Comments Add Comment

सप्तरीमा जलाइयो म्याद भएकै लाखौं मूल्यको औषधि

६ साउन, सप्तरी । सप्तरीका धेरै स्वास्थ्य संस्थाहरुमा अहिले पनि अत्यावश्यक औषधिको अभाव छ । कुनै औषधि छँदै छैनन् भने कुनै आवश्यकता अनुसार छैन ।

तर, जिल्ला जनस्वास्थ्य कार्यालयले भने सरकारले उपलब्ध गराएको धेरै औषधि स्टोर रुममा थुपारेर म्याद गुजारेको पाइएको छ । साथै ‘एक्सपायर’ भएकासँगै उपभोग गर्ने म्याद भएकै औषधि पनि जलाएको पाइएको छ । औषधिहरु नष्ट गर्ने क्रममा मुचुल्का समेत नउठाएको भेटिएको छ ।

लापर्वाही कि चलखेल ?

शुक्रबार दिउँसो जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले म्याद गुज्रिएको भन्दै लाखौंको औषधि जलायो । तर, त्यससँगै उपयोग गर्न मिल्ने समय बाँकी रहेका औषधिसमेत जलेका छन् ।

जनस्वास्थ्य कार्यालयको प्रांगणमा औषधि जलाएको देखेपछि सेवाग्राही गएर हेर्दा म्याद बाँकी रहेका बिभिन्न किसिमका औषधि समेत जल्दै गरेको पाए । लगतै उनीहरुले सञ्चारकर्मीलाई बोलाए । त्यहाँ पुगेर हेर्दा प्रत्यक्षदर्शीले भनेजस्तै देखियो ।

औषधिसँगै ओछ्याउने डसनाहरु पनि जलिरहेका थिए । म्याद बाँकी रहेका औषधि समेत आगोमा डढिरहेको हेर्दा कर्मचारीहरुसँग प्रश्न गरियो, ‘किन जलाइएको ?

उनीहरुको भनाइ थियो, ‘खोई ! औषधिमा आगो लगाएको छैन । पुरानो डसनाहरु मात्र जलाएको छ ।’

म्याद बाँकी रहेका औषधि समेत जलेको देखाएपछि कर्मचारीहरु पन्छिन शुरु गरे । एकअर्कालाई आरोप लगाए ।

कार्यालय प्रमुख नागेन्द्रप्रसाद चौधरीले पनि अनभिज्ञता प्रकट गरे । उनले अलपत्र अवस्थामा रहेका औषधिका कार्टुनहरुलाई व्यवस्थित गर्न केही कर्मचारीलाई जिम्मेवारी दिएको बताए । औषधि जलाउनु भन्दा पहिला औषधिलाई पुनः चेक गर्नु पर्नेमा त्यसो नभएको भन्दै उनले कर्मचारीहरुको गल्ती देखाए ।


कर्मचारीहरुको भनाइ भने अर्कै छ । लामो समयदेखि रहेको औषधि प्रयोगबिहीन हुनसक्ने भन्दै माथिल्लो निकायले नै जलाउन भनेकाले जलाएको उनीहरुले बताए ।

अनौठो त के भने म्याद भएका औषधिहरु जलाउने जनस्वास्थ्य कार्यालयका प्रमुख चौधरी आफैं भन्छन् कि सप्तरीका अधिकांश स्वास्थ्य संस्थामा ‘क्यून सी’ नामक चक्कीको चरम अभाव छ । उनकै भनाइलाई मान्ने हो भने यो औषधि कम मात्रामा भएका कारण खरीद गर्ने प्रकृया शुरु गरिएको थियो ।

तर आगो लागेको ठाउँमा यो चक्की अत्यधिक फेला पर्‍यो । यो एन्टिबायोटिक चक्की रुघाखोकी, ज्वरो, निमोनियामा समेत प्रयोग हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । वर्षाको समयमा रुघाखोकी, ज्वरोबाट धेरै जना प्रभावित हुने गरेको समयमा यो औषधिमा आगो लगाउने काम भएको छ ।

अरु कुन-कुन औषधि जले ?

अधिकांश रुघाखोकी, ज्वरो, झाडापखाला, घाउ, स्लाइन पानी जलेको छ । जलिरहेको स्थानमा फेला परेका औषधिहरुमा एनएस र डीएस स्लाइन पानी, केडि-फिक्स नाम गरेको क्यानोलाका साथै सिरिन्ज, सिनोजोलिन नामक नाकमा हाल्ने ड्रप्स, क्यून सी चक्की फेला परेका छन् । यसैगरी बालबालिकालाई कुपोषण हुनबाट बचाउनका लागि प्रयोग गरिने औषधि कार्टुनका कार्टुन जलाइएको छ । आगो लागेका औषधिहरुको म्याद एक वर्षदेखि दुई वर्षसम्म बाँकी रहेको देखियो ।

स्लाइन पानीको बोतल सुईले प्वाल पारेर फालेका प्रत्यक्षदर्शीहरुले बताएका छन् । ‘कुन-कुन औषधि जल्यो त ? भन्ने प्रश्नमा कार्यालयका स्टोर किपर परमेश्वर झाले झर्किँदै भने, ‘हामीसँग कति औषधि वेबसाइटमा छ हेर्नुस् ।

हाकिमको भनाइ- स्टोरकिपरसँग सकेनौं

कार्यालय प्रमुख चौधरीले औषधि जल्नु गल्ती भएको बताएपनि यसको प्रमुख कारण स्टोर किपर भएको दाबी गरे । उनले भने, ‘के गर्ने स्टोर किपरले भनेको केहि गरिदिँदैनन् । बारम्बार बुझाउँदा पनि मिठो-मिठो कुरा गर्ने र त्यसपछि कामै गर्दैनन् । यो कुराको जानकारी सीडीओ सा’बलाई पनि गराएको छु । उहाँले सम्झाउँदा पनि स्टोर किपरमा कुनै परिवर्तन आएन ।’

आफू पन्छिँदै उनले अघि भने, ‘यस्तै अवस्था रह्यो भने स्टोर किपर नसुधि्रएको जानकारी दिन्छु ।’

स्टोर किपरले भने- मुसाले काट्यो

म्याद रहेको औषधि किन जलाइयो भन्ने प्रश्नमा स्टोर किपर झा सुरुमा सूचना दिने काम हाकिम वा सूचना अधिकारीको हो भन्दै पन्छिन खोजे ।

तपाईको नाम आएको छ नि ? भनेपछि झाले भने, ‘औषधि धेरै दिनदेखि राखिएको र मुसाले काटेकोले म्याद भएका औषधिहरुलाई पनि जलाइएको छ ।’ मुसाले केही पो काट्यो होला तर, बट्टाका बट्टा औषधि किन जलाएको भन्दा उनी चुप बसे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment