२७ साउन, काठमाडौं । गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ मुठभेडमा मारिएको नभइ हत्या भएको भन्दै आफन्तले दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।
मंगलबार उजुरी लिएर जिल्ला प्रहरी कार्यालय हनुमान ढोका पुगेका चरीका आफन्तलाई प्रहरीले उजुरी दर्ता नगरी फर्काइदिएको हो । ‘भाइको हत्यामा संलग्नमाथि कारबाही माग गर्दै उजुरी दर्ता गराउन हनुमान ढोका पुगेका थियौं’, चरीका दाजु धु्रब अधिकारीले भने, ‘हनुमान ढोकाले डिआईजीको कार्यालय रानीपोखरी जानु भन्यो, त्यहाँ पनि हाम्रो उजुरी दर्ता भएन ।’
अधिकारी परिवारले चरीको हत्यामा संलग्न भएको भन्दै अपर्ण कोइराला, इन्स्पेक्टर कुमोद ढुंगेल र डीएपी मीरा चौधरीसहित विरुद्ध किटाणी जाहेरी दिन खोजेका थिए ।
प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि अधिकारी परिवारले अदालत जाने तयारी गरेको छ । ‘प्रहरीले जाहेरी लिन नमानेकाले अब अदालत जानुको विकल्प रहेन’, धु्रबले भने, ‘अदालतको ढोका ढक्ढक्याएर न्यायका लागि अपील गर्छौं ।’ प्रहरीले चरीलाई गत बुधबार काठमाडौंको भीमढुंगामा इन्काउन्टरमा मारेको दाबी गर्दै आएको छ ।
प्रतिक्रिया 4