+
+
Shares

आईपीएलको फाइनल खेल्ने सन्दीपको सपना

'नेपाली क्रिकेट नसोचेको ठाउँमा पुर्‍याउँछु'

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ५ गते १८:३३

५ चैत, काठमाडौं । गत वर्ष इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्समा आवद्ध भएका लेग स्पिनर सन्दीप लामिछाने लामो समय बेञ्चमा बसे । टिम टिम अघिल्लो चरणमा पुग्ने सम्भावना टरेपछि अन्तिम तीन खेलमा उनलाई खेलाइयो ।

सन्दीपले आफ्नो प्रभाव छाडे । सन्दीप आईपीएल खेल्न बुधबार राति भारत जाँदैछन् । तर, यो पटक उनको अवस्था फेरिएको छ । आईपीएल डेब्यूपछि उनले एकपछि अर्को फ्रेन्चाइज लिग मात्र खेलेनन्, आफ्नो प्रभाव पनि देखाएका छन् ।

गएको वर्ष आईपीएल खेलेपछि उनले क्यानडामा भएको ग्लोबल टी-२०, क्यारेबियन पि्रमियर लिग, अफगानिस्तान पि्रमियर लिग, युएई टी-१० क्रिकेट लिग, बिग ब्यास लिग र बंगलादेश प्रिमियर लिग साथै पाकिस्तान सुपर लिग खेले ।

एक अर्थमा उनी नेपालकै टी-२० आइकन बनिसकेका छन् । एक वर्षमा आफूले देखाएको खेलले दिल्ली टिममा पनि जिम्मेवारी थपिएको सन्दीपको बुझाइ छ ।

बुधबार सवा ८ बजे दिल्ली जाने तयारीमा रहेका उनी यसवर्ष आईपीएलमा राम्रो खेल देखाउनेमा विश्वस्त देखिए । ‘गएको वर्ष आईपीएलमा खेल्ने बेलादेखि धेरै नै उत्साहित थिएँ । त्यो बेला अन्तिममा पाएको तीन खेलमा आफूलाई प्रमाणित गर्न सकेँ’ सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीप भन्छन्, ‘हरेक पटक मनदेखि उत्साहित हुन्छु । फेरि पनि मैले आफूलाई प्रमाणित गर्न पाएँ भने सुनमा सुगन्ध नै हुन्छ ।’

बिग ब्यास लिगमा मेलबर्न स्टार्सलाई फाइनल पुर्‍याएका सन्दीपले यसपटक आईपीएलमा आफ्नो दिल्ली क्यापिटल्सलाई पनि फाइनलसम्म पुर्‍याउने आश रहेको बताउँछन् ।

अन्तर्राष्ट्रिय उपस्थिति बढिरहेकाले धेरैको नजर आफूमा रहने हुँदा पनि राम्रो गर्न चुनौती थपिएको उनी बताउँछन् । ‘अहिले त मेरो लागि जिम्मेवारी अझै थपिएको छ । दिल्लीबाट नयाँ सिजन सुरु गर्दा नयाँ नै होला जस्तो लाग्छ । गएको वर्षको तुलनामा यसपटक टिम पनि राम्रो छ’ उनी भन्छन्, ‘खेलाडीहरु सबै ठाउँमा फिट हुने नै छन् । अभ्यासहरु हेर्दा पनि राम्रो होला भन्ने आश गर्ने ठाउँ धेरै छ ।’

आफूले पाएका अवसरमा राम्रो गर्दै जाँदा नेपाली टिमका लागि पनि फाइदा हुने सन्दीप बताउँछन् ।

लगातार अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त हुँदा केही थकान महसुस हुने उनले सुनाए । ‘लगातार खेलिरहँदा अप्ठ्यारो त होइन तर थकान भने महसुस हुने रहेछ’ उनले भने ।

सन्दीपले के भने ? उनको भनाइ उनकै शब्दमा …

गएको वर्ष आईपीएल खेल्ने बेलादेखि नै धेरै नै उत्साहित थिएँ । त्यो बेला अन्तिममा पाएको तीन खेलमा आफूलाई प्रमाणित गर्न सकेको थिएँ । हरेक पटक जुनसुकै खेलको लागि पनि मनदेखि उत्साहित हुन्छु । अहिले त मेरो लागि जिम्मेवारी अझै थपिएको छ । फेरि पनि मैले आफूलाई प्रमाणित गर्न पाएँ भने सुनमा सुगन्ध नै हुन्छ ।

म खेल्न गएका सबै फ्रेन्चाइजहरुमा राम्रो नै गर्न सकेँ जस्तो । नेपालको नाम लिएर गएका सबै ठाउँमा आफूले सक्दो मेहनत गरेको हुन्छु । जित र हार त आफ्नै ठाउँमा छ तर मैले पाएको अवसरलाई खेर जान दिएको छैन । चाहे त्यो नेपालको टिमबाट होस् या बाहिर कुनै टिमबाट सधैँ राम्रो गर्ने नै सोचेको हुन्छु । आश छ यसपटक दिल्लीमा मेरो खेल अझै राम्रो हुनेछ ।

प्रेसर त छैन । यति लामो क्रिकेट खेलिसकेका छौँ । धेरै वटा प्रतियोगितामा खेलेको भएर धेरै जनाले खेललाई नियालिरहेका हुन्छन्, त्यसले एउटा अवसर पनि हो । ब्याट्सम्यानको विरुद्ध आफूले कसरी फरक फरक ढंगले बल फाल्न सक्छु भनेर हेरिरहेको हुन्छु ।

दिल्लीबाट नयाँ सिजन सुरु गर्दा नयाँ नै होला जस्तो लाग्छ । गएको वर्षको तुलनामा यसपटक टिम पनि राम्रो नै छ । खेलाडीहरु सबै ठाउँमा फिट हुने नै छन् । अभ्यासहरु हेर्दा पनि राम्रो होला भन्ने आश गर्ने ठाउँ धेरै छ ।

मेरो व्यक्तिगत धारणा पनि टिमको जितमा नै केन्दि्रत हुन्छ । टिमलाई फाइनल खेल्ने अवस्थासम्म लैजान सकेँ भने मलाई खुशी लाग्ने छ । हामी सबैले मेहनत त पूरा नै लगाएका हुन्छौँ तर कतिपय समयमा भाग्यले साथ नदिँदा पनि हार्न पुगिन्छ । जे होस्, आफ्नो खेल पनि राम्रो हुनै पर्छ ।

मैले केही राम्रो गर्न सकेँ भने देशकै लागि राम्रो हुने छ । हाम्रो क्रिकेटलाई त्यो ठाउँमा लैजान छ जहाँ कसैले सोचेकै नहोस् । मैले व्यक्तिगत रुपमा पनि अझ धेरै राम्रो गर्नुपर्ने छ । हाम्रो स्तर पनि पहिले भन्दा धेरै नै माथि पुगेको छ ।

विस्तारै ब्याटिङमा पनि ठीकै भइरहेको छ । समय पाएको बेला ब्याटिङमा पनि नेटमा अभ्यास गरिरहेको हुन्छु । अरु खेलाडीले खेलेको हेरेर पनि सिकिने रहेछ । जसरी होस् टिमको लागि केही योगदान गर्न सकुँ भन्ने सोचिरहेको हुन्छु ।

लगातार प्रतियोगिताहरु खेलिरहँदा अप्ठ्यारो त होइन थकित भने हुने रहेछ । तर अब मानसिक रुपमा तयार नै छु । आफूलाई सकारात्मक राखेको छु । गएको वर्ष आईपीएलको ११ औँ संस्करणपछि क्रिकेटमा नै व्यस्त छु । अब आईपीएलपछि पाएको विश्रामको समयमा भने केही नगरी आराम गर्ने मन छ ।

पीएसएलमा कराँचीमा खेल्ने बेलामा त म अलि अस्वस्थ नै थिएँ । तर जसरी हुन्छ टिमको लागि केही गर्नुपर्छ भनेर खेलिरहेँ । ब्याट्सम्यानले आफ्नो बलिङ बुझ्दै गएपछि ‘भेरिएसन’ ल्याउन अझै तयारी गर्नुपर्छ । नयाँ खेलाडीले खेल्दा त अलि अप्ठ्यारो नै महसुस गर्छन् ।

जुनसुकै समय पनि म मैदानमा नै हुनुपर्छ भन्ने छैन । मैले खेल्न पाउँछु कि पाउँदिन भनेर सोचेकै हुँदिन । बेञ्चमा बस्नुपरोस् या पानी बोकेर बस्नु परोस् टिमले राम्रो गरोस् भन्ने ध्यान हुन्छ । पाएको अवसरमा राम्रो गरेर देखाउन सक्यो भने अरुको नजरमा त परि नै हालिन्छ । सबै खेलाडी टिमलाई जिताउनकै लागि नै खेल्छन् त्यसैले हामी सबैको एउटै धारणा टिमले जितोस् भन्ने नै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?