 
																			१२असोज, बुटवल। अविरल बर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडकखण्डको एक दर्जन बढी स्थानमा पहिरो झरेको छ।
पहिरोका कारण आवागमन प्रभावित भएको छ भने सडक सुचारु गराउन सुरक्षाकर्मी र स्वयंमसेवकहरु परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।
प्यूठान–भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका-१ गर्जेनी स्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका-४ पाखुरी खोलामा पहिरो झरेको छ । नौ बहिनी गाउँपालिका–७ कालिमाटी स्थित मैरामारे देखी बल्लेखोला जाने भित्री सडकमा पहिरो झरेको छ।
अर्घाखाँचीस्थित सालझण्डी ढोरपाटन सडक, गोरुसिंगे–सन्धिखर्क सडक दुई स्थानमा पहिरो झरेको छ । रोल्पाको सहिद मार्गको तीन स्थानमा पहिरो झरेको छ ।
पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग, दाङ सल्यान राप्ती राजमार्ग, घोराही लमही–सडक खण्डको सेवार खोलामा जलसतह बढेकाले आवागमनमा समस्या परेको छ । पहाडी जिल्ला अर्घाखाँचीका केही स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेपछी सुरक्षित स्थानमा सारिएको छ।
सन्धिखर्क–११ धारामाथि बस्ने जुद्धबहादुर नेपालीको घर अविरल वर्षाको कारण जोखिममा परेपछी परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिकएको छ।
शितगंगा नगरपालिका–७ जुवाकोट बस्ने दिलबहादुर सार्कीको टिनले छाएको २ तले क्च्चीघर छेउमा जमिन भासिनुका साथै घरमा क्षती पुगेको छ। आठ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
यसैविच लुम्बिनी प्रदेश सरकारले विपद् प्रतिकार्य योजनामा जुट्न अपिल गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले अविरल बर्षाका कारण निम्तन सक्ने विपद्को प्रतिकार्यमा जुट्न अपिल गरेका छन् । तीन वटै सुरक्षा निकाय, नागरिक स्वंयमसेवक तथा युवा वर्ग विपद् प्रतिकार्यमा खटिएको भन्दै सहयोग गर्न जनस्तरमा अपिल गरेका छन्।
लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको हाल सम्म बाढीका २८ वटा घटना घटेका छन् । जसमा परेर ९ जनाको मृत्यु भएको छ भने ४ जना घाईते र ८ जना वेपत्ता छन् । पहिरोका २१ वटा घटना घटेका छन् । जसमा परेर ८ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आगलागीका ४८ वटा घटना भएका छन् ।
जसमा परेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका थिए । चट्याङका १७ वटा घटना भएका छन् । जसमा परेर ४ जनाको मृत्यु भएको छ भन् २२ जना घाईते भएका छन् ।
पानीमा डुबेर ४८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते र एक जना बेपत्ता छन् । मानव सिर्जित विपद्का घटनाहरुले मानवीय क्षती बढी गराएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थिले बताए ।
लुम्बिनी प्रदेश भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ लगायतका विपदको उच्च जोखिममा छ । विपदले सबैलाई समान रुपमा असर गरेपनि यसबाट पर्ने प्रभाव व्यक्ति, परिवार रसमुदायको उत्थानशिलता, अनुकुलन क्षमता र संकटासन्नताको आधारमा असमान हुने, विद्यमान अवस्थामा सामाजिक, सांस्कृतिक, भौगोलिक, आर्थिक र राजनीतिक पहुँचमा कमी भएका समुदाय तुलनात्मक रुपमा बढी प्रभावित हुने अवस्था छ ।
यस्तो अवस्थाबाट पार पाउनका लागि लुम्बिनीमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण रणनीति कार्ययोजना समेत निर्माण गर्न थालिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4