२० माघ, तुलसीपुर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले राष्ट्रिय सहमतिको सरकार बनाएर सर्वस्वीकार्य संविधान जारी गर्नुपर्ने धारणा राखेका छन् । अहिलेकै परिस्थितिमा संविधान जारी भए देश द्वन्द्वमा जाने भएकाले शीर्ष नेताहरुले बेलैमा बुद्धि पुर्याउनु पर्ने उनको भनाइ छ ।
रिपोटर्स क्लब दाङ शाखाले आज गरेको पत्रकार सम्मेलनमा पूर्व मन्त्री समेत रहेका खाँणले भने, ‘संविधानसभामा पक्ष विपक्ष हुनु दुभाग्र्यपूर्ण हो, कोही सडकमा र कोही प्रकृयाको पक्षमा भए मुलुकमा द्वन्द्व निम्तन सक्छ, राष्ट्रिय सहमतिको सरकार निर्माण हुनसके सर्वस्वीकार्य संविधान आउँथ्यो ।’
उनले संविधान कुनै धर्मग्रन्थ नभएको र समयसापेक्ष परिवर्तन गर्न सकिने हुँदा दलहरुले लचकता अपनाउनु बुद्धिमानि हुने बताए । उनले सरकारको नेतृत्वकर्ता आफ्नै पार्टी नेपाली कांग्रेस र सत्ता साझेदार एमालेलाई अधिकतम लचकताका एमाओवादी मोर्चासँग वार्ता गर्न उनले आग्रह गरे ।
देश सँधै संविधान विहीन रहन नसक्ने हुँदा वाध्य भएर प्रकृयामा जानु परेको भन्दै उनले प्रकृयासंगै सहमतिको प्रयास जारी राख्नुपर्ने आवश्यक्ता औंल्याए ।
‘अबरोधका वाबजुद प्रकृया अघि बढेको छ, तर सहमतिको लागि अधिकतम लचकताकासाथ वार्ताको थालनि हुनुपर्छ,’ उनले भने, ‘विपक्षी दलहरु पनि लचकताका साथ वार्तामा आउनुपर्छ ।’
प्रतिक्रिया 4