१० पुस, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधानका विवादित विषयमा सहमति जुट्नेमा आफू आशावादी रहेको बताएका छन् । दलहरुबीच विश्वासको वातावरण बन्दै गएको दाबी गर्दै उनले सहमतिमा संविधान जारी गर्न सरकार प्रयासरत रहेको बताए ।
- फाइल फोटो
लोकतन्त्र र शान्तिका लागि पेसागत सञ्जाल (पापड) को प्रतिनिधिमण्डलसँग विहीबार बिहान बालुवाटारमा भएको भेटमा कोइरालाले उक्त कुरा बताएका हुन् ।
‘मैले एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल चलाइसकेको छु,’ कोइरालाले पापडका प्रतिनिधिहरुसँग भने, ‘विश्वासको वातावरण बन्दै गएको छ ।’
कोइरालाले विहीबार विहान बालुवाटारमा ओली र प्रचण्डसँग छुट्टा छुट्टै छलफल गरेका थिए । आजै अपरान्ह चार बजे मधेसवादी दलहरुसमेतको सहभागितामा संयुक्त बैठक बस्ने छ ।
अहिले मुलुकलाई आन्दोलन र द्वन्द्व नभई सहमति र अमनचयन आवश्यक भएको भन्दै प्रधानमन्त्री कोइरालाले नयाँ संविधानमार्फत सबैका हक अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्रीलाई पापडका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाले निर्धारित समयमा संविधान जारी गरी लोकतान्त्रिक परिवर्तनको उपलब्धिलाई संस्थागत गर्न सुझाव दिएका थिए ।
प्रतिक्रिया 4