
५ चैत, काठमाडौं । निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको आरोप लागेका कञ्चनपुरका पूर्वप्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई प्रहरीले हिरासतमा लिएको छ ।
उनीसहित ८ प्रहरी अधिकारीविरुद्ध परेको मुद्दाको सुनुवाईका क्रममा बयान नसकिएपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो । उनले मंगलबार बिहान जिल्ला अदालत, कञ्चनपुरमा आत्मसमर्पण गरेका थिए ।
जिल्ला अदालत, कञ्चनपुरका अधिकारीहरुले साँझ सवा ५ बजेसम्म उनको बयान लिएका थिए । तर, नसकिएपछि बुधबार पुनः उनको बयान लिइनेछ ।
घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको प्रहरीको आन्तरिक छानबिन समितिले पनि रिपोर्ट बुझाएपछि सरकारले ८ कात्तिकमा उनीसहित प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गरिसकेको छ । यद्यपि, एसपी विष्टले भने आफूहरुले प्रमाण नष्ट नगरेको दाबी गर्दै बरु अकाट्य प्रमाण भजाइनल स्वाव सुरक्षित साथ प्रयोगशालासम्म पठाइएको दाबी गर्ने गरेका छन् ।
यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जिसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि जिसी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौंबाट खटिएका थिए ।
मुद्दामा आरोपी बनाइएका अन्य ६ जना प्रहरी अधिकारी भने धरौटीमा छुटिसकेका छन् । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको दिएको थियो ।
गत ११ साउनमा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि थुप्रै प्रहरी टोली खटिएपछि हालसम्म अभियुक्त पक्राउ पर्न सकेका छैनन् ।
प्रतिक्रिया 4