Comments Add Comment

‘वर्किङ भिसामा हजुर, वर्किङ भिसामा ! 

हरिवंश दाइ, 'भिजिट भिसामा' गीत सच्याउने कि ?

हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको सङ्गीत, निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको ‘भिजिट भिसामा हजुर….’ बोलको गीतका दर्शकहरुको सङ्ख्या युट्युबमा १ करोड नाघिसकेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतमा हरिवंश आचार्य, निरुता सिं, पुष्प खड्का, वर्षा राउत, आँचल शर्मा, राजाराम पौडेललगायतको नृत्य छ ।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पुष्पल खड्का, निरुता सिंह, आँचल शर्मा, वर्षा राउत, विल्समविक्रम राई, राजाराम पौडेल, एमल श्रेष्ठ, शिवहरि पौडेल, किरण केसीलगायतका मल्टिस्टारको मुख्य भूमिका रहेको भनिएको चलचित्र ‘दाल भात तरकारी’ महसञ्चारको ब्यानरमा निर्माण भएर आगामी ०७६ साल वैशाख १३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदै छ भनिएको छ ।

दुई गीत आउन बाँकी रहेको भनिएको चलचित्र सार्वजनिकरुपमा प्रदर्शनमा आउनुपूर्व नै यसका गीतहरू सार्वजनिक गरेर चलचित्रप्रति दर्शकको आकर्षण जगाउन खोजिएको छ ।

छोरा सुदन केसीको निर्देशन रहेको फिल्मका प्रस्तुतकर्ता बाबु किरण केसी हुन् भनिएको छ, फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने सङ्घर्षको कथा भन्छ । फिल्मको कथा, पटकथा र संवाद हरिवंश आचार्यले लेखका हुन् ।

यहाँभन्दा अगाडि जुन कुरो लेख्न लागिएको छ, त्यसले दर्शक श्रोताको मनोरञ्जनपूर्ण भावनामा ठेस पुग्न सक्छ । यसका लागि पहिले नै करबद्ध क्षमा निवेदन गर्दै लेख्नैपर्ने तथ्यहरू लेख्ने अनुमति चाहन्छु । यहाँ यो पनि निवेदन गर्न चाहन्छु कि यस आलेखको उद्देश्य कसैलाई घाटा पुर्‍याउने वा नाफा पुर्‍याउने नभएर विशुद्ध रूपमा बिराउन लागेको बाटो देखाइदिने मात्र हो ।

सर्वप्रथमतः ‘भिजिट भिसामा’ गीतले स्वदेशीभन्दा वैदेशिक रोजगारीको आकर्षणलाई देखाएको छ । यसबाट वैदेशिक रोजगारीलाई प्रत्यक्षरूपमा प्रोत्साहन गरिएको बुझ्न गाह्रो पर्दैन । ढिलो भए पनि वैदेशिक रोजगारीमा गएपछिको ‘नोस्टाल्जिया’ सम्म पुगेर गीत टुङ्गिएको छ ।

यहाँनिर सम्झिनुपर्ने कुरो के छ भने भिजिट भिसामा गीतमा वैदेशिक रोजगारीमा जाने जुन कुरो गरिएको छ, यो स्पष्टतः गैरकानुनी छ । गीतमा के छ पहिले त्यो हेरौं-

भिजिट भिसामा हजुर भिजिट भिसामा
भुइँ छाडेर उड्ने हजुर पश्चिम दिशामा ।

यता सूर्यनारायण डुबे उता लागिदिन्छ घाम
यता मान्छे निदरीमा उता भइदिन्छ काम
यता जति हाड घोडे ठिक्क हुन्छ लाउन खान
उता काम गर्‍यो भने पाइन्छ है राम्रो दाम ।

के गर्नु र यस्तै रै’छ प्रभु दैवको लीला
उहिले नै उड्नुपर्थ्यो धेरै भइसक्यो ढिला
नगएको नदेखेको यो बिरानो नौलो ठाउँ
आँखाबाट झरी पर्छ सम्झी आफ्नो गाउँ ।

अब यहाँ सर्वप्रथमतः पर्यटकीय भिसा (भिजिट भिसा) मा विदेश जान पाइने अध्यागमन सम्बन्धी कानुनी प्रावधानहरुका विषयमा जानकारी लिऔँ :

१. भिजिट भिसासम्बन्धी प्रावधान

अध्यागमन विभागद्वारा ०७५ कात्तिकमा जारी गरिएको अध्यागमन अधिकृतहरुको लागि आवश्यक महत्त्वपूर्ण विषयहरु समेटिएको हाते पुस्तिकामा राहदानीको वैधता, दुईतर्फी हवाई टिकट, यात्रा प्रयोजन खुलेको भिसा, तोकिएबमोजिमको विदेशी मुद्रा सटहीको प्रमाण वा विदेशी मुद्रा वा विदेशमा रहँदाको खर्च बेहोर्ने व्यक्ति वा संस्थाको सबै बेहोरा खुलेको पत्र, बोर्डिङ पास, प्रस्थान अनुमति रोकिएको (Blacklist/Offload) छ वा छैन आदि जाँचेर मात्र पर्यटकीय भिसा (भिजिट) मा प्रस्थान अनुमति दिन भनिएको छ ।

विशेषतः खाडी मुलुकहरु : साउदी अरब, कुवेत, कतार, संयुक्त अरब इमिरेट, बहराइन तथा मलेसियाका लागि पर्यटकीय भिसा (भिजिट) मा प्रस्थान अनुमति दिँदा विदेशमा रहेको आफन्त वा साथमा लान लागेको परिवारजनसँगको नाता प्रमाणित कागजात वा गन्तव्य मुलुकमा रहेका आफन्तले स्पोन्सर गरी पठाएको कागजात र निज विदेशमा रहेको प्रमाण खुल्ने कागज वा ट्राभल एजेन्सीको टुर प्याकेजमा लगिएको भनी लेखिएको पत्र वा स्वघोषणाको लिखत (अनुसूचीमा संलग्न छ) वा पटक पटक पर्यटक भिसामा ती मुलुकको भ्रमण गरिसकेको व्यक्ति हुनुपर्ने सहायक आधारहरू पनि उल्लेख गरिएको छ ।

यतिले मात्र नपुगी नोट : खाडी मुलुक र मलेसियामा पर्यटक भिसामा महिलाहरुलाई प्रस्थान अनुमति दिँदा माथि उल्लेखित सहायक आधारहरूलाई समेत मुख्य आधारको रुपमा लिनुपर्ने छ भनिएको छ ।

भिजिट भिसामा भन्नुको साटो ‘वर्किङ भिसामा हजुर वर्किङ भिसामा…’ भनेको भए कानुनको पालना पनि हुने हुन्छ र जनमानसमा सही सूचनासमेत सम्प्रेषण हुन्छ । यही अनुसार गीतका शब्दलाई सच्याउन लोकप्रिय एवम् प्रतिष्ठित हास्यकलाकार हरिवंश आचार्यमा विनम्र अनुरोध गर्दछु

२. वैदेशिक रोजगारीमा जानेसम्बन्धी प्रावधान

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुलाई राहदानीको वैधता, अन्तिम गन्तव्यसम्मको हवाई टिकट, सम्बन्धित मुलुकको भिसा, नेपाल सरकारबाट श्रम स्वीकृति, बोर्डिङ पास र प्रस्थान अनुमति रोकिएको (Blacklist/Offload) छ वा छैन भन्ने मुख्य आधारहरूमा प्रस्थान अनुमति दिइन्छ ।

अध्यागमन विभागको च.नं. १७५ मिति ०७५/५/१२ को पत्रमा प्रस्थान अनुमति दिने सम्बन्धमा यस्तो लेखिएको छ-

‘अध्यागमन ऐन, नियम र कार्यविधिअनुसार स्वदेशी एवम् विदेशी नागरिकहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित एवम् नियन्त्रण गर्ने अध्यागमनको उद्देश्यअनुरूप आफ्ना कामकारबाहीहरु अगाडि बढाउनुहुन साथै व्यक्तिगत एवम् संस्थागत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने कामदारहरूको हकमा देहायबमोजिम गर्नुहुन भनी WorkingVisa/Employment Visa वा सो सरहका अन्य कागजातहरु जस्तै Shipman Book, Work Permit, OK to Board जस्ता कागजात र वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृतिको स्टिकर हेरी प्रस्थान अनुमति दिने ।’

०७५/०९/२४ मा विभागबाट जारी भएको सूचनामा भनिएको छ-

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट आवश्यक कागजातहरु प्रस्तुत गर्न नसकेको वा भ्रमण शंकास्पद भएको कारणले प्रस्थान अनुमति नदिइएका व्यक्तिहरुको सम्बन्धमा निजहरुलाई साथै लिई यस विभागमा कतिपय ट्राभल एजेन्सी, एयरलाइन्स, टुर अपरेटर एवम् म्यानपावर व्यवसायी वा प्रतिनिधिहरु आउने गरेकोमा आजका मितिदेखि ट्राभल एजेन्सी, एयरलाइन्स, टुर अपरेटर एवम् म्यानपावर व्यवसायी स्वयम् वा प्रतिनिधिहरुसँग भिजिट भिसाको सम्बन्धमा भेटघाट नहुने व्यहोरा सम्बद्ध सबैको लागि सूचित गरिन्छ । तर सम्बद्ध व्यक्ति स्वयम् आएर थप बुझ्न सक्ने व्यवस्था मिलाइएको व्यहोरासमेत सूचित गरिएको छ ।’

आगमन र प्रस्थानसम्बन्धी जानकारी

अध्यागमनबाट नेपाली नागरिकलाई प्रस्थान अनुमति नदिइनुका कारणहरुमा स्पष्टः लेखिएको छ-

‘राहदानी वा भिसा जाली भएमा, गन्तव्य मुलुकको भिसा सक्कल नभएमा वा अनलाइन भेरिफाइ नभएमा, पेस गरिएका अन्य ट्राभल डकुमेन्ट जाली वा झुटो भएमा, भ्रमणको उद्देश्यविपरीत श्रम गर्ने उद्देश्यले विदेश जान खोजेको पाइएमा, जाने मुलुकको सहर वा ठाउँको बारेमा यकिन नभएमा, भिसा पाएको मुलुकमा नभई अन्य मुलुकमा प्रवेश गर्न चाहेको बुझिएमा, पर्यटक भिसामा जाने तर र्फकने टिकट नभएमा र मानव तस्करी तथा बेचबिखनको जोखिममा पर्ने देखिएमा ।’

माथिका कानुनी प्रावधानहरुबाट के स्पष्ट हुन्छ भने भिजिट भिसामा केवल केही समयका लागि भ्रमण गर्न स्वदेश छाडी विदेश जान सकिन्छ । भिजिट भिसामा वैदेशिक रोजगारीमा जान पाइँदैन । यसका लागि कि त वर्किङ भिसा कि त रोजगार भिसा कि त सो सरहका Shipman Book, Work Permit, OK to Board हुनुपर्छ ।

तर गीतले स्पष्टतः भिजिट भिसामा गएर वैदेशिक रोजगारीमा संलग्न हुने कुरा गरेको छ । यसर्थ भिजिट भिसामा विदेश गएर वैदेशिक रोजागरबाट पैसा कमाउने कुरो गैरकानुनी छ ।

भिजिट भिसामा भन्नुको साटो ‘वर्किङ भिसामा हजुर वर्किङ भिसामा…’ भनेको भए कानुनको पालना पनि हुने हुन्छ र जनमानसमा सही सूचनासमेत सम्प्रेषण हुन्छ । यही अनुसार गीतका शब्दलाई सच्याउन लोकप्रिय एवम् प्रतिष्ठित हास्यकलाकार हरिवंश आचार्यमा विनम्र अनुरोध गर्दछु ।

उहाँले यसलाई सहजतापूर्वक लिइदिनुहोला र अन्यथा अर्थ नलगाउनुहोला भन्ने आशा एवम् भरोसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment