News Summary
Generated by OK AI. Editorially reviewed.- वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले पश्चिम नेपालका साल वनमा डढेलो नभई डिफोलिएटर किराको प्रकोप भएको पुष्टि गरेको छ।
- तीन सदस्यीय विज्ञ टोलीले दाङ, दैलेख र सुर्खेतका सामुदायिक वनमा अध्ययन गरी किराले सालका पात खाएर वन नाङ्गो बनाएको पत्ता लगाएको छ।
- प्रकोप नियन्त्रणका लागि भदौ–असोजमा रुखका हाँगाबिँगा काँटछाँट गर्ने र लाइट ट्र्याप प्रयोग गरी किराको सक्रियता निगरानी गर्ने योजना बनाइएको छ।
१३ माघ, काठमाडौं । पश्चिम नेपालका दाङ, दैलेख र सुर्खेत लगायत साल वनमा डढेलो लागे झैं रुखहरू नाङ्गिने गरी फैलिएको महामारीपछि वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले विशेष वैज्ञानिक अनुसन्धान गरेको छ ।
वसन्त ऋतुमा पालुवा पलाएर हरियाली हुनुपर्ने वन क्षेत्र एकाएक खैरो र कुरूप देखिएपछि सञ्चारमाध्यम तथा स्थानीय सरोकारवालाबाट आएको जानकारीका आधारमा केन्द्रले अनुसन्धान अघि बढाएको थियो ।
वन मन्त्रालय मातहत अनुसन्धान टोलीले स्थलगत अध्ययन गरी यो समस्या डढेलो नभएर ‘डिफोलिएटर’ (पात खाने) किराको प्रकोप भएको निष्कर्ष निकालेको छ ।
नेपालका महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेका सालका वनमा विभिन्न प्रजातिका किरा–फट्यांग्राको प्रकोप एक प्रमुख चुनौतीका रूपमा देखापर्ने गरेको छ ।
वन विज्ञका अनुसार सालका वनमा मुख्यतया पाँच प्रकारका किराले क्षति पुर्याउने गरेका छन् । तीमध्ये अहिले देखिएको प्रकोप विशेषगरी सालका रुख नाङ्गो बनाउने डिफोलिएटर (पात खाने किरा) को हो ।
अनुसन्धान र किरा पहिचान
यस महामारीको वैज्ञानिक कारण पत्ता लगाउन केन्द्रले उपसचिव सुनिता उलकको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. प्रेम बुढा र केन्द्रका अनुसन्धान अधिकृत प्रतीक पाण्डेय सम्मिलित तीन सदस्यीय विज्ञ टोली गठन गरेको थियो ।
टोलीले कर्णाली प्रदेशको वन तथा वातावरण मन्त्रालय, प्रदेश निर्देशनालय र स्थानीय डिभिजन वन कार्यालयसँग समन्वय गरी दैलेखका सामुदायिक वन निरीक्षण गरेको थियो ।
टोलीले दैलेखका किमुगाउँ, चुप्रा, कोटिला र श्रीस्थान, बेलपाटा, साडु, छहरे, जमुने, टोर्या वन लगायत क्षेत्रमा गरेको अध्ययनमा ‘इरेबिडेई’ र ‘लासियोक्याम्पिडेई परिवारका कपालयुक्त लार्भाहरूले सालका पात खाएर वनलाई पूर्णत: नाङ्गो बनाएको पाइयो ।

यस्तै दाङका तुलसीपुर, बबई र दङ्गीशरण क्षेत्रका सामुदायिक वनमा समेत करिब १० प्रतिशत सालका रूख यसै किराको संक्रमणका कारण डढेलो लागेको जस्तो देखिएको उपसचिव उलकले बताइन् ।
‘हामीले हेरेको वन मात्रै करिब १ सय ९३ हेक्टर क्षेत्रफलमा फैलिएको छ, जहाँ सालका रुख पूर्णरूपमा नाङ्गो भएका छन्,’ उपसचिव उलकले भनिन्, ‘अचम्मको कुरा के छ भने सालसँगै रहेका सल्लाका रुखलाई किराले छोएको पनि छैन, त्यसैले यो प्रजाति सालमा मात्रै निर्भर रहने देखिन्छ ।’
कस्तो हो यो किरा ?
विज्ञका अनुसार यो प्रजाति मुख्यतया पतंग (मथ) र पुतलीका लार्भा अर्थात् क्याटरपिलर अवस्थाका हुने गर्दछन् । यिनै लार्भाले सालका पात तीव्र रूपमा खाएर वन क्षेत्रलाई नै कुरूप बनाउने र रुखको वृद्धि विकासमा गम्भीर असर पुर्याउने गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका प्रा. डा. प्रेम बुढाका अनुसार सालका पातमा क्षति पुर्याउने उक्त किरा पुतली प्रजातिको लार्भा अर्थात् झुसिलकिरा हो ।
‘सालको पात खाने किराहरू ३–४ सय प्रजातिका हुन्छन्, तर यसरी प्रकोप नै ल्याउने चाहिँ १–२ वटा प्रजाति मात्र हुन्छन्,’ उनले भने, ‘हामीले हेर्दा त्यहाँ किराले काँचुली फेरेका अवशेष र प्युपाका खोलहरू प्रशस्त देख्यौं ।’
साल वनमा देखिने किरालाई उनीहरूले गर्ने क्षतिका आधारमा वर्गीकरण गरिएको हुन्छ– पात खाने किरा, रस चुस्ने किरा, पातको भित्री भागमा सुरुङ बनाएर नोक्सान पुर्याउने किरा, फूल तथा फल खाने किरा र काठको भित्री भागसम्म खिएर क्षति गर्ने किरा ।
‘कुनै किराले पातको रस चुस्छन्, कुनैले पातभित्र सुरुङ बनाउँछन् त कुनैले गाँठा बनाउँछन्,’ डा. बुढा प्रष्ट पार्छन्, ‘तर, अहिले साल वनमा देखिएको किरा चाहिँ डिफोलिएटर नै हो, जसले पात खाइदिन्छ ।’
चैत–वैशाख (मार्च–अप्रिल) तिर यी किराका वयस्क पुतलीहरू निस्कन्छन् र सालको पातमा अन्डा पार्छन् । पातको तल्लो वा माथिल्लो भागमा पारिएका अन्डाबाट निस्किएका लार्भाले ५–६ पटक काँचुली फेर्दै सालको पात खान थाल्छन् । पछि ती प्युपा बन्छन् र वयस्क भएर उड्छन् ।
खडेरी र जलवायुको प्रभाव
विज्ञका अनुसार यस्ता किराको प्रकोपको प्रकृति र तीव्रता सधैं एकैनास हुँदैन । यो मुख्यतया नेपालको भौगोलिक बनावट, समुद्र सतहदेखिको उचाइ, मौसमी अवस्था र बदलिँदो ऋतुमा निर्भर रहने गर्दछ ।
यसपालिको महामारी फैलिनुमा विज्ञले लामो समयको खडेरी र हिउँदे वर्षा नहुनुलाई प्रमुख सहायक कारक मानेका छन् । विशेषगरी दक्षिण र पश्चिम फर्किएका पहाडी क्षेत्रका जंगलमा यसको असर बढी देखिएको छ ।
‘यसपालि हिउँदे झरी परेन र लामो समयसम्म खडेरी भयो, खडेरी र बढ्दो तापक्रमले किराको प्रजननका लागि अनुकूल वातावरण सिर्जना गर्यो,’ उपसचिव उलकले भनिन्, ‘करिब तीन वर्षअघि पनि यस्तै प्रकोप देखिएकोमा वर्षा भएपछि किराको संख्या स्वत: घटेको स्थानीयको अनुभव छ, जसले पानी र मौसमी अवस्थाको महत्त्वपूर्ण भूमिकालाई संकेत गर्दछ ।’
यस्तो समस्या क्याम्बोडिया जस्ता देशका साल वनमा पनि खडेरीका समयमा देखिने गरेको अध्ययनले देखाएको छ ।
ढिलो सूचना र सांस्कृतिक असर
उपसचिव उलकका अनुसार यो प्रकोप करिब पाँच महिना अगाडि असोजदेखि नै सुरु भएको थियो । स्थलगत अवलोकन क्रममा अध्ययन टोलीले जीवित लार्भा फेला पार्न नसके पनि किराले छाडेका छाला र प्युपाका खोलहरू वन क्षेत्रमा प्रशस्त मात्रामा फेला पारेको छ ।
‘हामी पुग्दा रिपोर्टिङ ‘टु लेट स्टेज’ (निकै ढिलो) मा पुगिसकेको थियो, किराको लाइफ साइकल सकिएर कतिपय लार्भा मरिसकेका थिए भने कतिपय हाइबरनेसनमा गइसकेका थिए,’ उलकले भनिन् ।
असोजतिरै किराले पात खाँदा किटकिट आवाज आउने र किराको जालोले गर्दा जंगलमा हिँड्न समेत नमिल्ने भयावह अवस्था हुँदा पनि समुदायबाट समयमै जानकारी नआएको उनले बताइन् ।
‘स्थानीयले यसलाई सामान्य प्राकृतिक प्रक्रिया ठानेर वा विगतमा खबर गर्दा प्राविधिक सहयोग नपाएको अनुभवका कारण समयमै रिपोर्टिङ नगर्दा अहिले समस्या जटिल बनेको देखियो,’ उनले थपिन्, ‘सुरुवातमै सूचना प्राप्त भएको भए यसको प्रजाति यकिन गर्न र नियन्त्रणका उपाय अपनाउन सजिलो हुने थियो ।’
किराको प्रकोपका कारण सालका रुखमा पातै नरहेपछि स्थानीय समुदायको जनजीवन र संस्कृतिमा समेत ठूलो धक्का पुगेको छ । उपभोक्तालाई सांस्कृतिक र धार्मिक रूपमा ठूलो असर परेको बताउँदै उलकले भनिन्, ‘स्थानीयले दसैं, तिहार र विवाहजस्ता शुभकार्यमा एउटा पनि सालको पात पाउन सकेनन्, दुनाटपरी बनाउन एउटा पात पनि नभएको स्थानीयको गुनासो छ ।’
नियन्त्रणका उपाय र भावी योजना
अध्ययन क्रममा प्रकृतिले आफैं पनि नियन्त्रणको प्रयास गरेको भेटिएको छ । उपसचिव उलकका अनुसार ती किराका प्युपालाई खाने अन्य प्राकृतिक शत्रु किरा पनि फेला परेका छन्, जसलाई ‘बायोलोजिकल कन्ट्रोल’ का रूपमा हेरिएको छ । तर, मौसम प्रतिकूल हुँदा वा किराको संख्या अत्यधिक बढ्दा प्राकृतिक नियन्त्रण प्रणालीले मात्र काम गर्न नसक्ने विज्ञको भनाइ छ ।
प्रकोप नियन्त्रण र भविष्यमा हुने क्षति न्यूनीकरणका लागि विज्ञ टोलीले केही महत्त्वपूर्ण प्राविधिक सिफारिस गरेको छ ।
सालको वनमा भदौ–असोजतिरै रुखका हाँगाबिँगा काँटछाँट गर्ने र वन सफा गरे किरा संख्या घटाउन सकिने छ । माटोमा लुकेर बसेका किराका अवशेष नष्ट गर्न निश्चित क्षेत्रमा नियन्त्रण गरी आगो लगाएर अनुसन्धान गर्ने विधिलाई पनि विकल्पका रूपमा हेरिएको छ ।

आगामी फागुन–चैततिर तापक्रम बढ्न थालेपछि किराहरू फेरि सक्रिय हुन सक्ने भएकाले डिभिजन वन कार्यालयहरूलाई लाइट ट्र्याप प्रयोग गर्न र समुदायलाई पूर्वसूचना दिन आग्रह गरिएको छ ।
‘हामीले स्थानीय डिभिजन वन कार्यालय र मन्त्रालयका अधिकारीहरूलाई सँगै लगेर लाइट ट्र्याप गर्ने र नियन्त्रण गर्ने विधि सिकाएर आएका छौं,’ उपसचिव उलकले भनिन् ।
आगामी दिनमा वन क्षेत्रमा यस्तो लक्षण देखिने बित्तिकै उपभोक्ता समूहले नजिकको वन कार्यालयमा प्रारम्भिक चरणमै जानकारी गराउनुपर्ने छ ।
अहिले वनमा किराको सक्रिय चरण सकिइसके पनि अर्को वर्ष मौसम अनुकूल भए वा नियन्त्रणका उपाय नअपनाएमा पुन: प्रकोप दोहोरिन सक्ने विज्ञले औँल्याएका छन् ।
उपसचिव उलकका अनुसार डिभिजन वन कार्यालयलाई फेरि फागुनतिर तापक्रम बढेपछि किरा देखिन सक्ने भएकाले त्यतिबेला नमुना संकलन गरेर पठाउन भनिएको छ ।
यदि जीवित लार्भा भेटिए त्यसलाई ल्याबमा ल्याएर हुर्काइ वयस्क भएपछि मात्रै कुन प्रजातिको ‘मथ’ (पुतली) हो भनेर यकिन गर्न सकिने उनी बताउँछिन् ।
टोलीले आगामी फागुन–चैतमा फेरि स्थलगत भ्रमण गरी किराको प्रजाति यकिन गरेर दीर्घकालीन समाधान खोज्ने योजना बनाएको छ ।
प्रतिक्रिया 4