित्र्याएको अधिकांश रकम गोष्ठी र सेमिनारमा खर्च भइरहेका कारण बाल श्रमिकहरुको समस्या समाधान हुन नसकेको बताए । गिरीले बाल श्रमिकहरु राख्नेमाथि खरोरुपमा उत्रिन प्रहरीसँग आग्रह समेत गरे ।

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले बालबालिकाहरुमा पछिल्लो समय पोर्नोग्राफीको कुलत बढेको बताए ।

उनले इन्टरनेट र एन्ड्रोइड फोनको विकाससँगै बालबालिकाहरुमा पोर्नोग्राफीको लत बढेको  तथा यो लतले चाँडो विवाह गर्ने र डिभोर्सका घटना बढाएको बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले बालबालिकालाई पोर्नोग्राफीको लतमा पर्न नदिन अभिभावकहरुले सजगता नपनाए यसले भविष्यमा विकराल रुप लिने खतरा औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment