९ जेठ, काठमाडौं । भूकम्पको त्रासले शहरबासीलाई बेचैन बनाइरहेका बेला काठमाडौंको कपनका स्थानीयले भने अब भूमी कम्पन नहोस् भन्दै भूमी पूजा गरेका छन् ।
वैशाख १२ गतेका विनाशकारी भूकम्पको पहिलो झड्कामै ध्वस्त भएको कपनको चर्चित सात तले भवन नजिकै स्थानीयले सामुहिक रुपमा भूमी पूजा गराएका हुन् ।
सात तलेदेखि मिलनचोकसम्म तीनओटा घर ढलेका थिए भने करीव एक दर्जन अरु घरहरु बस्न नहुने गरी क्षतविक्षत भएका छन् ।
कपनको आकाशेधारासम्मका दर्जनौं घर ध्वस्त भएकाले कपनमै भूमिपूजा गरिएको स्थानीय युवा माधव सुवेदीले बताए । भूमिपूजा विहानदेखि दिनभर चलेको थियो ।
१४ जना पण्डितबाट बिधिवत गरिएको भूमिपूजामा सो क्षेत्रका स्थानीय महिलाहरु बढी सहभागी थिए । धर्तिमातालाई खुसी पार्न भूमिपूजा गरिएको उनीहरुले बताए ।
यसअघि नेपाली सेनाका प्रधान सेनापति गौरव शमसेर जबराले पनि स्वस्ति शान्ति गरेका थिए ।
विनाशकारी भूकम्पपछि भूमिपूजाहरु गर्ने परापूर्व कालदेखिकै प्रचलन रहेको संस्कृतिविद सत्यमोहन जोशीले बताए । उनका अनुसार १९९० सालको भूकम्पपछि पनि देशका बिभिन्न ठाउँमा भूमिपूजा गरिएको थियो ।
प्रतिक्रिया 4