Comments Add Comment

प्रचण्डलाई ओलीको प्रश्नः ‘चैतमा सरकार फेर्ने, अनि कसरी चुनाव हुन्छ ?

'एमाले प्रतिपक्षमै बस्छ, तर राष्ट्रिय विषयमा सघाउँछ'

Kp-oli-and-Prachanda

१५ साउन, काठमाडौं । राष्ट्रिय सहमतिको सरकार गठनका लागि भन्दै शनिबार दिउँसो आयोजित एमाले-माओवादी वार्ता विनानिश्कर्ष टुंगिएको छ । सो वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई आगामी चैतमा सरकार फेरिने भएकाले चुनाव हुन नसक्नेसमेत बताएका छन् ।

राष्ट्रिय सरकारको विपक्षमा बोल्दै आएको नेपाली कांग्रेसले आफ्नो भनाइ नसच्याएसम्म राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने एमाले नेताहरुले स्पष्ट पारेका छन् । एमाले उपाध्यक्ष भीम रावलका अनुसार दुई दलवीचको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने तर, राष्ट्रिय विषयहरु र देशको हितमा हुने काममा सहयोग हुने बताएका छन् ।

एमाले-माओवादी छलफलबारे अनलाइनखबरले एमाले नेता रावलसँग गरेको संक्षिप्त कुराकानीः

एमाले र माओवादीवीच के विषयमा छलफल भयो ?

हामीले उहाँहरु (माओवादी) लाई के विषयमा कुरा गर्ने हो, ल गरौं भन्यौं । उहाँहरुले सहमतिको सरकार बनाउने प्रशंग निकाल्नुभयो ।

तपाईहरुले के भन्नुभयो ? सहमतिको सरकारमा आउने कि नआउने ?

सरकार चलाउने सन्दर्भमा कांग्रेससँग माओवादी केन्द्रले गोप्य सम्झौतासमेत गरेको कुरा बाहिर आएको छ । कांग्रेसले राष्ट्रिय सरकारको औचित्य छैन भनेर संसदमा पनि बोलेको छ, बाहिर पनि बोलेको छ । यस्तो अवस्थामा राष्ट्रिय सहमतिको सरकारका बारेमा कार्यसूची खाली देखाउनका लागि मात्रै जस्तो देखियो । यो कुराकानी पनि नाटकजस्तो मात्रै देखियो ।

हामीले माओवादी नेताहरुलाई सोध्यौं, यसमा के हो त तपाईहरुको कुरा ? के नेपाली कांग्रेसले आफ्नो भनाइलाई सच्याएको छ त ?

माओवादीबाट कस्तो जवाफ आयो ? कांग्रेसले आफ्नो पूर्वअडान सच्याउँछ ?

उहाँहरुले के भन्नुभयो भने नेपाली कांग्रेसले तपाईहरुकै नेतृत्वमा सरकार बन्ने भएको हुनाले एमालेसँग कुरा गर्नुहोस् भनेर हामीले कुरा गरेको हो ।

यसमा हामीले माओवादी नेताहरुलाई भन्यौं, यसरी तपाईहरुले मात्रै कुरा गरेको भनेपछि त तपाईहरुको मुख्य पार्टनर, सहयात्री नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार चाहिन्छ, विगतमा हामीले चाँहिँदैन भनेको होइन त भन्नुपर्‍यो नि ।

यसमा माओवादीको प्रतिक्रिया के थियो ?

हामीले यसो भनेपछि उहाँहरुले हैन, हामीले त धर्म निर्वाह गर्नमात्रै आएका हौं भन्नुभयो । अब धर्म निर्वाह गर्न आएको हो भने त बेग्लै कुरा भयो, कांग्रेसले नबोलेसम्म यो विषय त छलफलको कार्यसूची नै होइन भन्यौं हामीले ।

सहमतिको सरकारमा नजाने भए संविधान कार्यान्वयनमा एमालेको भूमिका कस्तो हुन्छ अब ?

प्रधानमन्त्रीज्यूले स्पष्ट के भन्नुभयो भने हामी जिम्मेवार प्रतिपक्षको भूमिकामा हुन्छौं । तर, राष्ट्रिय विषयहरु र देशको हितमा हुने काममा हाम्रो सहयोग रहन्छ ।
प्रधानमन्त्रीज्यूले माओवादी नेताहरुलाई भन्नुभएको छ, तपाईहरुलाई यस्ता विषयमा सहयोगको आवश्यकता पर्नेछ । सहयोगको आवश्यकता परेका बेला त्यस्तोमा नेकपा एमालेले सक्रिय भूमिका खेल्छ ।

दुई दलवीच आगामी चुनावबारे छलफल भएन ?

उहाँहरुले ३ दल, कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा बसेर छलफल गरेको हामीले समाचार सुन्यौं । चुनाव कहिले गर्ने, के गर्ने तपाईहरुले निर्णय गर्ने अनि एमालेलाई यसो सुनाउने कुरा गर्नुभएको हो भने यसको कुनै अर्थै छैन, हामीले माओवादीलाई भन्यौं, विगतमा पनि कुनै पार्टीले निर्णय गरेर अर्कोलाई सुनाउन जाँदाखेरि अरुले पनि आपत्ति जनाउने गरेका थिए । त्यसैले यसको कुनै अर्थ हुँदैन ।

आगामी चैतमा चुनाव हुन्छ ?

प्रधानमन्त्रीले के भन्नुभयो भने तपाईहरुले चैतमा चुनाव गर्ने जुन भन्नुभएको छ, त्यो चुनाव नगर्नका लागि हो । त्यही बेलामा प्रधानमन्त्री फेर्ने भन्ने, अनि त्यही बेलामा प्रधानमन्त्री फेरेर चुनाव हुन्छ भन्ने कसैले पत्याउने कुरा होइन । यो त देशलाई झन अन्योलग्रस्त बनाउने कुरा हुन्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो ।

एमाले र माओवादीवीच सम्पन्न आजको बैठकको निश्कर्ष के हो त उसोभए ?

यति भएपछि ‘ल कुराकानी गर्दै गरौंला’ भनेर बैठक सिद्धियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment