Comments Add Comment

ओलीले भने- एकजना ‘बाहुन’ले चुनाव हुन नदिने रे !

'कांग्रेस आफू हार्ने स्थानमा चुनाव हुन नदिने प्रपञ्च रच्दैछ'

१८ चैत, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी पराजित भएपनि स्थानीय निकायको निर्वाचन हुनैपर्ने बताएका छन् । १९ बर्षपछि प्राप्त अवसर गुमाउन नहुने उनको तर्क छ ।

एमाले कास्कीले शुक्रबार पोखरामा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनावको सम्भावित हारबाट सशंकित नभएको प्रष्ट पारे । उनले भने, ‘एउटा निर्वाचन हारे जनताको मन जितेर अर्को निर्वाचनमा बिजयी हुने पार्टी एमाले हो ।’

ओलीले १९ वर्षपछि हुन लागेको निर्वाचन असफल पार्न षड्यन्त्र भइरहेको आरोपसमेत लगाए । उनले निर्वाचन हुन नदिन देशी बिदेशी शक्तिहरु लागेको बताएपनि कुन शक्ति भनेर खुलाएनन् ।

कांग्रेसप्रति आक्रोशित हुँदै ओलीले कांग्रेस आफू हार्ने ठाउँमा चुनाव हुन नदिने प्रयास गरिरहेको पनि आरोप लगाए ।

संविधान संशोधनको बिरोध गर्दै ओलीले कसैलाई खुशी पार्न संविधान संशोधन हुन नसक्ने अडान दोहोर्‍याए । उनले भने, ‘कसैको निगाहमा उसलाई खुशी पार्न हुने संशोधन स्वीकार्य छैन ।’

ओलीले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति पनि आक्रोश व्यक्त गरेका छन् । ‘३२ वटा पार्टीका ३२ जना मान्छे लिएका एक जना बाहुन छन्, उनले चुनाव हुन्न दिन्न रे, कसैले भनेर चुनाव रोकिदैन ।’ उनले भने । केहि समययता ओली र भट्टराईबीच आरोप प्रत्यारोपको शृङखला चलिरहेको छ ।

यसअघि पोखराका विभिन्न क्षेत्रबाट निस्केको र्‍याली चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आएर सभामा परिणत भएको थियो । सभाका कारण करीब ३ घण्टा पोखराको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त भएको थियो ।

तस्वीरः उमेश पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment