+
+

चिया उद्योगमा ऊर्जा खपत कम गरिने

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २६ गते ११:५७

२६ साउन इलाम । चिया उद्योगबाट निस्कने कार्बनका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएपछि यस जिल्लामा कार्बन कटौती गरी उत्पादन गर्न थालिएको छ । बढी ऊर्जा खपत हुने चिया क्षेत्रबाटै कार्बन कटौती गर्न थालिएको हो ।ऊर्जा खपत घटाउँदा उत्पादन लागत कम पर्ने, गुणस्तरीय उत्पादन तथा मानव स्वास्थ्यमा समेत असर कम हुने भएकाले जिल्लाका दुई दर्जन ठूला चिया कारखानाले ऊर्जा खपत कम गर्दै कार्बन कटौती थालेका हुन् ।

इलाम उद्योग वाणिज्य सङ्घले चिया कारखानामा हरियोपत्ती प्रशोधनका क्रममा बढी ऊर्जा आवश्यक हुने र त्यस समयमा रूख, कोइला तथा चिया प्रशोधन गर्दा हुने कार्बन घटाउँदै उत्पादन लागत घटाउन कारखानालाई जानकारी गराइरहेको छ ।चिया प्रशोधन गर्दा निस्कने कार्बन घटाउन कार्यक्रम सुरु गरिएको हो । स्वीस सरकारको सहयोगमा भएको कार्यक्रम नेपालमा उद्योग वाणिज्य महासङ्घले र जिल्ला तहमा जिल्ला उद्योग वाणिज्य सङ्घको पहलमा लागू गरिएको हो ।

पहिलोपटक नेपाली चियामा यो कार्यक्रम सुरु गरिएको हो । एक किलोग्राम तयारी चिया बनाउँदा ०.७२ किलोग्राम कोइला, २.०९ किलोग्राम दाउरा, ०.१३ लिटर तेल र ०.५५ युनिट विद्युत् खपत हुने गरेको इलाम साँखेजुङस्थित हिमालयन साङ्गि्रला चिया उद्योगका व्यवस्थापक रामचन्द्र नेपालले बताए । उक्त चिया उद्योगले सन् २०१३ मा गरेको एक अध्ययनका क्रममा पाँच लाख ८७ हजार किलोग्राम हरियोपत्ती प्रशोधन गर्दा चिया प्रशोधनका लागि ७७ हजार ४८४ किलोग्राम कोइला र एक लाख ९३ हजार ७१० किलोग्राम दाउरा प्रयोग भएको जनाएको छ ।

पत्ती ढुवानीमा पाँच हजार ५०० लिटर पेट्रोल तथा डिजेल खपत हुने गरेको जनाइएको छ । थोरै कार्बन उत्सर्जन गरेर उत्पादन गरिएको चियाले राम्रो बजार पाउने उद्योग वाणिज्य महासङ्घका डा. उत्तम कुँवरले बताए । चिया उद्योगमा ऊर्जाका लागि प्रयोग हुने विद्युत्बाहेक दाउरा, कोइला, डिजेल, पेट्रोलबाट कार्बन उत्सर्जन हुन्छ । एक लिटर डिजेलबाट २.५ किलोग्राम कार्बन उत्सर्जन हुने गरेको छ । त्यस्तै एक किलो दाउराबाट दुई किलोग्राम र एक किलोग्राम कोइलाबाट २.३ किलोग्रामसम्म कार्बन उत्सर्जन हुने ऊर्जाका क्षेत्रमा कार्यरत इन्जिनियर भीष्म पण्डितले बताए ।

सिटिसी र अर्थोडक्स चिया प्रशोधनका लागि पूर्वाञ्चलमा पाँच दर्जनभन्दा बढी चिया उद्योग स्थापना भएका छन् । महासङ्घले इलाम र झापाका चिया उद्योगलाई लक्ष्यित गरी कार्बन उत्सर्जनसम्बन्धी कार्यक्रम गर्ने बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?