+
+

पहाडियाले नेपालको स्वतन्त्रता कमजोर पारेका छन्

मधेसी जनता नेपालको राष्ट्रिय एकतामा अझ दह्रोसँग उभिएका छन् । नेपालको स्वतन्त्रतालाई कमजोर पार्ने काम पहाडिया अभिजात वर्ग, सामन्त वर्गले नै गरेको छ । मधेसले देशको रक्षा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ९ गते १७:२७

प्रचण्ड, एमाओवादी अध्यक्ष

आत्मनिर्णयको अधिकार भनेको अलग हुने अधिकार पनि हो । त्यो संसारभरिले बुझेको कुरा हो । आत्मनिर्णयको अधिकार हाम्रो अन्तरिम संविधानमा पनि लेखिएको छ । आत्मनिर्णयको अधिकारको कुरामा सहमति पनि भएको छ । तर, अहिले अलग्गिने अधिकार चाँहि नेपालका लागि सम्भव छैन ।

राजा फर्काउने, धर्म निरपेक्षताको विरोध गर्नेलाई चाहिँ गिरफ्तार गर्नु नपर्ने तर, उत्पीडितलाई आत्मनिर्णयको अधिकार चाहिन्छ भन्ने क्रममा गिरफ्तार गरेर अनावश्यक झमेला गर्ने काम भयो

नेपाल एकतावद्ध हुनुपर्छ र स्वायत्तता, सुशासन, संघीयताद्वारा उत्पीडित समुदायलाई अधिकार दिएपछि नेपाल अझ बलियो हुन्छ भन्ने मान्यताबाट हामी अगाडि बढेका छौं ।

फाइल फोटो
फाइल फोटो

अहिले कांग्रेस र एमालेले कतिपय मान्छे, जसलाई नेपाली जनताले खासै चिनेको पनि होइन, जसका बारेमा थाहा पाएको पनि होइन, त्यस्ता मानिसलाई रातारात केही विचार व्यक्त गरेकै भरमा गिरफ्तार गरेर, अझ यातना दिएर वातावरणलाई बिथोल्ने काम गरेका छन् ।

राजा चाहियो भन्नेलाई पनि बोल्न दिए हुन्छ । आत्मनिर्णयको अधिकार चाहियो, हामी अलग्गै हुन्छौं भन्नेलाई पनि बोल्न दिएर केही बिग्रँदैन ।

राजा फर्काउने, धर्म निरपेक्षताको विरोध गर्नेलाई चाहिँ गिरफ्तार गर्नु नपर्ने तर, उत्पीडितहरुलाई आत्मनिर्णयको अधिकार चाहिन्छ भन्ने क्रममा गिरफ्तार गरेर अनावश्यक झमेला गर्ने काम भइरहेको छ ।

डेमोक्रेटिक विचार भएकालाई कर्नरमा पार्ने र ‘एक्स्ट्रिम’मा भएकालाई उचाल्नु र गिरफ्तार गर्नु भनेको व्यक्तिलाई हिरो बनाउनु पनि हो । कहिलेकाँही गिरफ्तार गरेर हिरो बनाइदिने पनि हुन्छ । तपाई हामीले लाटो हिसाबले हेर्दाखेरि गिरफ्तार गर्‍यो कि सरकार त विरोधी रहेछ भनेजस्तो देखिन्छ । तर, राजनीतिक व्यक्तिलाई, बुद्धिजीवीलाई गिरफ्तार गर्नु त उसलाई स्थापित गरिदिनु पनि हो । तपाई हामीले यो बुझ्न जरुरी छ ।

अहिले सरकारले संविधान बनाउने भन्दा वातावरण बिगार्ने र देशलाई विखण्डन गर्ने विचारलाई हावी गरिदिने काम गर्दैछ । तपाईले गहिरो गरी ठण्डा दिमागले सोच्नुभयो भने विखण्डनको विचार राख्नेलाई नै वातावरण बनाइदिने काम सरकारले किन गर्छ ? यस्तो विचार राख्नेलाई नै अलि बढी उचाल्ने काम किन गर्छ ? काहिँ न काहिँ दाल मे कुछ काला हे !

चिजहरु जस्ता देखिन्छन्, त्यस्ता छैनन् । त्यहाँभित्र अरु केही छन् भन्ने प्रश्न उठाउन जरुरी छ ।

हाम्रो भनाइ के हो भने संघीय लोकतान्त्रिक गणतन्त्र, नयाँ राष्ट्रिय एकीकरणद्वारा नै जनताका समस्याको समाधान हुन सक्छ ।

नेपाली कांग्रेस र एमालेजस्ता पार्टीहरुले वातावरण विथोल्नका लागि यो उद्दण्ड काम गरेका त होइनन् ? अहिले अनुहारमात्रै हेर्दा त एउटा देखिन्छ । तर, गहिरिएर हेर्नुहोस् त, यो वातावरण धमिल्याइदिन संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसमा पहिचान स्थापित गर्न ध्यान दिनु छैन, वातावरणलाई उद्दण्ड बनाइदिइसकेपछि त धमिलो पानीमा माछा मार्ने दाऊ त छैन काँहि ? यो पनि सोचनीय विषय छ ।

मधेसले देशको रक्षा गरेको छ । मधेसमा कसैले विखण्डन ल्याउन चाह्यो भने मधेसी जनता नै त्यसविरुद्ध खडा हुने स्थिति छ

हामीले के भनेका छौं भने यो गिरफ्तारी सिरफ्तारी कोही कसैले केही बोल्यो भन्दैमा नेपाली जनता मान्नेवाला छैनन् । मधेसी जनता वा जनजाति, कोही पनि यो देश टुक्राउन चाहँदैनन् । यो कुरामा हामीले जनतामाथि विश्वास गर्नैपर्छ ।

अझ मधेसी जनता त नेपालको राष्ट्रिय एकतामा अझ दह्रोसँग उभिएका छन् । नेपाल राष्ट्रलाई कमजोर पार्ने र नेपाल राष्ट्रको स्वतन्त्रतालाई कमजोर पार्ने काम कसैले गरेको छ भने पहाडिया अभिजात वर्ग, सामन्त वर्गका पहाडियाले नै नेपालको स्वतन्त्रता कमजोर पार्ने काम गरेका छन् । इतिहास यसको साक्षी छ ।

मधेसले देशको रक्षा गरेको छ । इतिहास त्यसको पनि साक्षी छ ।

अहिले मधेसमा कसैले विखण्डन ल्याउन चाह्यो भने मधेसी जनता नै त्यसका विरुद्ध खडा हुने स्थिति रहेको कुरा इतिहासले सावित गरेको छ । तर, अहिले पनि कांग्रेस र एमालेका सरकारमा भएका नेताहरुले मधेसलाई उत्तेजित पार्ने डिजाइनमा काम गरेका त हैनन् ?

बोल्न छाडेर हतियार उठाउन थाले भने चाँहि छाड्ने कुरा भएन । देश टुक्राउँछु भनेर हतियार उठायो भने त्यसलाई पनि छाड्ने कुरा भएन ।

हामीले के भनेका छौं भने गिरफ्तारी अहिले गर्न हुँदैन । गरिएका गिरफ्तारीलाई छाडिदिनुपर्छ । बहस हुन दिनुपर्छ । बहसले नेपाल राष्ट्रलाई अझ एकतावद्ध गर्छ । कसैले केही बोल्यो भने त्यसको मुखमा ताल्चा लाउँछु भन्यो भने त्यो झन शक्तिशाली भएर, बिस्फोट भएर निस्कन्छ ।

त्यो मूर्खता हिजो एकपटक सरकारले गरिसक्यो र १० वर्ष जनयुद्ध नेपालले भोगि सक्यो । सरकारले फेरि त्यही मूर्खता, दुस्साह र विवेकहीन काम गर्‍यो भने फेरि अर्को बिस्फोट भयानक हुन सक्छ ।

त्यसकारण हामीले बडो गम्भीरताका साथ नेपाल राष्ट्रलाई एकतावद्ध राख्ने, नेपालको स्वतन्त्रता र स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यले नै संविधान निर्माणको यो प्रक्रियामा राजा मान्छु, राजा चाहियो, फर्काउँछु भन्नेलाई पनि बोल्न दिए हुन्छ । बोलिराखेकै छन् । सदनभित्र पनि बोलेका छन्, बाहिर पनि बालेका छन् ।

आत्म निर्णयको अधिकार चाहियो, हामी अलग्गै हुन्छौं भन्नेलाई पनि बोल्न दिएर केही बिग्रँदैन ।

बोल्न छाडेर हतियार उठाउन थाले भने चाँहि पक्कै पनि त्यो अर्कै विषय हुन्छ, त्यतिबेला राजा ल्याउन हतियार उठाउँछु भन्यो भने त्यसलाई पनि छोड्ने कुरा भएन । देश टुक्राउँछु भनेर हतियार उठाउन थाल्यो भने त्यसलाई पनि छोड्ने कुरा भएन । तर, संविधान यस्तो हुनुपर्छ भनेर जति चर्को कुरा गरे पनि अहिले राज्य र सरकारले उत्तेजित हुन जरुरी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?