+
+

आलु काण्डमा बढाइयो पुरस्कार राशी, सूचना दिनेलाई १ लाख डलर पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २८ गते १५:०२

potato
चामलमा ढुंगा भेटिने कुरा त सामान्य हो, तर आलुमा सियो भेटियो भने के होला ? साँच्चीकै त्यो निकै खतरनाक हुन्छ । आखिर कुन नियतले राखिन्छ होला आलुमा सियो ? क्यानडामा अहिले आलुमा सियो भेटिएको काण्ड दिनदिनै चर्किँदो छ ।
गएको अक्टोबरमा पहिलोपटक आलुभित्र सियो फेला परेको थियो र त्यसयता भित्र सियो रोपिएका १० वटा आलु फेला परिसकेका छन् ।
आलुमा सियो रोपिएको काण्डका दोषी पत्ता लगाउन नसकेपछि सरकारले दोषीको सूचना दिने व्यक्तिलाई १ लाख क्यानेडियन डलर पुरस्कार दिने घोषणा गरेको छ । यसअघि सुरुमै ५० हजार डलर पुरस्कार दिने घोषणा गरेको सरकारले उक्त पुरस्कारबाट सूचना प्राप्त नभएपछि स्थानीय आलु उद्यमी तथा सरकार मिलेर पुरस्कार राशीलाई दोब्बर पारिएको हो ।
रोयल क्यानेडियन माउन्टेड पुलिसका अनुसार सियो भेटिएका आलु सबै पि्रन्स एडवार्ड टापुस्थित एउटै कृषि फार्मबाट उत्पादित आलु रहेका छन् ।
उक्त आलु फार्मका मालिक ग्यारी लिंकलेटरले कठीन परिस्थितिमा सबै ऐक्येबद्ध हुनु खुसीको कुरा भएको भन्दै अहिले घोषणा गरिएको पुरस्कारले दोषीको पहिचान गर्न तथा सियो काण्डको श्रृंखला अन्त्य गर्न सहयोग पूराउने आशा व्यक्त गरेका छन् ।
आलुभित्र सियो फेला परेको घटनाले एडवार्ड टापुका आलु किसान ठूलो मारमा परेका छन् । उनीहरुका आलु बजारमा बिक्न छाडेका छन् भने बजारमा पठाइएका ३ लाख ६३ हजार किलो आलु फिर्ता आएको छ । आलुमा सियो फेला परेको काण्डपछि उपभोक्ता त्रसित हुँदा आलुको एक्सरे परीक्षण तथा मेटल डिटेक्टरको समेत प्रयोग गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?