Comments Add Comment

सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु

१० साउन, पाल्पा । कुनै समय घरआँगनमा सौखका रुपमा लगाइने सूर्यमुखी फूलको व्यावसायिक रुपमा जिल्लाभरि खेती गर्न लागिएको छ ।

मौरी चरनका लागि उपयोगी ठानिने भएका कारण र यसबाट कृषकले दोहोरो फाइदा लिन सक्ने भएका कारणले कृषकले व्यावसायिक रुपमा खेती गर्न लागेका हुन् । खेतीलाई व्यावसायीकरण गर्नका लागि जिल्ला कृषि विकास कार्यालयद्वारा मौरीपालन क्षेत्रका पकेट क्षेत्रमा निःशुल्क रुपमा बीउ र प्राविधिक सेवा उपलब्ध गराएका कारण कृषकले व्यावसायिक रुपमा खेती गर्न लागेका हुन् ।

जिल्ला कृषि विकास कार्यालयले मौरीको पकेट क्षेत्रमा सूर्यमुखी खेतीको विस्तार गरेपछि कृषकले दोहोरो फाइदा लिन लागेका छन् । सूर्यमुखी खेती गर्न लागेका कारण मौरीको मह उत्पादनमा वृद्धि भएको छ ।

दोहोरो फाइदा लिन सकिने भएको कारण व्यावसायिक रुपमा खेती गरेको रामपुर नगरपालिकाका कृषक प्रेम थापा बताउँछन्  । सूर्यमुखीलाई बाह्रै महिना फुलाउन सकिन्छ ।

‘फूलका कारण मौरीलाई चरन हुने अर्कोतर्फ बियाँबाट तेल आउने भएकाले कृषकको आकर्षण बढेको छ’ थापाले भने ।

जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत थमनबहादुर कार्कीले मौरीपालन व्यवसायलाई सहयोग पुर्याउने उद्देश्यले जिल्लाको रामपुर, बराङ्गदी, मदनपोखरा, खानीगाउँ क्षेत्रका कृषकलाई मौरी घार सहयोग गरिएको जानकारी दिए ।

मौरीको पकेट क्षेत्र बाहेकका रुप्से, झडेवा, अर्गली, गाविसमा समेत कृषकले व्यावसायिक रुपमा सूर्यमुखीको खेती गर्न थालेको उनले बताए । पहिले पहिले त सबैको घरघरमा एकदुईवटा मुढेघार हुन्थ्यो, हिजोआज त लोप हुँदै गए, कृषि विकास कार्यालयले पनि यस व्यवसाय सञ्चालन गर्न अनुदानस्वरुप मौरी घार उपलब्ध गराउन थालेपछि मौरीसँगसँगै घरघरमा व्यावसायिक रुपमा सूर्यमुखी खेती सुरु गरेर दोहोरो रुपमा आम्दानीको स्रोत बढेको रामपुरका मौरीपालक कृषक सूर्यप्रसाद रेग्मीले बताए ।

कृषकले बाली उत्पादनका क्रममा रोग तथा कीराबाट संरक्षण गर्न विषादीको प्रयोग गर्दा मौरीपालन व्यवसाय घरायसी बन्न लागेपछि कृषक महको उत्पादनमा वृद्धि गर्ने, मौरीपालन व्यवसाय पनि संरक्षण हुने भएका कारण व्यावसायिक रुपमा सूूर्यमुखी खेतीतर्फ आकर्षित भएको मदनपोखरा गाविसका मौरीपालक कृषक लेखनाथ अधिकारीले बताए ।

महको उत्पादन मात्र नभई स्वस्थ शुद्ध तेलको उपयोग गर्न सकिने भएको र चरनका लागि मौरी टाढाटाढा जाँदैन, मौरी पनि संरक्षित हुने भएकाले यसको व्यावसायिक रुपमा खेती गरिएको ठिमुरे गाविसका मौरी पालक कृषक मीनबहादुर लम्तरी बताए ।

अगुवा कृषक लम्तरीका अनुसार गाउँमा कृषकले सबैले व्यावसायिक रुपमा सूर्यमुखीको खेती गरेका छन् । खेतबारी जहाँ पानी जाँदैन त्यहाँ यसको खेती गर्न सकिने र बाह्रै महिना फूल फुल्ने भएकाले यसको थप आकर्षण बढेको छ ।

जिल्ला कृषि विकास कार्यालयले मौरी चरनका लागि दीर्घकालीन व्यवस्था मिलाउने उद्देश्यले त्यसैवर्षदेखि सूर्यमुखीसँगसँगै तील खेतीको समेत सुरुवात गराएको छ । युवा लक्ष्यित कार्यक्रमअन्तर्गत मौरीपालन गर्न युवालाई रामपुर, मदनपोखरा क्षेत्रमा १८ किलो, बराङ्गदी, खानीगाउँ गाविसका कृषकलाई १५ किलो, बीउ निःशुल्क वितरण गरिएको कार्यालयले जनाएको छ ।

यसै वर्षदेखि थप खेती विस्तार गर्न र मौरीपालन व्यवसाय गरी यस जिल्लालाई नमुना बनाउने उद्देश्यले सूर्यमुखी खेतीको थप विस्तार गर्ने कार्यालयको प्राथमिकतामा रहेको बाली संरक्षण अधिकृत कार्की बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment