+
+

घलेहरु भन्छन्- पहिचानवादीले हाम्रो पहिचान खोसे

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २ गते ११:३२

२ माघ, काठमाडौं । माघ १ गते नेपालका धेरै जाति समुदायले आ- आफ्ना पर्व मनाए । हिन्दू आर्य, मगर, थारु, कुमाल, छन्त्याल र किरातहरुले एक अर्कालाई शुभकामना साटेर माघे संक्रान्तिलाई आफ्नै तरिकाले मनाए ।

दिनेश घले
दिनेश घले

तर, यही दिन नेपालको सबैभन्दा पुरानो आदिवासी तथा प्राचीन नेपालका शासक समुदाय घलेहरुले लुक लो मनाएको कसैले पनि थाहा पाएनन् ।

माघे सक्रान्तिकै दिनै नेपालका घले समुदायले ल्हो सार मनाउने गर्छन् । तर, उनीहरुको पर्वलाई अहिलेसम्म न त राज्यले स्वीकार गरेको छ, न त आदिवासी जनजाति सम्बन्धी संस्थाहरुले नै पहिचान दिन मानेका छन् ।

‘पहिचानको लडाइ लड्छौं भन्नेहरुले नै हाम्रो पहिचान खोसेका छन्’ लिःल फङ अर्थात घले समाजका अध्यक्ष दिनेश घलेले पत्रकाहरुसँग भने ‘नेपालकै सबैभन्दा पुरानो आदिवासी घलेको पहिचान मेटाउन खोजिएको छ’ ।

पुराना शासक घले हुन्

आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति पत्रकारहरुले घलेको पहिचानै स्वीकार गर्न नमानेपछि लिःल फङले लु लो को पूर्वसन्ध्यामा समितिले पत्रकारहरुबीच तमुवानको ठाउँमा घलेवान हुनुपर्ने माघ अघि सार्‍यो ।

‘तमू भनेको कुनै आदिवासी समूदाय होइन, अहिले तमुवान भनिएको घलेवान हो, हाम्रा पूर्खा शाह राजा विरुद्ध १ सय ८५ वर्ष युद्ध लडे’ लिःल फङका सदस्य गणेश घलेले भने’नेपालमा आन्तरिक र वा बाहृय रुपमा यति लामो लडाइँ अरु कसैले लडेका छैनन्’ ।

अन्तिम घले राजालाई षडयन्त्रपूर्वक मारिएको गोरखाको निमेल खोलाको पानी अझै पनि घलेहरुले पिउँदैनन् । ‘त्यसमा हाम्रा पूर्खाको रगत मिसिएको मान्यता छ’ गोरखा निवासी गणेशले भने ।

घलेको पहिचान यसरी मेटाइयो

नेपालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि बिभिन्न आदिवासी जनजातिहरु सूचिकृत हुने क्रममा घलेहरुलाई छुटाइएको अध्यक्ष दिनेश घलेको आरोप छ ।

‘हामीलाई कतै तामाङकरण गरियो, कतै मगरकरण गरियो, कतै गुरुङकरण गरियो’ लिःल फङका अध्यक्ष घलेले भने’हाम्रो पहिचान मेटाउन पहिचानवादी भनिएकाहरु नै एकजुट भए’ ।

lila-fung

हाल आदिवासी जनजाति भनिएर ५९ जाति सूचिकृत भए पनि ५६ जातिमात्र समेटिएका छन् । मुगाली, लार्के र फि्र जाति सूचिकृत हुन आएका छैनन् भने घलेलाई मान्यता नै दिइएको छैन ।

घलेलाई गुरुङ नै भनेर धेरैले बुझे पनि आफूहरु गुरुङ नभएको घले समाजका पदाधिकारीहरुले पत्रकार सम्मेलनमा बताए । ‘हामी घले अलग्गै जाति हौं, हामी जातीय राज्य माग्दैनौं तर हाम्रो पहिचान स्थापित हुनुपर्छ’ अध्यक्ष घलेले भने ।
नेपालको पछिल्लो जनगणना अनुसार घलेहरुको जनसंख्या करीव ५० हजारमात्र देखाइएको छ । घलेहरुको बसोबास पूर्वको संखुवासभादेखि पश्चिम बाग्लुङसम्म २५ जिल्लामा रहेको छ ।

नेपालको इतिहासमा शाह र मल्ल वंशअघिनै घलेहरुले रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ क्षेत्रमा राज्य गरेको पाइन्छ । पृथ्वीनारायण शाहका अग्रज द्रव्य शाहले लिगलिगे दौडमा षडयन्त्रपूर्वक जितेर घले राज्य खोसिएको इतिहास छ ।

ओम गुरुङको षडयन्त्र ?

घलेहरुको जनसंख्या बढी नै रहे पनि पहिले आफ्नो समूदाय सचेत नहुँदा मगर, गुरुङहरुले आफ्नै समुदायभित्र गाभेको उनीहरुको गुनासो छ ।

‘हामी अब पहिचानवादीहरुसँग हाम्रो पहिचान माग्दैछौं’ दिनेश घलेले भने’हाम्रो होमल्याण्ड तमुवान होइन, घलेवान हो’ ।
तर, आफूहरुले घलेवान राज्य भने नमागेको उनले बताए । ‘हामी एकल जातीय राज्य वा बहुजातीय राज्य भन्ने राजनीतिक लडाइँमा पर्न चाहान्नाैं’ उनले भने ‘हामीलाई हाम्रो पहिचान चाहियो, आदिवासी जनजातिमा हामीलाई सूचिकृत गरिनुपर्छ र हाम्रो पर्वलाई राष्ट्रिय मान्यता दिनुपर्छ’ ।

घलेलाई आदिवासी जनजातिभित्र सूचीकृत गर्न महासंघ र प्रतिष्ठानले नचाहेको र पूर्व महासचिव ओम गुरुङले षडयन्त्र गरेको आरोप समेत उनीहरुले लगाएका छन् ।

 धादिङका धनबहादुर घले र लमजुङका जमिन्द्रमान घले
धादिङका धनबहादुर घले र लमजुङका जमिन्द्रमान घले

तीन सभासदको लबिङ

लिःल फङले पछिल्लो समयमा आफ्नो समुदायका सभासदहरुलाई घलेको पहिचानका लागि लड्न अघि सारेको छ ।
संविधानसभामा तीनजना घले सभासद छन् । एमालेबाट धादिङ १ का धनबहादुर घले, लमजुङ १ का जमिन्द्रमान घले र कांग्रेसबाट सुर्खेतका समानुपातिक सभासद लालवहादुर घलेले घलेको पहिचानका लागि लबिङ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?