२२ मंसिर, काठमाडौं । बागलुङ क्षेत्र नम्बर १ का सभासद हरिबहादुर खड्काको निधन हुने गरी बाग्लुङमा भएको जिप दुर्घटनाबारे छानविन गर्न सरकारले सोमबार समिति गठन गरेको छ ।
नायव महान्यायाधीवक्ता राजेन्द्र सुवेदीको अध्यक्षतामा समिति गठन गरिएको हो । छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक माधवप्रसाद नेपाल र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक गणेश अधिकारी रहेका छन् । समितिलाई सात दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्न भनिएको छ ।
सभासद खड्का गत बुधबार बलेवा क्याम्पसले आयोजना गरेको महायज्ञ उदघाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा आइतबार साँझ निधन भएको थियो ।
पार्थिव शरिर सानेपामा
उनको पार्थिव शरिर अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । श्रद्धान्जली दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली लगायत नेता कार्यकर्ताहरु सानेपा पुगेर खड्कालाई श्रद्धान्जली अर्पण गरेका छन् ।
काँग्रेसद्वारा दुःख व्यक्त
नेपाली काँग्रेसले सभासद् एवम् नेपाली काँग्रेस बागलुङ जिल्ला कार्यसमितिका सचिव खड्काको निधन भएकोमा शोक व्यक्त गरेको छ । खड्काको निधनबाट नेपाली काँग्रेस पार्टी तथा नेपालको सिङ्गो लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको कांग्रेसले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।
दुःखको यस घडीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा काँग्रेसले समवेदना प्रकट गरेको छ ।
खड्काको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि सोमबार गृह जिल्ला बागलुङ लैजाने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4