प्रजातन्त्र, मानवअधिकार र विकासको जननी भूमि अमेरिका शक्ति र सम्पत्तिमा संसारमा उन्नाइसौं शताब्दीदेखि नै सबैभन्दा अगाडि रहँदै आएको छ। त्यसैले एउटा महाशक्ति राष्ट्रमा हरेक चार वर्षमा हुने नयाँ राष्ट्रपतिको चुनाव यो मानव समाजको दुनियाँमा हुने सबैभन्दा ठूलो मध्येको महत्व बोकेको, ध्यान खिच्ने र हल्ला हुने एउटा राजनैतिक गतिविधि हो। यो यति प्रभावशाली छ कि ह्वाइट हाउस प्रशासनले लिने एउटा निर्णयले विश्वभरि तरङ्ग पुर्याउने गर्छ। त्यसैले आउँदो नोभेम्बर ५ मा हुने राष्ट्रपतिको चुनावतिर संसारको चासो हुनु स्वाभाविक हो।
आखिर के छ त अहिलेको चुनावी माहोल? को बन्ला त अमेरिकाको राष्ट्रपति? विश्वमा कस्तो प्रभाव पर्ला? चुरो खोतल्नलाई लुकेका केही कुनाकाप्चा खोतल्नुपर्ने हुन्छ।
सबैभन्दा ठूलो अर्थतन्त्रको रक्षक
कोरोना महामारीसँग जुध्न भ्याक्सिन आविष्कार गरी सम्भव भएसम्म सबै स्वास्थ्य र आर्थिक सुविधा दिएर १० करोड ९८ लाख भन्दा धेरै सङ्क्रमितलाई निको पारिसकेको अमेरिकाले यति गर्दा पनि १२ लाख उन्नाइस हजार भन्दा बढी नागरिकलाई गुमायो। यो भाइरस विरुद्ध लड्न १६ हजार अर्ब अमेरिकी डलर (१६ ट्रिलियन) खर्चनु परेको आकलन छ।
तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रयास र अहिलेका राष्ट्रपति जो बाइडेन नेतृत्वले देशको अवस्था तङ्ग्रयाउँदै ल्याएको देखिन्छ। सन् २०२४ मा २८.७८ हजार अर्ब डलर (२८.७८ ट्रिलियन) कुल गार्हस्थ्य उत्पादन प्रक्षेपण गरिएको, जीडीपी र रोजगारीसूचक बलियो अवस्थामा रहेकाले अहिले विस्तारै अर्थतन्त्र तङ्ग्रिंदै स्थिर र सुधारोन्मुख अवस्थामा आउँदै गरेकोले तत्काल आर्थिक मन्दीको सङ्केत नरहेको फेडरल रिजर्भ प्रमुख जेरमी पावेलको दाबी छ। यद्यपि रियल स्टेट, सेयर बजार, मूल्य वृद्धि, ब्याजदर जस्ता सूचकहरू अझै पनि सामान्य अवस्थामा आइपुगिसकेका छैनन्। फेडरल रिजर्भको नियन्त्रित निगरानीमा यिनीहरूलाई पनि क्रमशः काबुमा (पावेलको भाषामा डाउनस्विङ ट्रेन्ड) मा ल्याइँदैछ।
यस्तो स्थितिमा अब देशको यत्रो अर्थतन्त्र सम्हाल्दै ६५ प्रतिशत मध्यम वर्गीय नागरिकलाई प्रत्यक्ष राहत मिल्ने आर्थिक योजना ल्याउने उम्मेदवारले यो निर्वाचनमा जित्ने सम्भावना हुन्छ।
ताजा राजनीतिक माहोल
दुई मुख्य प्रतिस्पर्धी दलहरूमध्ये रिपब्लिकन पार्टीबाट उम्मेद्वारी दिएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प छन्। उनी फोर्ब्सको ताजा रिपोर्ट अनुसार ६.९ अर्ब डलर (लगभग ९ खर्बभन्दा बढी सम्पत्ति) का मालिक हुन्। उनी ह्क्की र अभिमानी स्वभावका छन्। उग्र अमेरिकी राष्ट्रवादी धारका हुन्। लामो व्यापारिक घराना भएका र एकपल्ट राष्ट्रपतीय कार्यकाल सम्हालेर ह्वाइट हाउस प्रशासनको स्वाद र अनुभव लिइसकेका छन् उनले। ७८ वर्षीय ट्रम्पले दोस्रो पुस्ताको भविष्यका सम्भावित राष्ट्रपतिका उम्मेद्वार ओहायो राज्यका सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको लागि मनोनीत गरेर भविष्यको युवा नेतृत्वको सम्भावना देखाएका छन्। सँगै चुनावी दौडाहामा देशव्यापी लागेका छन्।
तत्कालीन अवस्थामा केही लचिला आप्रवासी, अश्वेत र आर्थिक एजेन्डाको वकालत गर्दै हिंडे पनि सारमा उनी पहिलो कार्यकालमा अपूरो रहेका पुरानै एजेन्डामा अडिग छन्। ‘मेक अमेरिका ग्रेट अगेन’ ‘डे वन बोर्डर सिल’ अनि गैरकानुनी तरिकाले अमेरिका बसिरहेका लगभग एक करोड साठी लाख (अनुमानित आकलन) तिर उर्दी गर्दै ‘प्याक योर ब्याग्ज’ भन्दैछन्। प्रतिस्पर्धीलाई जातसँग जोडेर, बोडरमा केही नगरेको तलब मात्र लिएर बसेको जस्ता आरोप लगाउँदै फेरि पनि उग्र राष्ट्रवाद (जिंगोइज्म) को छनक दिइरहेका छन्। जेडी भान्स झन् उग्र छन्। ट्रम्पको बिंडो थाम्न जब्बर देखिन्छन्।
अर्कातिर, तीन दशक भन्दा धेरै ह्वाइट हाउस धाएका र एक राष्ट्रपति कार्यकाल निर्वाह गरिसक्न लागेका डेमोक्र्याट्स पार्टीका पाका वर्तमान राष्ट्रपति ८१ वर्षीय जो बाइडेन उमेर अवस्था र जनदबाबका कारण अर्को कार्यकालका लागि उम्मेद्वारी त्यागेर उपराष्ट्रपति, क्यालिफोर्निया राज्यबाट सिनेटर रहेकी कमला ह्यारिसलाई राष्ट्रपतिमा लड्न बाटो खोलिदिएका छन्। उनी जमैकन-इन्डियन मूलकी हुन्। जोसँग ८० लाख डलर (डेढ अर्बभन्दा बढी) सम्पत्ति छ। उनी लचिलो र समावेशी धारकी मानिन्छिन्।
‘जसरी अमेरिकाले सबैलाई समान अवसर र असीमित भविष्य दिएको छ, त्यसको संरक्षण’ नै उनको नारा छ। पूर्वराष्ट्रपति बाराक ओबामा र अहिलेका राष्ट्रपतिसँग नजिक रहेर काम गरिरहेकी ह्यारिसलाई बलियो दाबेदार उम्मेद्वारको रूपमा हेरिंदैछ। उनलाई पनि चुनावी कार्यक्रमहरूमा भ्याईनभ्याई छ।
अन्तर्राष्ट्रिय रणनीतिको सारथि
सामान्य अवस्थामा शान्त शैलीमा काम गरे पनि, एकाध आइपर्दा जस्तो तरिकाले अपरेसन र कारबाही गरे पनि अन्तर्यमा अमेरिकाको अन्तर्राष्ट्रिय र सामरिक रणनीति सम्भव भएसम्म कुनै न कुनै माध्यमबाट हस्तक्षेप गर्ने, हडप्ने, नियन्त्रण गर्ने, सैन्यबल स्थापना गर्दै संसारलाई शासन गर्ने विस्तार र साम्राज्यवादको अव्यक्त र दीर्घकालीन अभ्यास नै हो। यो डक्ट्रिनमा लचिलो र फितलो हुने कुनै सम्भावना रहन्न। पिता-पुर्खाले आर्जेको ‘इम्पेयरलिस्ट स्पिरिट’ खासमा चाहे रिपब्लिकन होस् या डेमोक्र्याट्स अझ सशक्त पार्नु र अख्तियारी गरिरहनु दुवैको साझा अव्यक्त धर्म हो।
विदेश रणनीति र देश विकासका मामिलामा चाहिं यहाँ पार्टीहरूको झगडा हुन्न। तत्कालीन घटनाक्रममा कहींकतै छिटपुट स्वरूप र प्रस्तुतिमा फरक देखिनुले समग्र सामरिक रणनीति परिवर्तन गरिएको भन्ने हैन। अमेरिकी आत्मा त्यही हो जो आजसम्म भइरहेको छ। इराक, सिरिया, अफगानिस्तान, लिबियातिरका घटनाक्रमहरू नै बुझ्नलाई काफी छन्।
अब आउने नयाँ राष्ट्रपतिको पनि रणनीति त्यही नै हुनेछ। आम अमेरिकी जनतालाई यो राम्ररी बुझाइएको छ। यो विषयमा कोही पनि खासै आवाज उठाउँदैनन्। आफ्नो देशको विश्व नेतृत्वदायी रणनीतिको मौन स्वीकृति र गर्व गर्छन्। तर पनि अब चाहिं अरू देशसँग निहुँ नखोजिदिए र युद्ध नगरिदिए हुन्थ्यो भन्ने ठान्छन्। अब आउने राष्ट्रपति पनि यो रणनीतिको दह्रो सारथि हुनुपर्छ।
राष्ट्रपतिको शैलीले आतङ्कवादलाई मिल्ने ऊर्जा
११ सेप्टेम्बर, २००१ मा न्युयोर्कमा रहेका जुम्ल्याहा विश्व व्यापारिक टावरहरूमा आक्रमण गरी आतङ्कको भयानक रूप देखाएको अलकायदा र विश्वभरि सक्रिय रहेका अरू आतङ्ककारी सङ्गठनहरू आईएसआईएस, बोको हराम, अल सबाफ लगायत कैयौं समूह विरुद्ध तत्कालीन रिपब्लिकन राष्ट्रपति जर्ज डब्लु बुसले युद्ध घोषणा गरेर सुरु गरेको कारबाही अहिलेसम्म चलिरहेको छ।
त्यसपछि त्यो अभियान सम्हालेका तत्कालीन राष्ट्रपति बाराक ओबामाको दुई कार्यकालमा झन् तीव्रता र सशक्त बनाएर लगियो। तत्कालीन अलकायदा प्रमुख ओसामा बिन लादेन, इराकका राष्ट्रपति सद्दाम हुसेन, लिबियाका शासक मोहम्मद गद्दाफी, आईएसआईएस प्रमुख अबुबाकर अल बग्दादी लगायत अरु दर्जाका कैयौं आतङ्ककारीलाई सखाप पार्दै लगियो। युद्धलाई अवस्था अनुसार सङ्ख्या र आकारमा थपघट गरे पनि डोनाल्ड ट्रम्पले कायमै राखे। उनको पालामा मस्ट वान्टेड लिस्टमा रहेका सुलेमानीलाई मार्न भ्याए।
त्यसपछि जो बाइडेनले ३१ जुलाई, २०२२ मा अलकायदा सम्हालिरहेका प्रमुख जवाहिरीलाई आर एक्स-१२ हेलफायर मिसाइलद्वारा छियाछिया पारी अफगानिस्तानमा सिद्ध्याए। सम्बोधन गर्दै गर्वसाथ ‘मेरो नेतृत्वमा’ भनेर संसारलाई जानकारी दिए। भर्खरै मात्र हमासका शक्तिशाली नेता इस्माली हनियाँलाई इजरायलको माध्यम प्रयोग गरी इरानको एउटा होटलमा मारे। यो क्रम जारी छ र अब आउने नयाँ राष्ट्रपति पनि उत्तिकै शक्तिशाली हुनुपर्छ कि यो आतङ्कवाद विरुद्धको लडाइँ सानो या ठूलो मात्रामा कायम रहोस्। यो युद्धमा मात्रै अमेरिकाले पछिल्लो आँकडा अनुसार अहिलेसम्म ८ हजार अर्ब डलर (८ ट्रिलियन) खर्च गरिसकेको भनिएको छ।
स्मरणीय यो छ कि अमेरिकामा विश्व आतङ्कवादको असर र घरेलु जातीय हिंसा डेमोक्र्याट्स राष्ट्रपतिको कार्यकालमा भन्दा रिपब्लिकन राष्ट्रपतिको कार्यकालमा बढी हुने गरेको विभिन्न सर्वेक्षण र सूचकाङ्कहरूले देखाएका छन्। यसको छर्लङ्ग उदाहरण रिपब्लिकन पार्टीका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा भएको अलकायदा आक्रमण, त्यही पार्टीका डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा मिनियापोलिस राज्यमा श्वेत प्रहरी अफिसर डेरेक सविनले आठ मिनेट घुँडाले घाँटीमा थिचेर मारेको अश्वेत जर्ज फ्लोएडको उदाहरण छँदैछ। त्यसपछि अमेरिकाभरि भएको जातीय हिंसा र अश्वेतहरूको विश्वव्यापी प्रदर्शन र आन्दोलन पनि पर्दा बाहिरै आएका दृश्यहरू हुन् ।
यो तथ्यले सामान्य अमेरिकी जनतामा एक खाले अदृश्य ‘फ्राइट साइको’ रिपब्लिकनको कार्यकालमा राख्ने गर्दछन्। म आफू यहीं बसिरहँदा मलाई पनि यो मनोविज्ञानले छुन्छ। यसको कारण हो रिपब्लिकनको उग्रराष्ट्रवाद र जातीय विभेदको लुकेको मोविज्ञान। अनि उनीहरूबाट बाहिर निस्कने जातीय असमानताका व्यवहारहरूले अमेरिका विरुद्ध विश्वभरि विभिन्न जातीय र उग्रवादी सङ्गठनहरूमा फ्युलिङ हुने इगो, प्रतिशोध र अमेरिका विरुद्धका सम्भावित आक्रमणहरू। त्यसैले अब आउने राष्ट्रपतिबाट यस्ता खाले हिंसात्मक तत्वहरूलाई ‘फ्युलिङ’ हुने शैली हुनुहुन्न भन्ने जनभावना छ।
नयाँ राष्ट्रपतिको विश्वप्रभाव
यस्तो शक्तिशाली, सम्पत्ति, प्रगति र अन्तर्राष्ट्रिय रणनीति बोकेको महाशक्ति राष्ट्रमा नयाँ राष्ट्रपति आउँदा त्यसै पनि विश्वभरि प्रत्यक्ष प्रभाव पर्नेछ। यति ठूलो जीडीपी रहेको देश, नयाँ ह्वाइट हाउस प्रशासनले अख्तियारी गर्ने अर्थनीति, राजनीति, रणनीति र प्रस्तुतिले विश्वमा विशेष गरी अर्थतन्त्र, सुरक्षा, आप्रवास, अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार र पारवहन लगायत क्षेत्रमा सोझो असर पर्नेछ। त्यसैले अन्य देशहरूले पनि अब अमेरिकासँग कसरी कस्तो तालमेल मिलाउनुपर्ने हो भनेर सोच्नु र गृहकार्य गर्नुपर्नेछ।
यही प्रसङ्गमा चाइना, रसिया जस्ता देशहरूले त डोनाल्ड ट्रम्पसँग नै काम गर्न सजिलो हुने बताइसकेका छन्। ट्रम्पसँग एकचोटि अनुभव गरिसकेकाले उनी धनाढ्य पूँजीपतिहरूको हितमा काम गर्छन्। आफ्नो अर्बौंको व्यापार व्यवसाय जोगाउने काम गर्दा अन्यलाई पनि फाइदा हुने, अर्बपतिहरूलाई ‘ट्याक्स कट’ (डेमोक्र्याट्सको भाषामा) गर्छन् र अरू देशलाई पनि व्यापार र पारवहनमा खुकुलो हुने अपेक्षा गर्छन्। ताकि अर्बपतिहरूले चाहिनेभन्दा धेरै पैसा कमाए तर ६५ प्रतिशत मध्मम वर्गीय सामान्य नागरिकहरू भने जीवन गुजाराको लागि सधैं सङ्घर्ष गर्नुपर्ने, उनीहरूलाई शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सुविधा बढाएर जीवन सजिलो पार्नुपर्नेमा डेमोक्र्याटहरूले जोड दिइरहेका छन्। त्यसैले डेमोक्र्याट्स पार्टीबाट आउने नयाँ राष्ट्रपतिसँग कसरी काम गर्ने उनीहरूलाई अप्ठ्यारो छ।
अमेरिकी अर्बपतिहरू (७५६ जना जसले राजनीतिमा पनि ठूलो प्रभाव पार्छन्) को खुल्ला मनसाय बाहिर आउँदैन। तर उनीहरू आफ्नो विश्व व्यापार र सम्पत्तिका लागि ट्याक्समा लचिलो गर्नै ट्रम्पतिर मौन ‘ग्रिन सिग्नल’ दिन्छन्। संसारकै सबैभन्दा धनी एलन मस्कलाई त ट्रम्पले जिते, फेडरल अडिट प्रमुखको जिम्मेवारी दिने भनिसकेका छन्।
को बन्ला त राष्ट्रपति ?
एकातिर ह्वाइट हाउस प्रशासनको अनुभव लिइसकेका डोनाल्ड ट्रम्पले उम्मेदवारी घोषणा गर्नु, उपराष्ट्रपतिमा मनोनीत नयाँ पुस्ताका जेडी भान्सलाई अघि सार्नु, गत जुलाई १३ मा पेन्सलभेनियाको चुनावी कार्यक्रममा गोली हानी उनको हत्या प्रयास हुनुले डेमोक्र्याट्सको सट्टामा एकप्रकारको राम्रै विकल्प र सहानुभूतिजन्य माहोल ट्रम्पको पक्षमा बन्दै जाँदैथियो। उनी आउँदा विशेषगरी सेयर बजारमा उछाल आउँछ भन्ने आवेग र ‘फ्रेन्जी’ सर्वसाधारणमा छ। ‘धनीले धन हेर्छ’ भन्ने बुझाइले काम गर्दै थियो।
पढ्दै गरेका विद्यार्थीलाई तुरुन्त काम गर्ने अनुमति (एच वन बी भिसा) दिने, अश्वेतहरूलाई हामी शहर सफासम्म गर्दिन्छौं, विभेद गर्दैनौंसम्म भनेर ललिपप जस्ता देखिने पपुलिस्ट एजेन्डा अघि सारेर भोट अपिल गर्दैथिए। यी कुराहरूले उनको पक्षमा केही काम गर्दैथियो।
उनका कट्टर अमेरिकी नीति ‘मेक मेरिका ग्रेट अगेन’ मेक्सिको ‘बोर्डर सिल’ अवैधानिक रूपमा अमेरिका बसिरहेकालाई घर पठाउने योजना मन पराउने पनि उत्तिकै छन। उनको राष्ट्रपतीय शैली मन नपराए पनि यी घटनाक्रमले बन्दै गरेको माहोलले उनले आउँदो निर्वाचन जित्न सक्ने अनुमान केही समय अगाडिसम्म हुँदैथियो।
तर, आतङ्ककारी थ्रेट बढ्न सक्ने, उनको रङ्गभेद शैली, कट्टर श्वेत पक्षपोषण, जातीय हुलदङ्गा, राष्ट्रपतीय अभिभावकत्व कम पाउने, सामान्य जनताको जीवनसँग जोडिएका सार्वजनिक आर्थिक राहत-सुविधा कटौती हुनसक्ने, देश भड्खालोमा हाल्छन् भन्ने जस्ता उनीप्रतिको शङ्काले उनलाई चुनाव जित्न ठूलो असर पारिरहेको देखिन्छ। भर्खरै विशाल डेमोक्र्याटको नेशनल कन्भेन्सनमा त पूर्व राष्ट्रपति बाराक ओबामाले ‘अब फेरि ट्रम्पको डरलाग्दो मुभी’ हेर्न नसकिने र ‘उनलाई भोट हाल्न नहुने’ भनेर अपिल गरिसकेका छन्। उनी आउँदा हुनसक्ने यी सम्भावित खतराले उनलाई क्षय गरिरहेको देखिन्छ। पछिल्लो समय त उनी र उपराष्ट्रपति जेडी भान्सले निरन्तर कमला ह्यारिसको विरोध गर्नु, उनको जातसँग जोडेर हेप्ने तरिकाले अभिव्यक्ति दिनुले मानिसहरू उनीप्रति चिढिन थालेका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ। ठूला एजेन्डामा उनले प्रतिपक्षी कमला ह्यारिसलाई बोर्डर, मूल्यवृद्धि, अपराध नियन्त्रण जस्ता मुद्दामा केही नगरी तलब मात्र लिएको भन्ने आरोप लगाउँदै आएका छन्। यसले कट्टर अमेरिकीहरूलाई वाह्वा-ही दिइरहेको छ।
अर्कातिर, जब जुलाई २१ मा वर्तमान डेमोक्र्याट्स राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालका लागि राष्ट्रपतीय उम्मेदवारी त्यागेर उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको लागि अघि सारेदेखि राजनीतिक माहोल केही खैलाबैला हुँदै बाँडिए जस्तो देखिन थालेको छ। पछिल्ला केही सर्वेक्षणहरूले ह्यारिस अगाडि रहन थालेको देखाइरहेको छ। अहिले उनले आर्थिक योजनाहरू सार्वजनिक गरेकी छिन्। अौषधि किन्न ३५ डलर भन्दा बढी तिर्नु नपर्ने, हस्पिटलको बिल जति भए पनि दुई हजार डलर भन्दा धेरै तिर्नु नपर्ने, ग्रोसरी स्टोरहरूले बेच्ने दैनिक उपभोग्य सामानहरूको जथाभावी मूल्यवृद्धिमा फेडरल रोक लगाउने, पहिलो बच्चा जन्मँदा ६ हजार अमेरिकी डलर चाइल्ड क्रेडिट दिने, पहिलो घर किन्नेलाई २५ हजार डलरसम्मको सहयोग गर्ने, महिलालाई आफ्नो शरीर र स्वास्थ्यको आफैं निर्णय गर्न पाउने गरी ‘लिगल अबोर्सन’ कानुन स्थापित गर्ने जस्ता आम जनजीवनसँग सोझो जोडिएका एजेन्डाहरूले अहिले उनीतिर ‘मास इम्प्रेसन’ बढ्दै गएको हो कि जस्तो लाग्छ।
कोरोनाभाइरस नियन्त्रण हुनु, अर्थतन्त्र सम्हालिंदै गएको र मूल्यवृद्धि ३ प्रतिशत भन्दा तल झर्दै गएको फेडरल रिजर्ब प्रमुखले अपडेट गराइरहनु, रोजगारी र कुल गार्हस्थ्य उत्पादन बलियो रहेको सूचाकाङ्कहरूले देखाइरहनु, विश्व आतङ्कवादलाई अति नै कमजोर अवस्थामा पुर्याइसकेको यो पृष्ठभूमिमा पहिलो महिला राष्ट्रपति हुन सुहाउने माहोल बन्दै गएको हो कि भन्ने लख काट्न सकिन्छ। यतिको सजिलो वातावरणमा एकचोटि अमेरिकामा महिला राष्ट्रपतिलाई पनि हेरौं न त कस्तो हुन्छ भन्ने ‘मास इन्टेनसन’ बन्दै गएको हो कि जस्तो लाग्छ।
अमेरिकी इतिहासमा पहिलो उच्च अफिसियल ओहोदा बनाइसकेकी नरम, भद्र, हँसिली स्वभावकी उपराष्ट्रपति कमला ह्यारिसलाई अमेरिकी जनताले जिताए भने पहिलो महिला राष्ट्रपतिको बिल्कुलै नयाँ इतिहास बन्नेछ। चार करोड बीस लाख भन्दा धेरै अश्वेत अमेरिकीहरूको भोटले ह्यारिसमाथि यो इतिहास रच्ने या नरच्ने खास ‘क्याटलिस्ट’को काम गर्नेछ भने अर्कातिर कट्टर श्वेतहरूको भोटले ट्रम्पलाई।
विगतमा हिलारी क्लिन्टनको तुलनामा कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति हुन सुहाउने अनुकूल वातावरण मिलेको छ। पुरानो इतिहास भङ्ग गरेर उनीलाई यो ताज सिउरिदिने अवसर अमेरिकी जनताले खेर फ्याँकेर डोनाल्ड ट्रम्पलाई जिताए भने फेरि पनि यो छर्लङ्ग साबित हुनेछ कि अमेरिकीहरू डेमोक्र्याट्सको तर्फबाट महिलालाई राष्ट्रपति बनाउँदैनन् बरु उग्र राष्ट्रवाद, रङ्गभेद र जातीय हिंसा खेप्न तयार छन्।
चुनाव आउन दुई महिनाभन्दा कम छ। आउँदा दिनमा राजनीति कसरी विकास हुने हो, समग्रमा यही दृश्यको बीचमा निर्वाचन हुनेछ। अमेरिकीहरूले डोनाल्ड ट्रम्पलाई जिताएर पुरानै ‘पालैपालो’ संस्कार देखाउने हुन् कि कमला ह्यारिसलाई जिताएर विश्वलाई नयाँ अमेरिकी इतिहासको ‘पहिलो महिला राष्ट्रपति’ उपहार दिने हुन्, हेर्नुछ। र, २०२५ को जनवरी २० मा ह्वाइट हाउस सम्हाल्दै क्यापिटल हिलबाट विश्वलाई सम्बोधन हुनेछ।
(रियल स्टेट एजेन्ट लेखक अमेरिकाको केन्टकीमा बसोबास गर्छन्।)
प्रतिक्रिया 4