Comments Add Comment

सलिनमान : अनायसै हिरो, ‘स्टाइलिस्ट आइकन’

हिरोको खान्की दिनमा ४ छाक, मासु अनिवार्य

चिल्लो-चाप्लो, सुकिला-मुकिला हिरोको युग पटाक्षेप होला ? यसको निर्धक्क जवाफ ‘हुँदैन’ भन्ने आउन सक्छ ।

यो सन्दर्भ खासगरी नेपाली सिनेमासँग जोडिएको छ । पर्दामा दर्शकले ‘हिरोइज्म’ पनि खोज्छ भन्ने कुराको साक्षी राजेश हमालदेखि अनमोल केसीसम्म हुन् । सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की जस्ता खस्रा नायकको बर्चश्व रहँदै पनि ‘चकलेटी’ हिरोहरुले आफ्नो स्पेस लिन सक्छन् ।

ताजा प्रमाण, सलिनमान बानिया । आवरणको हिसाबले हेर्दा उनी यसै ‘हिरो’ लाग्छन् । त्यसमाथि उनको फरक ड्रेसअप अनि हेयरस्टाइल । अक्सर फरक आवरणमा आफूलाई पेश गर्न माहिर उनी ‘स्टाइलिस हिरो’ कै उपमाले चिनिदैछन् ।

सलिनमानसँग संख्याको हिसाबले अत्यन्त न्यून फिल्म छन् । जस्तो उनले सुरुमा ‘ए मेरो हजुर-२’ गरे । यो झरना थापा र श्रीकृष्ण श्रेष्ठ अभिनित ‘ए मेरो हजुर’ को सिक्वेल थियो । शिव रेग्मीले निर्देशन गरेको यो फिल्म औधी लोकप्रिय भयो, बलिउडकै घर्षणमा बनेको भए पनि । त्यही ब्रान्डलाई सर्लक्क टिपेर झरना थापाले ‘ए मेरो हजुर-२’ बनाउने निधो गरिन् ।

यही मोडबाट इन्ट्री भयो, सलिनमानको ।

अनायसै हिरो

गज्जप के भने, सलिनमानमा हिरो हुने आकांक्षा पलाएकै थिएन । उनकै भाषामा ‘हिरो हुन्छु भन्ने पनि कहिल्यै लागेन’ । उनी हिरो भएनन्, उनलाई हिरो बनाइयो । किनभने सिनेमाले एउटा चकलेटी हिरोको आगमन कुरिरहेको थियो ।

विवाहका लागि नव दुलही खोजेजस्तै केही थान फोटोको चेपबाट सलिनमानलाई छनौट गरिएको हो, जतिबेला ‘ए मेरो हजुर-२’ मा हिरोको धुमधाम खोजी भइरहेथ्यो ।

सलिनमानका साथी र झरनाकी छोरी सुहाना साथी रहेछन् । सुहानाले ती साथीलाई सोधिछन्, ‘तिम्रा ह्यान्डसम साथी को को छन् ?’

साथीले एक नम्बरमै सलिनमानको नाम लिएछन् ।

‘त्यसबेला म पपिङ, बि-बोइङ गर्थें, झरना दिदीले देख्नुभएको रहेछ’ सलिनमानले सम्झिए, ‘पछि फोटो हेरेर उहाँले बोलाउनुभयो ।’

सलिनमानलाई त्यसबेलासम्म फिल्म खेल्ने रहर नै थिएन । जब ‘ए मेरो हजुर-२’ बन्ने, त्यसका लागि सामाज्ञी राज्यलक्ष्मी शाहसँग स्त्रिmन शेयर गर्ने कुरा भयो, सलिनमान राजी भए । उनी अडिसन दिन पुगे । तर, कहिल्यै अभिनय गरेका थिएनन् ।

उनको हातमा एउटा चिर्कटो थमाइयो । त्यो एक डायलग थियो । लभ-डायलग । सुहानासँगै बोल्नुपर्ने । सलिनमानले फिल्म हेरिरहेकै थिए । फिल्ममा हिरोले बोलेको देखेकै थिए । उनले बोलिदिए । ओके भयो ।

एकाएक बढ्यो क्रेज

जसै पहिलो फिल्म अर्थात ‘ए मेरो हजुर-२’ सार्वजनिक भयो, उनको निद हराम । आफूप्रति यतिविघ्न क्रेज देखिएला भन्ने उनले सोचेका थिएनन् । यतिविघ्न फ्यानहरु होलान् भन्ने कल्पेका थिएनन् ।

उनलाई लाग्यो, हिरो हुनु गज्जप रहेछ ।

‘सबैले चिन्ने, सबैले मेरो नाम बोलाउने’ सलिनमान फुर्किए, ‘नचिनेका मान्छेहरु पनि हाँस्छन्, फोटो खिँचौ भन्छन्, अंगालो हान्छन् ।’ सामान्य दिनचर्यामा रमाइरहेका उनलाई एकाएक ‘नेम र फेम’ मिल्यो । उनले बल्ल भेउ पाए, ‘मैले सार्वजनिक चिनारी पाइसकेछु ।’

यही बोध भएपछि हो, उनले धेरै कुरामा आत्मनियन्त्रण राखेको । कतै हिँड्नुअघि मजाले ठाँटिनुपर्ने, बोल्नका लागि पनि सोच्नुपर्ने । हिरो भएपछि कहाँ जे मन लाग्यो उही गर्न, बोल्न भयो ? सार्वजनिक जीवन जिउनुको आफ्नै स्वाद छ र आफ्नै दायरा पनि ।

स्टाइल आइकन

‘तपाईं स्टाइलिस्ट देखिनुहुन्छ’ भनिरहँदा सलिनमान मख्ख परे । उनले स्वीकारे, ‘हो मलाई स्टाइलिस्ट हिरोकै रुपमा परिचय बनाउन मन छ ।’

साथसाथै उनले गुनासो पनि गरिहाले, ‘म बारम्बार स्टाइल चेन्ज गरिरहेको हुन्छु, तर मिडियाले केही लेखिदिँदैन ।’

यात्रा फिल्मपछि उनले आफ्नो हेयरस्टाइल बदले, फ्यानहरुकै आग्रहमा । तर, मिडियाको आँखा परेन । ‘मेरो हेयरस्टाइलबारे लेखिदिन्छन् भन्ने लागेको थियो’ उनले मनमा कुरा गाँठो पारेनन्, ‘कसैले बालै दिएनन् ।’

उनी हरेकपटक आफूलाई फरक लुक्समा देखाउने यत्न गर्छन् । अरुभन्दा फरक देखियोस् भन्ने कुराले उनलाई सतर्क राख्छ । घरबाट निस्कनुअघि उनी कुन पहिरन लगाउने, कसरी लगाउने भन्ने कुरामा निकै घोत्लिन्छन् । त्यही कारण उनी आफ्ना लुगाफाटोको बन्दोबस्त आफै गर्छन् । आफै मिलाउँछन् ।

‘तपाईं स्टाइलिस देखिनुहुन्छ’ भनिरहँदा सलिनमान मख्ख परे । उनले स्वीकारे, ‘हो मलाई ‘स्टाइलिस’ हिरोकै रुपमा परिचय बनाउन मन छ ।’

‘म आफ्नो लुगा आफै मिलाएर राख्छु, ताकि खोजेको बेला सजिलै भेटियोस्,’ उनी भन्छन् । सलिनमान फेसनेवल भएकाले उनीसँग लुगाको चाङ हुने नै भयो । लुगाफाटो कति छन् ? उनीसँग पनि हिसाबकिताब छैन । यद्यपि आफूले लगाउने लुगा उनले जतनसाथ राखेका छन् । कहिले, कस्तो अवस्थामा कुन लुगासँग के लगाउने भन्ने ख्याल राख्छन् । शलिनमान अक्सर कालो रंगको पहिरन रुचाउँछन् ।

‘अरुलाई लुगा मिलाउन दिइयो भने जस्तो पनि लगाउनुपर्ने हुन्छ, कहिले दाग भएको हुनसक्छ, कहिले थोरै मैला हुनसक्छ’ सलिनमान भन्छन्, ‘त्यसो भयो भने त बोर हुन्छ नि ।’

लुगाफाटो छान्न र लगाउन उनलाई एक वा दुई घण्टा लाग्छ । लुगा लगाइसकेपछि घरका कोही सदस्यलाई देखाउँछन् र सोध्छन्, ‘कस्तो देखियो ?’

उनलाई थाहा छ, आफूलाई कस्तो देखिएको छ भन्ने कुरा आफूलाई भन्दा अरुलाई थाहा हुन्छ । ‘प्राय ममीलाई देखाउँछु’ सलिनमान भन्छन्, ‘उहाँले ओके भनेपछि ढुक्क हुन्छ ।’

सलिनमानः एन अनटोल्ड स्टोरी

‘प्लिज पर्सनल कुरा नगरौं ल’ कुराकानीको सुरुवातमा सलिनमान पन्छिएका थिए । उनी नितान्त व्यक्तिगत प्रश्न नसोधिदिए हुन्थ्यो भन्ने चाहन्थे ।

तर, सलिनमानलाई नजिकबाट नचिन्नेहरु उनको निजी विषयमा चासो राख्छन् । उनको विषयमा जान्न उत्सुक छन् । के उनी आफूलाई सधै लुकाएर राख्छन् ? के प्रशंसकसँग दुरी बढाएर आफ्नो क्रेज उकास्ने भ्रम छ उनलाई ?

‘केही रहस्य त बाँकी राख्नुपर्‍यो नि,’ सलिनमानले ठट्यौली शैलीमा भने, ‘होइन त ?’

यद्यपि हामीलाई उनको दिनचर्या कोट्याउनु थियो । हामीले उनलाई केही निजी कुराहरु सोध्यौं । उनी खास खुलेनन् । आफ्ना घरायसी कुरा गर्न उनी उति इच्छुक देखिएनन् । काठमाडौंमा जन्मे, हुर्केका उनले के मात्र खुलाए भने, ‘मेरो बाबा विजनेस गर्नुहुन्छ, हामी ‘विजनेस ब्याकग्राउन्ड’बाट आएका हौ ।’

उनी हुनेखाने परिवारका सन्तान । सम्भवत दुःखको नजिक पुगेका छै्रनन् । हामीले सोध्यौं, ‘कुनै दिन गरिब, असहायको भूमिका गर्नुपर्‍यो भने ?’

‘अवश्य गर्छु’ उनले निर्धक्क सुनाए, ‘सबै कुरा आफूले भोगेकै हुनुपर्छ भन्ने छैन, अरुको देखेर पनि अनुभूत गर्न सकिन्छ ।’

उनले दुःख नगरे पनि दुःख देखेका छन् । नझेले पनि बुझेका छन् । त्यसैले कुनै दिन सुकिलामुकिला होइन, धुस्रोफुस्रो ठिटोमा पनि आफूलाई रुपान्तरण गर्न सक्ने आत्मविश्वास छ उनीसँग ।

दिनचर्याः दिनमा ४ छाक, मासु छुट्नै नहुने

सलिनमान बिहान ७-८ बजे उठ्छन् । उठेपछि फ्रेस हुन्छन् । उनलाई वाथरुम गइरहनुपर्छ, सरसफाईमा ख्याल गरिरहनुपर्छ ।

प|mेस भएपछि उनी पानी पिउँछन् । ब्रेकफास्ट खान्छन् । ब्रेकफास्टमा कर्नफ्लेक्स र दुध हुन्छ । भान्सामा गएर ब्रेकफास्ट आफै तयार गर्छन् । ब्रेकफास्ट लिइसकेपछि उनी जिम जान्छन्, पिपुल्स प्लाजाको फिटनेस क्लव । जिममा डेढ घण्टा जति पसिना चुहाएपछि घर र्फकन्छन् ।

बिहान १० बजे खानाको समय हुन्छ । खानामा दाल-भात, तरकारी, अचार । ‘नेपाली खाना नै सबैभन्दा बेस्ट’ सलिनमान भन्छन्, ‘दालभात जस्तो स्वाद अरुमा हुँदैन ।’

हरेक छाकमा उनलाई छुटाउनै नहुने चाहिँ, मासु । उनलाई चिकन वा फिस हुनैपर्छ । बफ वा मटन भए पनि हुन्छ । तर, हरेक छाकमा मासु छुट्न हुँदैन । खाना भरपेट खान्छन् । पेट लाग्छ वा मोटोपन बढ्छ भन्ने डर छैन ।

उनी खानाका सौखिन हुन् । विगतमा ६ छाक खान्थे । अहिले त्यो क्रम ४ छाकमा झरेको छ । यद्यपि केही न केही खाइरहेकै हुन्छन् । फलफूल, ड्राइफ्रुट्स, दुध ।

राती आठ वा नौ बजेपछि उनी दालभात नै खान्छन् । पेटभर खाएपछि उनी ओछ्यानमा जान्छन् । केही क्षण रमाइलो गर्छन् । सामाजिक सञ्जालमा रमाउने, टेलिभिजन हेर्ने, गीत सुन्ने । यसरी ११ बज्छ । त्यसपछि उनी ओछ्यानमा पल्टन्छन् । ओछ्यानमा पस्नासाथ निदाउँछन् ।

यात्रामा अल्पविराम

सुरुमा एउटा फिल्म खेलेपछि नै सलिनमानलाई थकान लाग्यो । थकान यसकारण कि, अभिनय गर्न औधी गाह्रो । अभिनय मात्र होइन, छायाँकनको बेला पहाडको बाटो उकाली-ओराली गर्नुपर्ने ।

काठमाडौंको न्युरोडमा हुर्किएको ठिटो, पहाडको भिरालो छिचोल्नुपरेपछि आत्तिए । सधै टिपटप भएर बस्नुपर्ने ठिटो, हप्तौ धुलोफुस्रो भएर हिँड्नुपरेपछि बिच्किए । सफाचट शौचालय धाइरहनुपर्ने ठिटो, दिसा-पिसाबको लागि जंगल चहार्नुपरेपछि छट्पटिए ।

उनलाई लाग्यो, हिरो हुनु दुःखको कुरा हो । साथसाथै के पनि लाग्यो भने, फिल्म खेल्ने काम रहरले मात्र पुग्दैन । उनले रहर त्यागिदिए ।

काठमाडौंको हुनेखाने रैथानेका छोरो । कलकलाउँदो बैंश । खाने-खेल्ने उमेर । मोज-मस्तीमा रमाउने मन । उनलाई फिल्म खेल्ने कुरा ‘झ्याउ’ लाग्यो । पहिलो फिल्मले ग्ल्यामर-मोह त जगाइदिएको थियो तर, उनलाई मरिहत्ते गरेर लाग्ने जाँगर चलेन । उनले आफ्नो यात्रा यहीँ पूर्णविराम लगाउने सोच पनि बनाए । यद्यपि निर्देशक सम्राट शाक्यले उनलाई थप यात्राका लागि उक्साए ।

यात्रा जारी

साथसाथै उनले गुनासो पनि गरिहाले, ‘म हरेकजसो स्टाइल चेन्ज गरिरहेको हुन्छु, तर मिडियाले केही लेखिदिँदैन ।’

हिरोबाट विश्राम लिएर यसै युवावय काटिरहेका बेला उनको हातमा एउटा फिल्मको ‘स्क्रिप्ट’ थियो । उनलाई ‘कन्सेप्ट’ गज्जप लाग्यो । निर्माण टिम पनि ।

उनले स्वीकारोक्तिको टाउको हल्लाए । फिल्म उनले चाहेजस्तै थियो, ‘यात्राः अ म्युजिकल भ्लग ।’

सम्राट, जसले लामो समय सहायक निर्देशकको रुपमा काम गरे । अल्लारेदेखि कृसम्म । थुप्रै निर्देशक झेले । अशोक शर्मादेखि शम्भु प्रधानसम्म । लामो अनुभवपछि उनले पहिलोपटक यात्रासम्बन्धी फिल्म बनाउने निधो गरे । उनी आफै यात्रा गर्न रुचाउने ।

फिल्मका लागि उनले सलिनमानलाई लिए ।

तर, सलिनमान यात्रामा उस्तो रुची नराख्ने । खासै गाउँ-पहाड नछिचोलेका । पैदल यात्रा नगरेका । उनलाई आफ्नो अनुभवभन्दा फरक भूमिकामा काम गर्न सहज थिएन । तर, उनले अरुको अनुभव र अनुभूतिबाट पैचो लिएर अभिनय गरे ।

यात्रा, उनले भोगेका कथा थिएन । तर, उनले रोजेको कथा थियो । यात्राका क्रममा आउने उल्झन र रोमाञ्चकताको लुकामारीलाई उनले जतिसक्दो स्वभाविक र प्राकृतिक बनाउने यत्न गरे । ‘फिल्मबाट धेरै आशा छ,’ सलिनमानले आफ्नै शैलीमा आँखा झिम्काए, ‘हेरौं, पछि के हुन्छ ।’

रमाइलो त के भने, उनको फिल्म ‘यात्रा’ त्यही फिल्मसँग जुध्दैछ, जसको दोस्रो शृंखलाबाट उनी हिरोको रुपमा उदाएका थिए । अर्थात ‘ए मेरो हजुर-३’ । यो फिल्ममा अनमोल केसीसँग उनको टक्कर पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment