८ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका नवउद्यमीहरुका लागि नेपालस्थित अमेरिकी दूतावासले उद्यमशीलता मार्गदर्शन कार्यशाला शुरु गरेको छ ।
उद्यशशिलता सीप निर्माण कार्यक्रम अन्तर्गत दूतावासले भर्खरै उद्यम–व्यवसाय सुरु गरेका लगानीकर्ताको व्यवसायिक दक्षता वृद्धिका लागि भैरहवामा सोमबारबाट दुईदिने कार्यशाला सुरु गरेको हो ।
काठमाडौं बाहिरका आर्थिक शहरका लगानीकर्ताको व्यवसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले आयोजित कार्यशालामा रुपन्देही, कपिलवस्तु, दाङ, पाल्पा लगायत जिल्लाबाट छनौट गरिएका ३५ जना नवउद्यमी सहभागी छन् । इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट र आद्यन्त एड्भाइजरीसँगको साझेदारीमा यो कार्यशाला आयोजना भएको हो ।
कार्यशालाले प्रारम्भिक चरणमा रहेका उद्यमीहरूलाई व्यवसाय दिगो बनाउन, लगानी आकर्षित गर्न, निर्यातउन्मुख बन्न, कृत्रिम बुद्धिमत्तालाई व्यवसाय विस्तारमा प्रभावकारी रूपमा प्रयोग गर्न तथा क्षेत्रीय र विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न आवश्यक व्यवहारिक सीपहरू प्रदान गर्ने इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटका कन्ट्री निर्देशक रोशन घिमिरेले जानकारी दिए ।
व्यवसायिक मोडेलहरूलाई परिष्कृत गर्न तथा उद्यमहरूलाई विस्तार र अमेरिकी कम्पनीहरूसँग सम्भावित साझेदारीका लागि तयार पार्नु पनि यो कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।
‘क्षेत्रीय र विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न आवश्यक व्यवहारिक सीपहरू प्रदान अमेरिका–नेपाल व्यवसायिक कृटनीति छलफल श्रृंखला अन्तर्गत व्यापार, लगानी र अन्वेषणमा सामूहिक रुपमा काम गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो,’ घिमिरेले भने, ‘दुईदिने कार्याशालापछि ६ महिनासम्म सहभागीहरुलाई डिजिटल माध्यमबाट सहजीकरण गरिनेछ, यो कार्यक्रमको उद्देश्य रोजगार बृद्धिसँग पनि जोडिएको छ ।’
यसअघि नेपालगन्ज, जनकपुर, हेटौंडामा यस्तो कार्यशाला आयोजना भइसकेको छ । भैरहवापछि पोखरामा कार्यक्रम गरिने कार्यक्रममा ७ प्रदेशका गरेर २ सय जना सहभागी हुनेछन् ।
कार्यशालाले नव उद्यमीहरुलाई व्यवसाय दीगो बनाउन लगानी आकर्षित,गुणस्तरीय उत्पादनमा प्रेरित गर्दै बजारको पहिचान र पहुँच, अन्तर्राष्ट्रियस्तरसम्म नेटवर्क विस्तारमा सहयोग पुग्ने उद्यशशिलता सीप निर्माण कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक सन्जय ज्ञवालीले बताए । ‘नवउद्यमी लगानीकर्तासँग लामो सहकार्य गरेर व्यवसायिक कुटनीति बलियो बनाउने कार्यक्रमको लक्ष्य हो’ उनले भने । कार्यशालामा सहभागीलाई आशुतोष तिवारी र कमल ज्ञवालीले प्रशिक्षण दिनेछन् ।
प्रतिक्रिया 4