+
+
Shares

एनआरएनए यूरोप क्षेत्रीय संयोजक पदमा सोम सापकोटाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ९ गते ११:२४

som sapkota-denmarkयूरोप (कोपनहेगन) । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रीय संयोजक पदमा डेनमार्कबाट सोम सापकोटले उम्मेदवारी घोषणा गरेका छन् ।

हाल युरोप उप-संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका सापकोटाले संयोजकका उम्मेदवारी घोषणा गरेका हुन् । कोपनहेगन बस्ने सापकोटाले विगत दुई वर्षमा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदमा राम्रो काम गरेर चर्चा कमाएका छन् ।

प्रवासमा रहेका नेपालीको छाता संगठन गैरआवासीय नेपाली संघको अभियानको शुरुवात देखिनै सापकोटा सक्रिय छन् । युरोप क्षेत्र अन्तर्गतका २७ राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महाधिवेशन सम्पन्न गराउन र अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीलाई प्रथामिकता दिएका सापकोटाले ढिलो गरी उम्मेदवारी घोषणा गरेका छन् । उनले यूरोपका विभिन्न देशबाट उम्मेदवारी दिनका लागि सकारात्मक सुझाव आएपछि अगाडि सरेको बताएका छन् ।

उम्मेदवारी घोषणा गर्दै सापकोटाले गैरआवासीय नेपाली संघ एनआरएनएले अवलम्बन गरेका नीति, नियम र योजनालाई निरन्तरता दिदैं विगतका अनुभवको आधारमा लक्ष्य प्राप्तिका लागि भरपुर प्रयत्न गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

‘यूरोप क्षेत्रका २७ वटा राष्टिय समन्वय परिषद्, केन्द्र, यूरोपका नेपाली राजदूतावास र नेपाल सरकार लगायत सरोकारवाला निकायबीच समन्वय गरेर नेपाल र गैरआवासीय नेपालीको हितमा काम गर्नेछु ।’

यूरोपमा वैदेशिक रोजगारका लागि सरकारसंग समन्वय गर्ने, सामुहिक लगानीको वातावरण तयार गर्न प्रयास गर्ने, नेपालको सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको प्रवर्द्धन गर्ने र नेपालको पुननिर्माणका लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने सापकोटाले बताए ।

एनआरएनएको स्थापनादेखि यूरोपमा क्रियाशील सोम सापकोटा विगतमा राष्ट्रिय समन्वय परिषद्, आईसीसी, यूरोप क्षेत्र उपसंयोजकमा क्रियाशील रहेका बेला बटुलेको अनुभवका आधारमा काम गर्ने बताउँछन् । उनले विगतमा जस्तै यूरोप र केन्द्रबीचको समन्वय, नेपाल सरकार र यूरोपका नेपालीबीचको समन्वय तथा यूरोपमा रहेका नेपालीबीच घनिष्ठ सम्बन्ध कायम गर्ने विषयलाई समेत प्राथमिकतामा राखेका छन् ।

सापकोटा गैरआवासीय नेपाली संघ राष्टिय समन्वय परिषद् पोर्चुगलको सदस्य भएर स्थापना कालमा गैर आवासीय नेपाली संघको अभियानमा सामेल भएका हुन् । पोर्चुगलबाट डेनमार्क बसाई सरेका सापकोटा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् डेनमार्कको संस्थापक अध्यक्ष समेत हुन् । अक्टोबर १४ देखि १७ तारेखसम्म काठमाडौंमा हुने संघको सातौं अधिवेशनबाट उनी यूरोप संयोजक बन्ने तयारीमा लागेका छन ।

यूरोपमा संगठनमा रहेर नेपालीका लागि काम गर्ने मात्रै होईन, उनले व्यक्ति पहलमा पनि समाजका लागि काम गर्दै आएका छन् । उनकै पहल र सक्रियतामा बाग्लुङ्गको काँडेबासमा झण्डै २४ लाख र चितवनको लंकुमा झण्डै १९ लाख रुपैयाँ बराबरको सहयोगमा ई-लाईब्रेरी स्थापना भएको छ ।

सापकोटा अनाथ बालबालिकालाई सहयोग, अपांगलाई सेतो छडी वितरण, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग लगायतका दर्जनौं सामाजिक काममा क्रियाशील छन् । बाँके र बर्दियाका बाढीपीडितका लागि उनले एनआरएनका तर्फबाट सहयोग रकम जम्मा पारेर त्यस क्षेत्रका बाढीपीडितका लागि खाद्यान्न तथा विद्यालयका भवन निर्माणमा पनि सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?